watch first and then search

watch first and then search

Sunday, October 16, 2016

गर्जो टार्न सामूहिक बचत गर्दै बाँकेका थारु महिला



14689189_10202176672894334_1398124713_o
नेपालगन्ज, १६ असोज ।बाँकेका थारु महिला आफ्नो गास (छाक) काटेर बचत गरिरहेका छन् । भवितब्यका बेला रकम जोहो गर्न समस्या नहोवस् भन्ने उद्देश्यले थारु महिलाले आफ्नो गास काटेर मासिक बचत गर्न थालेका हुन् । विभिन्न संघसंस्थाको सचेतिकरणसँगै उनीहरु समूह गठन गरी बचत गरेर आर्थिक उपार्जनमा समेत जुटेका छन ।

समूहमा वचन गर्ने बानिको विकास भएसँगै उनीहरु आर्थिक हिसावले सशक्त हुन थालेका छन् । औषधोपचार र बालबालिकाको शिक्षाका लागि सामूहिक बचत गर्दै आएको प्रकाश स्वयम् सहायता समूह बनकटुवाकी अध्यक्ष गेटरानी थारुले बताइन् । ‘समूहमा आवद्धहरुको परिवारका सदस्य अपरझट विरामी हुँदा वा बालबालिकाको शिक्षाका लागि रकम आवश्यक परे समूहमा बचत भएको रकम ऋणको रुपमा लिन सजिलो भएको छ,’ उनले भनिन् ।समूह गठनगरी वचत गर्न थालेपछि उनीहरुलाई दुईचार सय रुपैँयाका लागि श्रीमान्को मुख ताक्नुपर्ने बाध्यता टरेको छ । घरमा आउने सानातिना समस्यालाई समेत सहजै टार्न सक्ने भएका छन् । बचत गरेको रकम उनीहरुले कम ब्याज दरमा समूहमा लगानी गर्दै आएको प्रकाश स्वयम् सहायता समूह बनकटुवाकी कोषाध्यक्ष रिता कुमारी थारुले बताइन् ।

बैजापुर गाविस–३, लामिडाँडाकाको समुदायमा आधारित बसन्त समूह (सिविओ) ले ७७ हजार रुपैयाँ बचत गरिसकेको छ । ‘गाउँमा आउने समस्या र सानोतिनो विकासका लागि सामूहिक बचत समेत गर्दै आएका छौँ,’ कोषाध्यक्ष रामपतिले भनिन् । सिविओका सदस्यले कोष बृद्धि गर्न माघे सक्रान्तिमा नाचगान र सामूहिक काम समेत गर्दै आएका छन् । गत बर्ष नाचगान गरेर ३ हजार, सामूहिक कामबाट ८ हजार र पानी सिँचाईबाट ९ हजार रुपैयाँ बचत भएको उनले बताइन् । बचत भएको रकम बालबालिकाको स्वास्थ्य, शिक्षा र ब्यवसायका लागि सदस्यलाई प्रदान गरिएको रामपतिले बताइन् ।

सामूहिक काममा थारु महिलाको आकर्षण
बाँकेका थारु महिला सामूहिक कार्यमा आकर्षित भएका छन् । सामूहिक काम गर्दा छिटो सकिने, थकाई नलाग्ने र काम राम्रो हुने भएपछि सामूहिक काममा थारु महिलाको आकर्षण बढेको हो । तर, थारु समुदायमा सामूहिक काम नौलो भने होइन । थारु समुदायमा सामूहिक काम र आफ्नो काम सकेर छिमेक, इष्टमित्रको काममा सघाउने परम्परालाई जोगाउँदै थारु महिलाले आफ्नो समूहमा आवद्ध सदस्यको काम सामूहिक रुपमा गर्दै आएका छन् । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र अघि एकले अर्काको काममा सघाए बापत कुनै शुल्क नलिएपनि अहिलेका महिला समूहका सदस्यले प्रति ब्यक्ति प्रति घण्टा ३० रुपैयाँका दरले पारिश्रमिक लिने गरेका छन् ।
समूहको कोष बढाउन सामूहिक काम गरे बापत पारिश्रमिक लिने गरेको बैजापुर गाविस–९, पर्सामपुरस्थित चेतनशील स्वयम् सहायता समूहकी अध्यक्ष राजकुमारी चौधरीले बताइन् । उनले कोष बढाउन आफ्नो समूहका सदस्य बाहेक अन्य घरमा काम नगरेको बताइन् । ‘सामूहिक कामले एकातिर समूहको कोष बढेको छ भने अर्कोतिर समूहका सदस्य बिचको सम्बन्ध सुधार र सामूहिक भावनाको विकास भएको छ,’ उनले भनिन् ।

