watch first and then search

watch first and then search

Monday, October 24, 2016

डिग्री नै जब नक्कली र अवैध घोषणा हुन्छ, तब ती विद्यार्थीलाई कस्तो होला ?



मदन ढुङ्गाना ,३ वर्षको पढाई र ८ लाखभन्दा बढी खर्च गरेर पाएको डिग्री नै जब नक्कली र अवैध घोषणा हुन्छ तब ती विद्यार्थीलाई कस्तो होला ? यस्तै समस्या भोगेका छन् आइसिएचएम कलेजमा अध्ययन गरेका नेपाली विद्यार्थीहरुले । भारतको कर्नाटक स्टेट ओपन युनिभर्सिटीबाट सम्बन्धन लिई सञ्चालन गरिएको भनिएको आइसिएचएम कलेजको पढाई अवैध हुने भन्दै भारतको विश्वविद्यालय अनुदान आयोगले घोषणा गरेपछि नेपाली विद्यार्थीको डिग्री नै अवैध भएको हो ।


गौशालास्थित इन्टरनेशनल कलेज अफ हस्पिटालिटी म्यानेज्मेण्ट अर्थात् आइसिएचएम कलेज । अनि यहाँ उपस्थिति यी व्यक्तिहरु चाहीँ यही कलेजबाट अध्ययन सकाएका र अध्ययन गर्दै गरेकाहरु विद्यार्थीहरु ।



बिगत ३,४ महिनादेखि यी विद्यार्थीहरु यसैगरी दैनिक कलेजमा भेला हुने गरेका छन् । कारण उनीहरुको ३ वर्षको पढाई र ८ लाखभन्दा बढी पैसा र उमेर पनि खेर गएको छ । भारतको कर्नाटक स्टेट ओपन युनिभर्सिटीबाट सम्बन्धन लिएर सञ्चालन गरिएको भनिएको आइसिएचएम कलेजका विद्यार्थीहरु अहिले अवैध बनेका छन् र उनीहरुले विश्वका अन्य राष्ट्रहरुमा अध्ययन वा कामका लागि जान पाएका छैनन् । किनभने भारतको विश्वविद्यालय अनुदान आयोग (युजिसी)ले कर्नाटक स्टेट ओपन युनिभर्सिटीको डिस्टेन्स लर्निङलाई अवैध घोषणा गर्दै प्रमाणपत्रहरु मान्य नहुने बताएको छ ।
हेर्नुहोस् यो पत्र ….


भारतको कर्नाटक स्टेट ओपन युनिभर्सिटीबाट मान्यता लिएर नेपालमा आइसिएचएम कलेजले बिएस्सी एचसिएम अर्थात् ब्याचलर इन साइन्स अन होटल एण्ड क्याटेरिङ म्यानेज्मेण्ट पढाएको थियो । यस कलेजमा अन्तर्राष्ट्रिय स्तरको डिग्री भन्दै नेपाली विद्यार्थीहरुलाई झुक्काएर सन् २०१० देखि नै विद्यार्थीहरु पढाइरहेको थियो र प्रतिविद्यार्थी सन् २०१० मा ३ लाख ७५ हजार र अहिले प्रतिविद्यार्थी ५ लाख ५० हजार शुल्क तथा इन्टरर्नसिपका लागि भन्दै प्रतिविद्यार्थी थप दुई लाख रुपैयाँ लिइरहेको छ । तर यति धेरै पैसा, समय र उमेर गुजारेर अध्ययन गरेका नेपाली विद्यार्थीहरुको प्रमाणपत्र अवैध घोषणा भयो ।



नेपालमा अन्तर्राष्ट्रिय स्तरको पढाई भन्दै विद्यार्थी बटुलेको आइसिएचएम कलेजको लापरवाहीका कारण अहिले ५ सयभन्दा बढी नेपाली विद्यार्थीहरुको बिचल्ली भएको छ । किनभने भारतको विश्वविद्यालय अनुदान आयोगले कर्नाटक स्टेट ओपन युनिभर्सिटीलाई डिस्टेन्स लर्निङ अर्थात् आफ्ना राज्यभन्दा बाहिर यस्तो कार्यक्रम सञ्चालनका लागि स्वीकृति दिएको रहेनछ । तर बिना स्वीकृति नै नेपालका केही कलेजहरुमा यस विश्वविद्यालयमा आवद्ध भई कक्षा सञ्चालन भइरह्यो । यसै सम्बन्धमा सन् २०११ को जुन १० मा भारतको विश्वविद्यालय अनुदान आयोगले कर्नाटक स्टेट ओपन युनिभर्सिटीसँग किन कर्नाटक बाहिर पनि यस्तो कक्षा र सम्बन्धन दिएको हो सो सम्बन्धमा स्पष्टीकरण माग गर्दै कारण देखाउ आदेश दिएको थियो ।

तर कर्नाटक युनिभर्सिटीले चित्तबुझ्दो कारण दिन नसके सन् २०१३ को जुन २७ मा विश्वविद्यालय अनुदान आयोगले यस विश्वविद्यालयको डिस्टेन्स लर्निङ अर्थात् कर्नाटक बाहिरका सबै अध्यापन अवैध हुने घोषणा गरेको थियो । त्यतिमात्र त्यतिमत्रौ होइन शैक्षिक गुणस्तर अत्यन्तै कमजोर रहेको पाइएपछि सन् २०१३ देखि यस विश्वविद्यालयमा अन्य कार्यक्रम सञ्चालन र नयाँ विद्यार्थी भर्ना गर्नसमेत रोक लगाइएको छ ।

तर यी तमाम सत्य बुझ्दाबुझ्दै पनि नेपालमा भने यसको अध्ययन निरन्तर भइरह्यो र नयाँ भर्ना पनि रोकिएन । नेपालको आइसिएचएम कलेजले त यतिसम्म गरेको रहेछ कि सन् २०११ को डिसेम्बर १ तारिकमा भारतको कर्नाटक स्टेट ओपन युनिभर्सिटीसँग सम्बन्धनको सम्झौता भएको भएपनि सन् २०१० देखि नै आइसिएचएम कलेजमा कर्नाटक विश्वविद्यालयको नामबाट कक्षा सञ्चालन भइरहेको रहेछ ।

सन् २०१३ बाट कर्नाटक विश्वविद्यालयको सबै पढाई बन्द गर्न निर्देशन दिइयो । तर नेपालमा भने यसको अध्ययन निरन्तर जारी रह्यो । आफूहरु हाइ कोर्टमा गएको र न्याय पाउने भन्दै विश्वविद्यालयले नेपालका कलेजहरुलाई पनि फकाएको बुझिएको छ । त्यही आशमा कलेजले पनि न त पढाई स्थगन ग¥यो, न त भर्ना नै । बरु झन् झन् बढी विद्यार्थी भर्ना गरेर अध्यापन सुचारु गरिरह्यो । यतिसम्म कि कर्नाटक स्टेट ओपन युनिभर्सिटीले सन् २०१३ को जुलाईमा आफ्नै वेभसाइटमा सूचना टाँस गरेर डिस्टेन्स लर्निङ बन्द गरिएको र देश वा विदेशका कलेजहरुसँग भएका सबै सम्झौताहरु भंग गरिएको सुचना जारी गर्दा पनि नेपालमा पनि लगातार ब्याचलर इन होटल म्यानेज्मेण्टका नाममा अध्यापन जारी रह्यो ।

अर्को अचम्मको विषय के भेटिएको छ भने सन् २०१३ को जुनबाट डिस्टेन्स लर्निङका सबै कक्षा वा कोर्षलाई मान्यता नदिएको घोषण भएपछि पनि अगष्ट २०१३, जनवरी र जुलाई २०१४ र त्यसपछि पनि कर्नाटक स्टेट ओपन युनिभर्सिटीका नामबाट परीक्षा लिइएको छ र त्यसको नतिजा प्रकाशन भएको छ र, त्यसका प्रमाणहरु हुन् यी ।

यी प्रमाणपत्रहरु सक्कली हुन् वा नक्कली अझै केही खुलेको छैन । किनभने सन् २०१३ को जुलाईबाटै कर्नाटक बाहिरको अध्यापन अवैध भइसकेपछि पनि कसरी अध्यापन भयो र यी प्रमाणपत्रहरु कहाँबाट आए अहिलेसम्म त्यसको जानकारी आइसिएचएम कलेजले दिन सकेको छैन । अहिले विद्यार्थीहरुले शंका गर्न थालेका छन् ।

शंका यसकारण गर्न सकिन्छ कि विद्यार्थीहरुलाई जारी भएको प्रमाणपत्र फरकफरक रङको छ भने कहीँ विश्वविद्यालयको ठेगाना नै गल्ती लेखिएको छ । यतिसम्म भएको रहेछ कि परीक्षा दिएको १ दिनमै प्रमाणपत्र हात लागेको तथ्यसमेत भेटियो ।

युनिभर्सिटीको मान्यता नै खारेज भएपछि पनि आइसिएचएम कलेजले विद्यार्थीहरुलाई झुक्काएर निरन्तर अध्यापन गरिरह्यो । सन् २०१४ को जुलाईसम्म सर्टिफिकेट दिँदै आएको कलेजले जब सर्टिफिकेटमै धेरै गल्तीहरु भेटे र त्यो नेपालमै बन्ने गरेको शंका गरे, त्यसपछि भने विद्यार्थीहरुको नतिजा प्रकाशन नै भएन । सन् २०१४ को अगष्टमै पाँचौ सेमेष्टरको परीक्षा दिएका सुसोभित नेपाल भन्छन्, २ वर्ष पुग्दा पनि नतिजा आएन ।

सन् २०१२ देखि पढेका विद्यार्थीको अन्तिम नतिजा त आएको छैन नै, त्यसअघि अध्ययन गरेर विदेश जानका लागि निवेदन दिएका विद्यार्थीहरु पनि अहिले धमाधम रिजेक्ट भइरहेका छन् । थप अध्ययन वा कामका लागि अष्टे«लिया, अमेरिका लगायतका देशमा आवेदन दिएका विद्यार्थीहरुलाई कर्नाटक विश्वविद्यालयले नेपालमा दिएको मान्यता अवैध भएको र भारतको विश्वविद्यालय अनुदान आयोगले मान्यता नदिएको भन्दै रिजेक्ट हुने गरेका छन् ।

शिवकुमार श्रेष्ठ म्यानेजिङ डाइरेक्टर बनेर खोलिएको आइसिएचएम कलेजका विद्यार्थीहरुको ३ वर्षको अध्ययन र ८ लाखभन्दा बढी रकम बालुवा पानी भएको छ । अहिले कतिपयले पाइसकेको सर्टिफिकेट बेकामे बनेको छ भने कतिपयले सर्टिफिकेट नै पाएका छैनन् । तर पनि आइसिएचएम कलेज भने आफ्नो कुनै गल्ती नरहेको र आफूलाई कर्नाटक विश्वविद्यालयले झुक्काएको भन्दै पन्छिन खोजेको छ । अनि अझै पनि कर्नाटक विश्वविद्यालयले फेरि पनि मान्यता पाउने र विद्यार्थीहरु वैध हुने भन्दै झुलाइरहेको छ र विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको छ ।

