लमजुङको पर्यटकीय गाउँ काउलेपानीमा आन्तरिक पर्यटकहरुको ओइरो लागेको छ । दशैंसँगै ग्रामीण पर्यटकीय गाउँहरु घुम्ने पर्यटकहरुको चापले काउलेपानी भरिभराउ भएको छ । दशैं लागेसँगै काउलेपानीको भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको उत्साहजनक बृद्धि भएको काउलेपानीका पर्यटन ब्यवसायीहरुले बताएका छन् ।
काउलेपानीमा दैनिक एकसयको हाराहारीमा पर्यटक आएको ग्रामीण पर्यटन विकास समिति काउलेपानीका अध्यक्ष देउबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार काउलेपानीको होमस्टे तथा यहाँको प्राकृतिक सौन्दर्य हेर्ने पर्यटकहरुको उत्साहजनक बृद्धि भएको छ ।
४ वर्ष अघिमात्रै संचालनमा ल्याईएको काउलेपानी होमस्टे मुलुकभरीकै उत्कृष्ट मध्येको एक बन्न सफल भएको छ । नेपालभरी संचालनमा रहेका अन्य होमस्टेहरुलाई पछि पार्दै बेशिसहर नगरपालिकाभित्र रहेको काउलेपानी होमस्टेले उत्कृष्टता हासिल गरेको हो ।
होमस्टेको व्यवस्थापन, स्वागत, सत्कारका साथै होमस्टेका लागि चाहिने न्यूनतम पूर्वाधारहरुलाई दृष्टिगत गरी काउलेपानीको होमस्टेलाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटो)ले नेपालकै प्रमुख गन्तब्य घोषणा गरेपछि सो क्षेत्रका बासिन्दा तथा होमस्टे संचालकहरुमा खुसी छाएको छ । काउलेपानीमा कूल १४ घरमा मात्रै होमस्टे संचालन गरिएको छ । सर्लक्क ढुंगा विच्छइएका गाउँघरका गल्लीहरु, फरक फरक शैलीमा निर्माण गरिएका घरहरु, प्रशस्त मात्रामा रहेको खेतीयोग्य भूमि एवं त्यही उत्पादन हुने स्थानीय खाद्यपर्दार्थहरुले काउलेपानी पुग्ने जो कसैको मन पनि लोभ्याउने गर्दछ ।
स्थानीयवासिन्दाको न्यानो आतिथ्यता एवं गाउँ घरमै उत्पादित घरायसी खाद्यवस्तुहरुले काउलेपानी होमस्टेमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको मन जित्ने गरेको लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयो ।
३५ औ बिश्व पर्यटन दिवसको अवसरमा “काउलेपानी होमस्टेलाई उत्कृष्ट होमस्टे, गन्तब्य घोषणासंगै अब गाउँशहर काउलेपानी २०१४÷१५ को कार्यक्रम संचालन समेत गरिएको थियो । २०६९ सालमा लमजुङ उद्योग बाणिज्य संघले काउलेपानीलाई “मोडेल चेम्बर भिलेज” को घोषणा गरेपछि काउलेपानी क्षेत्रले थप गति लिएको थियो । १ हजार ६ सय मिटर उचाइमा रहेको काउलेपानी क्षेत्र प्रकृतिमा धनी मानिएको मनोरम स्थल हो । यहाँबाट १ सय ८० डिग्रीको विन्दुबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङ लगायत गरी १४ वटा हिमश्रङखलाहरु देख्न सकिन्छ । १५औं शताब्दीको ऐतिहासिक लमजुङ दरबार, काउलेपानी देवी मन्दिर, कोट, किल्ला, गढी लगायतका इतिहास बोकेका स्थलहरु यहाँका अमुल्य निधि हुन् ।
No comments:
Post a Comment