बैजापुर गाविस–८, दाङपुर्वाका महिलाले सामूहिक च्याउ खेति गरेर ५ हजार रुपैयाँ बचत गरेको समूहकी सदस्य गिता चौधरीले बताइन् । बनकटवा गाविस–८, भज्यागौरीस्थित गुलाव स्वयम् सहायता समूहका सदस्यले पनि कोष बढाउन सामूहिक काम गर्दै आएका छन् । धान रोप्ने, काट्ने, तरकारी लगाउने, घर बनाउने लगायतका सामूहिक काम गर्दै आएको समूहकी सदस्य सिता थारुले बताइन् । उनले यसबर्ष सामूहिक रुपमा धान काट्ने काम गरिरहेको बताइन् । उनले एउटा सदस्यको घरमा २ घण्टा मात्र काम गर्ने गरेको बताइन् । ‘एक घण्टाको ३० रुपैयाँका दरले एकजनाले दिनको २ घण्टामात्र सामूहिक काम गर्छौँ,’ सीताले भनिन् ।

सामूहिक काममा नआउने सदस्यलाई जरिवाना

सामूहिक काममा नआउने सदस्यलाई दण्ड जरिवाना गर्ने नियमसमेत महिलाले बनाएका छन् । समूहकोे निर्णय नमान्ने सदस्यलाई ज्यालाको दोब्बर जरिवाना गर्ने नियम बनाएको गुलाव स्वयम् सहायता समूहकी सचिव सुनिता चौधरीले बताइन् । ‘जरिवाना नलिए काममा लापरवाही गर्ने र समूह राम्रोसाग नचल्ने भएकोले यो ब्यवस्था गरेका हौँ,’ सुनिताले भनिन् ।

समूह गठन लगायत महिलालाई सीपमुलक तालिम, विउ विजन, प्राविधिक र आर्थिक सहयोग गर्दै आएको बेस जीवन परियोजनाका सुपरभाइजर जोगीलाल चौधरीले बताए । उनले सामूहिक काम गरेर महिला समूह उदाहरण बनेको बताए ।

जनश्रमदानबाट डेढ किलोमिटर सडक निर्माण

बैजापुर गाविस–३, लामिडाँडाकाको समुदायमा आधारित बसन्त समूह (सिविओ) ले नारायणपुर–राजपुर जोड्ने डेढ किलोमिटर बाटो जनश्रमदान गरेर बनाएका छन् । थारु समुदायमा प्रचलित श्रमदानलाई जिवित राख्दै उक्त गाउँमा रहेको सिविओका सदस्यले जनश्रमदान गरेर गोरेटो बाटोलाई चौडा बनाउँदै माटो पटान गरेको सिविओका अध्यक्ष डण्डीराम चौधरीले बताए ।

उनले स्थानीयले अढाई लाख रुपैयाँ बराबरको जनश्रमदान गरेर सडक बनाएको बताए । ‘गाविसले सडक निर्माणमा चासो नदिएपछि सिविओको अगुवाईमा स्थानीयले बर्षौँदेखि बन्न नसकेको सडक बनाएका छन्,’ चौधरीले भने । उक्त सडकले बैजापुर गाविसका कुम्भर, भवनियापुर, दाङपुर्वा लगायतका गाउँलाई जोडेको छ ।
सिविओको सक्रियतामा गाउँ सरसफाई, जुवातास र मदिरा नियन्त्रणका प्रयास समेत भइरहेका छन् । बालबालिकाको शिक्षा र स्वास्थ्य शिक्षाका बारेमा समेत सचेतना फैलाउने गरेको कोषाध्यक्ष रामपति चौधरीले बताइन् । उनले सडक मर्मत र सचेतनाका लागि सिविओका सदस्यले मासिक बचत समेत गर्दै आएका छन् । उक्त सिविओले ७७ हजार रुपैयाँ बचत गरिसकेको छ । ‘गाउँमा आउने समस्या र सानोतिनो विकासका लागि सामूहिक बचत समेत गर्दै आएका छौँ,’ कोषाध्यक्ष रामपतिल भनिन् ।

समूह गठन गरि बचत गर्नेको संख्या बढ्दै

बाँकेमा समूह गठन गरी बचत गर्ने थारु समूदायका महिलाको मात्र १३७ वटा समूह क्रियाशील छन् । समूह गठनगरी आर्यआर्जनतर्फ उन्मुख भएका थारु समुदायका महिला ब्यवसायिक थलोको खोजीमा छन् । राज्यले आवश्यक सीप र प्राविधिक ज्ञान दिए आफू स्वरोजगार बनेर अरुलाई पनि रोजगार दिने उनीहरुको विश्वास छ ।

No comments:

Post a Comment

watch first and then search