watch first and then search

watch first and then search

Saturday, November 26, 2016

मधुको सिउँदो त पखालियो नै, श्रीमानको लास सम्म देख्न पाइनन्



रोल्पा, मंसिर १०– वैदेशिक रोजगारीका लागि भारतको केरला पुगेका श्रीमान् गाडी दुर्घटनामा परी मृत्यु भएको खबर सुनेसँगै बिहे गर्ने उमेरकी मधुका हातका चुरा फोरिएका छन् । निधारको टीको पुछिएको छ । शिरको सिन्दूर पखालिएको छ र गलाको पोते छिनिएको छ ।

सुखी जीवन बिताउने सपना देखाएर विदेश गएका श्रीमान्को मृत्यु भएपछि घोडागाउँ–५ रोल्पाकी २५ वर्षीय मधु केसीलाई ठूलो बज्रपात परेको छ ।

मङ्सिर १ गते आएको खबरको अझै पनि विश्वास लागेको छैन मधुलाई । मर्नुभन्दा तीन दिन अघिमात्र श्रीमान्सँग भएका भावी जीवनका मिठा फोन वार्ता अब मधुका लागि दिवास्वप्न मात्र बनेका छन् ।

अन्तिम फोनवार्ता सम्झिँदा मधुका आँखाले आँशु थेग्न सकेनन् “यही मङ्सिर १५ गते उहाँ घर आउने कुरा थियो मङ्सिर लागेकै दिन मृत्यु भयो ।”

संयोग पनि अचम्मको ! मधुका श्रीमान्को नाम पनि मधु नै हो । आजभन्दा सात वर्ष पहिले खुंग्री–३ रोल्पाकी मधु विष्टले घोडागाउँ–५ रोल्पाका मधु केसीसँग प्रेम विवाह गर्नुभएको थियो ।

पारिवारिक रुपमा सामान्य नाता रहे पनि दुवैको इच्छाअनुरुप उहाँहरुको प्रेम विवाह सफल भयो । वैवाहिक सम्बन्ध पनि राम्रै चलेको थियो । तर आर्थिक अभावका कारण नचाहेर पनि वृद्ध बाबुआमा र जवान श्रीमती छाडेर मधु रोजगारीका लागि दुबई र भारत पुग्नुभएको थियो ।

विवाह बन्धनमा बाँधिएको करिब सात वर्ष बितिसकेको भए पनि श्रीमान् – श्रीमती दुई वर्षजतिमात्र सँगै बसेको स्मरण गर्दै मधुले भन्नुभयो – “दसैँमा घर आउँछु भन्नुहुन्थ्यो मैले नआउनु भनेँ । दसैँभन्दा तिहारमा साथीभाइ देउसी भैलोको रमझम हुनेहुँदा तिहारमा आउने सल्लाह भयो । तिहारमा पनि कम्पनीले बिदा दिएन । मङ्सिरमा आउने बाचा थियो । दैवले टुटायो । यस्तो हुन्छ भन्ने थाहा पाएको भए बरु एकै छाक खाएर जीवन बिताउथेँ । घरबाट कहीँ निस्कन दिने थिइनँ ।” उहाँ पटक पटक भक्कानिनुभयो । रहेको गर्भ पनि फागुनमा पतन भएपछि चिन्तित बनेकी मधुको जीवनमा फेरि अर्को ठूलो पीडा थपिएको छ । यतिबेला उहाँको काखमा न सन्तान छन् न त श्रीमान् नै बाँकी रहे ।

घोडागाउँ–१ रोल्पाका पूर्व शिक्षक खेमराज शर्माका अनुसार टेन्ट हाउसमा फलाम सम्बन्धी काम गर्दै आएका मधु चढेको गाडीलाई कामबाट फर्कंदै गर्दा मालबाहक ट्रकले धक्का दिएपछि मङ्सिर १ गते गाडी नदीमा खसेको थियो । मङ्सिर ४ गते मात्र शव फेला प¥यो अनि गाउँबाट रोजगारीका लागि सँगै भारत निस्किएका मधुका साथीहरुले पैसा उठाएर ४ गते उहाँको दाहसंस्कार गरेका छन् ।

भावका कारण न त उहाँको परिवार लास लिन भारत पुग्न सक्यो न लास नेपाल ल्याउन नै कसैले सहयोग गरे । “योभन्दा ठूलो पीडा कसैले भोग्नु नपरोस्,” शर्माले भाबुक बन्दै भन्नुभयो । आश्रय लिएको छोरो मरेपछि केसी परिवारको बेहाल भएको छ । घरमा ६० वर्षकी आमा र ६५ वर्षका बुबा हुनुहुन्छ ।

यस्तै, मधु वैदेशिक रोजगारीका लागि यसअघि दुबई जाँदा लिएको ऋण अझै तिर्न बाँकी छ । कमाउने मान्छेको मृत्यु भएपछि परिवारलाई त्यो ऋण कसरी तिर्ने भन्ने बारेमा थप चिन्ता बढेको छ भने बाबुआमालाई पनि छोराको लास देख्न नपाएकोमा विस्मात छ । तीन भाइ छोरा जन्माएका मधुका बुबाआमा माइलो छोरा मृतक मधुसँगै बस्दै आउनुभएको थियो । जेठो र कान्छो छोरा यसअघि नै छुट्टिएर भिन्न भइसक्नुभएको छ ।

जाने बेलामा श्रीमान्ले भनेका शब्दले सपनामा पनि झस्काउने गरेको मधु बताउनुहुन्छ । “राम्ररी घर व्यवहार चलाउनू, म बेलाबेलामा पैसा पठाउँदै गरुँला, बुबाआमाको ख्याल गर्नु केही वर्ष दुःख गरेर फर्किएँ भने जीवनभरि सुखले रमाउला” भनेर घरबाट हिँडेका श्रीमान् आउन १५ दिन अघिनै मृत्युको खबर आयो ।

मृतक मधु केसी जस्तै रोल्पा जिल्लाबाट रोजगारीका लागि बाहिरिने ठूलो सङ्ख्याका रोल्पालीहरु कहाँ छन्, के काम गर्छन् त्यसको आधिकारिक तथ्याङ्क जिल्लामा कहीँ कतै छैन ।

पखेटा उम्रेको चरीले गुँड छोडे झैँ जब १६/१७ लाग्छन् तब सयौँको सङ्ख्यामा रोल्पाली युवा रोजगारीका लागि देश छोड्न बाध्य छन् । गाउँ गाउँमा धेरैजसो घरमा बालबालिका र वृद्धवृद्धा मात्र भेटिन्छन् ।

जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्याङ्क हेर्दा यस आर्थिक वर्षको साउन महिनादेखि अहिलेसम्म १ हजार ५ सय भन्दा बढी युवाले देश बाहिर जान भन्दै राहदानी बनाएका छन् ।

गएको एक वर्षमा छ हजार ८ सय ५७ जनाले राहदानी बनाएको राहदानी फाँटका खरिदार रमेशकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार विशेष गरी १६ देखि ४५ वर्ष उमेर समूहले राहदानी बनाउने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माका अनुसार विधिवत रुपमा विदेश गएको वैदेशिक रोजगार विभागमा अभिलेख राखिएको हुन्छ । तर आफूखुसी व्यक्तिगत रुपमा जानेको कतै अभिलेख हुँदैन । अझ भारत जान त खुल्ला सीमा छ । उनीहरु यता आएको र उता गएको कुनै अभिलेख रहँदैन ।

प्रजिअ शर्मा भन्नुहुन्छ – “युवा आफ्नै देशमा रोजगारी गरेर बस्नुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन । युवामा देशमा केही गर्ने सोच छैन । दिनप्रतिदिन बाहिरिनेको लर्को छ । यो रोल्पाको मात्र नभई देशकै चिन्ताको विषय हो ।”

जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलका अनुसार युवाहरु वैदेशिक रोजगारीमा जाँदा उनीहरु कुन कामका लागि किन बाहिर जाँदैछु भन्ने कुरा नबुझी लहलहैमा लागेर बाहिरिने गरेका छन् । दोस्रो नेपालबाट बाहिरिने युवाले जतिसुकै दुःख पाए पनि नेपाल फर्केर दुःखको कुरा सुनाउँदैनन् केवल सुखका कुरा मात्र गर्ने भएको हुँदा यसले युवालाई बाहिर जान प्रेरित गरिराखेको छ ।नेपालको शिक्षाले वैदेशिक रोजगारीभन्दा नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन पनि सकेको छैन ।

२०६८ सालको तथ्याङ्कअनुसार जिल्लामा २३ हजार ३ सय जना भन्दा बढी युवा अनुपस्थित रहेको देखिन्छ । पछिल्ला दिनमा रोजगारीका लागि जिल्लाबाट ९० प्रतिशतभन्दा बढी युवा मलेसिया, साउदी अरब, दुबई, भारतलगायतका देशमा जाने गरेका छन् ।

युवाको मन यतै अडिने र देशमा रोजगारी सिर्जना गर्न सक्ने हो भने पक्कै पनि निर्दोष नेपालीले विदेशी भूमिमा मृत्युवरण गर्नुपर्ने थिएन ।

No comments:

Post a Comment

watch first and then search