watch first and then search

watch first and then search

Monday, October 24, 2016

बैंकमार्फत वृद्धवृद्धालाई भत्ता : सुविधाभन्दा सास्ती बढी



पात्लेखेत–४ की ७१ वर्षीया पिस्की पाइजाले सामाजिक सुरक्षा भत्ता लिन घन्टौँसम्म लाइनमा बसिन् । पात्लेखेतबाट जिप चढेर भत्ता बुझ्न सदरमुकाम बेनीस्थित ग्रिन डेभलपमेन्ट बैंकमा आएकी पाइजाले गाउँबाट आएर बैंकमा लाइन बसेर भत्ता बुझ्नुपर्दा धेरै कष्ट भएको बताइन् । पाइजाले भोगेजस्तै बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने परिपाटीले भत्ता वितरणमा पारदर्शी र व्यवस्थित भए पनि वृद्धवृद्धालाई भने सास्ती भएको छ । जिविसले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेपछि आफूहरुलाई राज्यले दिने सुविधाभन्दा बढी सास्ती हुन थालेको वृद्धवृद्धाले गुनासो गर्न थालेका छन् । म्याग्दीमा हाल बेनी नगरपालिकासँगै विभिन्न १२ गाविसमा सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्न थालिएको छ ।

ती गाविसमा सामाजिक सुरक्षा भत्ता पाउनेमध्ये ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, एकल महिला, विद्युवा र आंशिक अपाङ्गता भएकालाई मात्रै बैंकमार्फत उपलब्ध गराउने र अन्यलाई भने गाविसमार्फत नै भत्ता पाउने व्यवस्था गरिएको जिविसका सामाजिक सुरक्षा स्रोत व्यक्ति राजेन्द्र आचार्यले बताए । नगरक्षेत्रका बासिन्दालाई बैंकमार्फत भत्ता लिन सहज र सरल भए पनि ग्रामीण भेगका लाभग्राहीलाई भने झन्झटिलो भएको छ ।

पात्लेखेतबाट पहिलो चौमासिकको भत्ता बुझ्न बेनी झरेकी ८० वर्षीया भीमकुमारी शाहीले राज्यले दिएको सुविधा लिन पनि सदरमुकाम नै झर्नुपर्ने व्यवस्थाले आफूहरु समस्यामा परेको बताइन् । ७१ वर्षीय फसबहादुर रोकाको सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि उनीसँगै बैंकमा लाइन बसेकी भद्रकुमारी पुनले पनि बैंकमा लामो समय लाइन बस्नुपर्ने र बैंकिङ प्रक्रिया बुझ्न नसक्दा वृद्धवृद्धालाई भत्ता बुभ्mन झन्झटिलो भएको गुनासो पोखिन् ।

बैंकमार्फत भत्ता वितरण गर्दा सम्बन्धित व्यक्तिको खातामा सिधै जम्मा हुने हुँदा सरकारले दिएको सामाजिक सुरक्षा भत्ताको दुरुपयोग नहुने भएपनि भत्ता बुझ्ने वृद्धवृद्धाले भने झन्झट र हैरानी भएको भन्दै गाउँबाटै भत्ता वितरण गर्न माग गरेका छन् ।
भत्ता बुझ्न दिनभर लाइनमा बसेकी पात्लेखेतकै काली रोकाले लामो समयसम्म लाइन बस्नुपर्ने, गाउँबाट बेनी आउनुपर्ने र खर्च बढी हुने भएकाले गाउँबाटै भत्ता वितरण गरे आफूहरुलाई सजिलो हुने बताइन् ।

भत्ता लिन बैंकमा एकैपटक धेरै सेवाग्राही आउँदा बैंकमा लाइन लगाएर सेवा दिनु परेको कर्मचारी बताउँछन् । वृद्धवृद्धा लामो समय लाइनमा उभिन नसकेर कतिपय सडकमै यत्रयत्र कष्टकर तवरले बसेर समेत भत्ता लिने गरेका छन् । पिप्ले गाविसको रानीपौवाबाट बेनीस्थित माछापुच्छे« बैंकमा भत्ता बुझ्न आएकी ७८ वर्षीया मानकुमारी शर्माले गाउँबाट बेनी आएर भत्ता बुझ्दा आउँदा जाँदा गाडी चढ्नुपर्ने, बसेर खाजा, खाना खानुपर्ने कारण बुझेको भत्ता धेरैजसो यतै सकिने बताइन् ।

विभिन्न ठाउँमा गाविससचिवमार्फत सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भएको समाचार आउन थालेपछि पछिल्लो समय बैंकमार्फत भत्ता वितरण गर्ने परिपाटीको सुरुवात गरेको थियो । यस वर्षको पहिलो चौमासिकमा नगरपालिका बाहेकका १० गाविसमा वितरण हुने सामाजिक सुरक्षा भत्ताको रकम जिविसले सिधै बैंकमा जम्मा गरिदिएको हो भने बाबियाचौर र अर्मनले समेत बैंकमार्फत नै वितरण गर्ने गरी भत्ता रकम जम्मा गरिदिएको स्रोत व्यक्ति आचार्यले बताए ।

सरकारले ज्येष्ठ नगरिकलाई औषधि उपचार खर्चसहित मासिक रु दुई हजार, एकल महिला, ज्येष्ठ दलित, विधुवा महिलालाई रु एक हजार, पूर्ण अपाङ्गता भएकालाई रु दुई हजार, आंशिक अपाङ्गता भएकालाई रु ६ सय र दलित बालबालिकालाई रु ४०० का दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । जिविसका स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले बैंकको पहुँच पुग्ने गाविससम्म बैंकमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सरकारी नीतिअनुसार जिल्लामा पनि बैंकमार्फत भत्ता दिने गरिएको बताए ।

No comments:

Post a Comment

watch first and then search