प्रतिमा भन्दा २६ वर्ष कम उमेरका रमेशले प्रतिभालाई प्रेम गरेको बहाना बनाएर पैसा हात परेपछि हत्या गरेको ढिला गरी खुलासा भएको हो । २०७३ साल जेठ ३ गतेदेखि हराएकी आफ्नी दिदी प्रतिमाको खोजीका लागि बहिनी निरा श्रेष्ठले मंसिर १३ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।
अनुसन्धानकै क्रममा प्रहरीले प्रतिमा कंकाल विदुरदेखि ४० किलोमिटर पश्चिममा रहेको फिकुरी गाविस ८ को गोगने जंगलमा फेला पारेपछि घटनाबारे थप तथ्य सार्वजनिक भएको हो ।
त्रिशूली बजारमा मजदुरी गर्दै आएका रमेशले महिलासँग धेरै रकम भएको जानकारी पाएपछि प्रेमको नाटक गरेर नजिकिएको र रकम हात पारेपछि हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए ।
नौ महिनादेखि नजिकिएका प्रतिमा र रमेश गत वैशाखामा एक महिनासम्म विदुरमा लिभिङ टुगेदरको रुपमासँगै बसेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरी उपरीक्षक बोहराका अनुसार १० लाख रुपैयाँ प्रतिमासँग भएको थाहापाएपछि रमेशले उनलाई मार्ने षडयन्त्र गरेका थिए । उनले नागरिकता बनाएर विवाह दर्ता गर्न रसुवा लगेर गत जेठ २० गते फिकुरी गाविसको जंगलमा पैसाका लागि प्रतिमाको हत्या गरेको खुलेको छ ।
प्रतिमा र रमेशबीच गत वर्षको माघदेखि प्रेम सम्बन्ध रहेको रमेशको बयानबाट खुलासा भएको प्रहरी नायव उपरीक्षक ऋषिराम कर्णेलले बताए। गत वर्ष बैशाखको भूकम्पमा प्रतिमाका श्रीमान् र सासु बितेका थिए । उनका कुनै सन्तान छैनन् । उनका ससुरा र जेठाजुका परिवार भने छुट्टै बस्दै आएका छन् ।
रमेशले प्रतिमाको हत्या गरी फिकुरी गाविस ८ को गोगने जंगलमा लगेर गाडेको बयान दिएपछि प्रहरीले उक्त स्थानमा उत्खनन् गरेर बिहीबार कंकाल निकालेको हो । प्रतिमाको कंकाल सँगै प्रहरीले उनको हत्याका लागि प्रयोग भएका विभिन्न घरेलु हतियारसमेत बराबद गरेको छ । फिकुरी गाविस रसुवा र नुवाकोटको सीमा क्षेत्रमा पर्छ ।
रमेशले प्रेमिका प्रतिमाको साथमा रहेको १० लाख रुपैयाँ आफैँले लिएर खर्च गरेको बयानबाट खुलेको छ । १० लाख मध्ये दुई लाखको पल्सर मोटरसाइकल खरिद गरेको, चार लाख बैंकका जम्मा गरेको, तीन लाख रुपैयाँ साथीलाई सापटी दिएको, प्रतिमाको सुनको सिक्री र सुनको लकेट बिक्री गरेको बयान रमेशले दिएका छन् ।
प्रतिमाले त्रिशूली बसपार्कमा उनको नाममा रहेको जग्गा ६० लाख रुपैयाँमा बिक्री गरेको रहस्य खुले पनि उक्त रकमका विषयमा भने रमेशले कुनै बयान दिएका छैनन् । प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको बताएको छ ।प्रतिमाले लगाएको घडीका आधारमा उनको सनाखत भएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए ।
प्रतिमाको हत्यापछि रमेश विदुरको कोठा छोडेर काठमाडौं भागेको बयान दिएका छन् । काठमाडौँमा ट्याटु पसल सञ्चालन गर्दै आएका उनलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो । प्रतिमाको शव भेटिए पनि उनको टाउको भने भेटिएको छैन् । प्रहरीले कंकाल पोष्टमार्टमका लागि नुवाकोटको जिल्ला अदालत त्रिशूलीमा पठाएको छ । प्रतिमाको डिएनए परीक्षणका लागि नमुना झिकेर काठमाडौँ पठाइएको छ ।
प्रतिमाको हत्यामा संलग्न रमेशलाई कर्तव्य ज्यान मुद्धामा नुवाकोट जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment