watch first and then search

watch first and then search

Sunday, October 16, 2016

सशस्त्र समूहको नाममा रकम असुल गर्ने पक्राउ

केही व्यवसायी एवम् व्यक्तिलाई आफू विभिन्न सशस्त्र समूहको कमाण्डर भएको भनी धम्क्याउँदै रकम असुल्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।भूमिगत समूह अलकायदा विश्व सङ्गठन (दक्षिण एशिया, नेपाल), सशस्त्र अग्निज्वाला, सशस्त्र डिफेन्स आर्मी फोर्स र टाइगर मुक्ति मोर्चाजस्ता समूहको कमाण्डर अग्निचट्टान, विवश, असिनाजस्ता नक्कली उपनाम राखी धम्की दिँदै रकम असुल गर्दै आएका अर्घाखाँची, सिद्दारा गाविस घर भई हाल काठमाडौँ, मनमैँजुका बैकुण्ठ बेल्वासेलाई प्रहरीले केहीदिन अगाडि पक्राउ गरेको हो ।

बेल्वासेलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मनमँैजुबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु काठमाडौँ पठाएको छ । उनले विभिन्न मोबाइल नम्बरबाट फोन गरी तथा चिठीपत्र पठाई रकम असुल्ने गरेको महाशाखाले आज जनाएको छ ।

यसअघि राजकुमार ढुङ्गानालाई सङ्गठितरुपमा हतियार देखाई अपहरण गरेको अभियोगमा विसं २०७० जेठ १३ गते निज बेल्वासेसहित चारजनालाई पक्राउ परी अपहरण तथा शरीर बन्धक र सङ्गठित अपराधमा साउन १० गते काठमाडौँ जिल्ला अदालतको फैसलाले सजाय भई २७ महिना जेल भुक्तान गरी विसं २०७२ भदौ २७ गते जेलमुक्त भएकोे अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

उनको साथबाट धम्की दिन प्रयोग गरेको सिमकार्ड, अलकायदा विश्व सङ्गठन (दक्षिण एशिया, नेपाल) का नाममा रु १३ लाख सहयोग भन्ने व्यहोरामा लेखेको पत्र, सशस्त्र डिफेन्स आर्मी फोर्सका नाममा आर्थिक सहयोग गर्ने सम्बन्धमा लेखेको पत्र, सशस्त्र अग्निज्वालाका नाममा बैठक बस्ने भन्ने व्यहोरामा लेखेको पत्र, टाइगर मुक्ति मोर्चाका नाममा आर्थिक सहयोगको पत्र, खोज खबर, न्यूजका नाममा सहयोगका लागि लेखिएको पत्र र नगद रु एक लाख ५० हजार बरामद गरेको महाशाखाले जनाएको छ ।

No comments:

Post a Comment

watch first and then search