दैलेख, मंसिर १० – ‘विवाह भएको दुई महिनादेखि नै बिना कुनै कारण कुटपीट गरिरहने क्रममा श्रीमान दिपेन्द्रबहादुर शाहीले मंसिर ६ गते राति हत्केलामा फलामको किला ठोक्नुभयो, उहाँलाई झिकाई कारबाही गरी पाऊँ ।’
बाँसी गाविस–४ चुकीआमस्थित माइतीघरमा शरण लिएकी १९ वर्षे समीक्षाकुमारी शाहीले शुक्रबार प्रहरीमा दिएको उजुरीमा माथिको व्यहोरा उल्लेख छ ।
कुटपीटको तीन दिनसम्म फोन गरेर माइतीमै बोलाई छलफल गराउन खोज्दा समेत वेवास्ता गरेकोले शुक्रबार उजुरी दर्ता गर्न आउनु र महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु हुनु संयोग मात्र हो ।
उजुरी दिन कै लागि चार घण्टाको पैदल बाटो हिँडेर सदरमुकाम पुग्न लाग्दा गणेशचोकबाट पुरानोबजार जाँदै गरेको महिला हिंसा विरुद्धको १६ दिने अभियानको जुलुस समीक्षाले देखिन् । एसएलसी उत्तीर्ण गरी सकेकी समीक्षाले जुलुस, महिला अधिकारका प्लेकार्ड र नारा सुनेर जुलुसलाई टोलाएर हेरिन् ।
लिखित उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुग्दा प्रहरीकै अघिल्तिर देवकोटा चोकमा भएको औपचारिक कार्यक्रमको एक छेउमा उभिएकी समीक्षाले दैलेख क्षेत्र नं. १ सांसद अम्मरबहादुर थापाको भाषण सुनिन् ‘महिला पुरुष एक रथाका दुई पांग्रा हुन् ।’ प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको भनाई पनि घत लाग्यो ‘महिलाको इज्जत हुने घरमा शान्ति हुन्छ ।’
महिला हिंसा विरुद्धको दिवसको पहिलो दिन पाँच वटा घरेलु हिंसाको उजुरी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।
No comments:
Post a Comment