मलेसियामा अाजदेखि लेभि नकाट्ने
काठमाडौँ, १७ पुस – मलेसियामा कार्यरत विदेशी कामदारले आगामी वर्ष सन् २०१७ देखि अर्थात आज (जनवरी १) देखि लागू हुने गरी यसअघि तिर्दै आएको लेबी रकम तिर्नु नपर्ने भएको छ।
मलेसियाले कामदारको लेभी रोजगारदाताले तिर्नुपर्ने भन्दै निर्देशन समेत दिएको छ। शनिबार गृहमन्त्री अहमद जहिद हमिदीले विदेशी कामदारको लेबी शुल्क अबदेखि रोजगारदाता कम्पनीले नै तिर्नुपर्ने भन्दै कामदारको तलबबाट उक्त शुल्क कटौती नगर्न रोजगारदातालाई निर्देशन दिएका छन्।
अब यो नयाँ नीति पारित भई पूर्णरुपमा लागू भएमा मलेसियामा कानुनी रुपमा रहेका ५ लाखभन्दा बढी नेपाली कामदारहरु प्रत्यक्ष लाभान्वित हुनेछन्।
मलेसियाका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार उनले रोजगारदाता अनिवार्य प्रतिबद्धता अन्तर्गत उक्त निर्देशन दिएका हुन्। उपप्रधानमन्त्री समेत रहेका हमिदीले विदेशी कामदार आफ्ना मुलुक नफर्केसम्म रोजगारदाता नै उनीहरुका लागि पूर्णरुपमा जिम्मेवार हुनुपर्ने बताएका छन्।
मलेसियाली राष्ट्रिय समाचार संस्था बर्नामा का अनुसार परिवर्तित नयाँ नीतिले आफ्ना कामदारको हेरचाहप्रति रोजगारदाता पूर्णरुपमा जिम्मेवार हुने र कामदार भाग्ने, गैरकानुनी भई बेग्लै कम्पनीमा काम गर्ने जस्ता समस्या समेत हट्ने बताए।
गृहमन्त्री हमिदीले विदेशी कामदार बस्ने आवासगृहको सुविधा समेत ‘न्यूनतम पारिश्रमिक’ सम्बन्धी मापदण्डअनुरुप रोजगारदाताले नै ब्यहोर्नुपर्नेमा जोड दिँदै सरकारले छिट्टै विदेशी कामदारको रेखदेख तथा अवस्थाको मूल्यांकन गर्न जिम्मेवारी र अवलोकन सम्बन्धी नयाँ मापदण्ड ल्याउने बताएका छन्।
मलेसियाले कामदारको ‘सेक्युरिटी डिपोजिट’मा पनि पुनरावलोकन गर्ने जनाइएको छ। अहिले लागू गरिएको दर निकै कम र विदेशी कामदारको करार सकिएपछि रोजगारदाताले उनीहरुलाई फिर्ता पठाउन पनि त्यति प्रभावकारी छैन। गहृमन्त्री हमिदीको भनाइ उद्धृत गर्दै समाचार संस्था बर्नामाले आफ्नो अनलाइनमा उल्लेख गरेको छ।
No comments:
Post a Comment