काठमाडौँ, २७ कात्तिक । मांसपेशी अशक्त भएका कारण हुने वंशाणुगत रोग मस्कुलर डिस्ट्रोफी भएका बिरामीका लागि आज काठमाडौँमा स्वास्थ्य शिविर आयोजना गरिएको छ । मस्कुलर डिस्ट्रोफी फाउन्डेसन नेपालको आयोजनामा मांसपेशी, नशा, छाती, मुटु, वंशाणुगत, बाल, मनोरोग विशेषज्ञले बिरामीको जाँच गर्नुका साथै परामर्श दिनुभएको थियो । शिविरमा ३५ जना मस्कुलर डिस्ट्रोफीका बिरामीले जाँच गराएका छन् ।
मस्कुलर डिस्ट्रोफी वंशाणुगत रोग भएकाले यसको गर्भास्थामा थाहा पाउन सकिंदैन तर बच्चा जन्मेपछि उसलाई समयमै उपचार गराई फिजियोथेरापी गराउन सकेमा व्यवस्थापन गर्न सकिने चिकित्सकको भनाइ छ । फाउन्डेसनका उपाध्यक्ष तथा हाडजोर्नी विशेषज्ञ प्राडा रोहित पोखरेलले मस्कुलर डिस्ट्रोफीका रोग प्रभावित बालबालिका एवम् अपाङ्गको गुणस्तरीय दीर्घ जीवनका लागि राष्ट्रियस्तरमा जनचेतनाका कार्यक्रम आवश्यक रहेको बताउनुभयो । शिविरमा पीडित बालबालिकाको शारीरिक रोग परीक्षण तथा आधारभूत उपचार पद्धतिबारे अभिभावकलाई परामर्श पनि दिइएको बताउनुभयो ।
डा केसीद्वारा सरकारलाई २४ घन्टे अल्टिमेटम
त्रिभुवन शिक्षण अस्पतालका डा गोविन्द केसीले आज एक विज्ञप्ति जारी गर्दै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिन दलीय भागबन्डाका आधारमा नभई वरिष्ठताका आधारमा नियुक्तिको २४ घन्टाको समय दिनुभएको छ । आफूले दिएको समय अगामी आइतबार २ बजेसम्म डिन नियुक्ति नभए दसाँै आमरण अनशन बस्ने डा केसीको भनाइ छ । डा केसीले एमबिबिएस र बिडिएसको शुल्क गत वर्षकै कायम गर्न माग अघि सार्नुभएको छ । गत वर्ष एमबिबिएस उपत्यकाभित्र ३५ लाख, उपत्यका बाहिर ३८.५ लाख र बिडिएस २० लाख तोकिएको थियो ।
आइओमको डिन पद नौ महिनादेखि रिक्त छ भने चार सहायक डिनको कार्यकाल पनि हालै मात्र सकिएको छ र आइओम पूर्णरुपमा नेतृत्वविहीन भएको उहाँले स्मरण गराउनुभएको छ ।
त्रिवि उपकुलपति तीर्थ खनियाले राजनीतिक कार्यकर्ता तथा माफियालाई नियुक्ति दिन खोजेको आरोप लगाउँदै उहाँले १२ दिने अर्को अल्टिमेटम दिएर त्रिवि उपकुलपति खनियालाई बर्खास्त गर्नुपर्ने माग गर्नुभएको छ । डा केसीले २४ घन्टाभित्र डिन नियुक्त गर्न सरकारलाई बुधबार अल्टिमेटम दिनुभएको थियो तर आजसम्म पनि डिन नियुक्त नहुँदा आज अर्को विज्ञप्ति जारी गर्नुभएको हो ।
No comments:
Post a Comment