उम्कने दाउमा कलेज
विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र नै अवैध भइसक्दा र बाहिर जानका लागि अप्लाई गरेका विद्यार्थीहरु रिजेक्ट हुँदा पनि नेपालको आइसिएचएम कलेज भने अझै पनि विद्यार्थीहरुलाई झुक्काउन मै तल्लीन छ । आइसिएचएम कलेजका प्रबन्ध निर्देशक शिवकुमार श्रेष्ठले अहिले पनि कर्नाटक विश्वविद्यालयसँग कुरा भइरहेको र चाँडै नै विद्यार्थीहरुले वैधानिकता पाउने तथा सर्टिफिकेट आउने भनेर झुक्काइरहेका छन् । विद्यार्थीहरुले कलेजमा दैनिक धर्ना दिन थालेपछि उनी कहिलेकाही मात्रै कलेज आउने गरेका छन् । उनले विद्यार्थीहरुलाई सकेसम्म कर्नाटक स्टेट ओपन युनिभर्सिटीबाटै सर्टिफिकेट दिलाउने र त्यो सम्भावना नभए अन्य विदेशी विश्वविद्यालयबाट प्रमाणपत्र दिलाउने भन्दै विद्यार्थीहरुलाई ललीपप देखाइरहेका छन् । भारतको विश्वविद्यालय अनुदान आयोगले सन् २०१३ बाटै खारेज गरेपनि नेपालको आइसिएचएम कलेजले सन् २०१६ को जनवरीमा भएको परीक्षामासमेत कर्नाटक विश्वविद्यालयकै प्रश्नपत्रबाट विद्यार्थीलाई परीक्षा दिलाएको छ ।



जबकि यी विद्यार्थीहरुलाई आइसिएचएम कलेजले पहिले बुढापेष्ट युनिभर्सिटी हङ्गेरीमा क्रेडिट ट्रान्फर गराएको बताएको थियो र त्यहीँको रजिस्टे«सनसमेत गराएको थियो । तर बुढापेष्टमा ट्रान्सफर गरेको भनेपनि विद्यार्थीहरुले भने अझैपनि कर्नाटक विश्वविद्यालयकै नामबाट परीक्षा दिइरहेका छन् ।

तर आइसिएचएम कलेजले भने अहिले फेरि जर्जियाको टिबलिसी कलेजमा ट्रान्सफर गरिसकेको दाबी गरेको छ । जबकि यस कलेजले टिबलिसीसँग २७ सेप्टेम्बर २०१६ मा मात्रै सम्झौता गरेको छ । अनि टिबलिसी विश्वविद्यालयको ब्याचलर लेबलमा होटल म्यानेज्मेण्टको कोर्सनै छैन । टिबलिसीमा वेभपेजका अनुसार डिप्लोमा तहमा मात्रै होटल म्यानेज्मेण्टको कोर्स रहेको छ, जुन टिबलिसीको कोर्समै उल्लेख छ ।
कर्नाटक विश्वविद्यालयको डिस्टेन्स लर्निङ अवैध बनेपछि यस आइसिएचएम कलेजले एलसिसिआई अर्थात् १५ महिनाको भोकेसनल पढाई पनि गरायो, जुन १० कक्षा पास गरेकाले पढ्न पाउने विषय हो र त्यो प्लस टु सरहसमेत होइन । तरपनि कलेजले भने त्यसलाई ब्याचलरलेभलको पढाई भन्दै अध्यापन गारइरहेको छ । आईसिएचएम कलेजले बदमासी गरेको र मार्कसिटहरु नै नेपालमै छपाई गरेको हुनसक्ने भन्दै खोजबिन सुरु भएपछि कलेजले विद्यार्थीका सबै मार्कसिटहरु सिज गरेको पाइएको छ । मार्कसिटमा पटकपटक गल्ती आउनु तथा युनिभर्सिटी रहेको ठेगाना समेत गलत भएपछि विद्यार्थीले खोजबिन सुरु गरेका थिए । त्यसका लगत्तै कलेजले विद्यार्थीका सबै मार्कसिटहरु युनिभर्सिटीमा पठाउनुपर्ने भन्दै सिज गरेको छ ।

यसरी कर्नाटक विश्वविद्यालयको सम्बन्धन लिएको भन्दै गौशाला र कुपण्डोलमा सञ्चालन गरिएको आइसिएचएम कलेजले ५ सय भन्दा बढी विद्यार्थीहरुलाई ठगी मात्रै गरेको छैन, उनीहरुको भविष्यसमेत अन्धकार बनाएको छ । र, विद्यार्थीहरुले यतिबेला न्याय मागिरहेका छन् ।

No comments:

Post a Comment

watch first and then search