watch first and then search

watch first and then search

Saturday, June 9, 2018

सरकारी जागिर छोडेर तरकारी खेती : गणेश बने १२ करोडको मालिक

अर्घाखाँची, जेठ १२ – सरकारी जागिर छाडेर, तरकारी खेती गर्ने कुरा सुन्दा अहिले पनि धेरैलाई विश्वास लाग्दैन । त्यो त अझ २०४० सालको कुरा थियो । अझ अन्न फल्ने खेतबारीमा तरकारी खेती गर्छु भन्दा धेरैले लगाउने विशेषण हुन्थ्यो, ‘बुद्धि बिगे्रकोे मान्छे’ । तर जब तरकारीबाट राम्रो आम्दानी हुन थाल्यो खिल्ली उडाउने तिनै गाउँलेले उहाँको कर्मलाई पछ्याउन थाले । यो भोगाई हो अर्घाखाँचीका गणेश बञ्जाडेको ।
५७ वर्ष पुगेका गणेशले २०४० सालमा जेटिएको सरकारी जागिर छाडेर कुटो कोदालो बोकेर तरकारी खेती शुरु गर्नुभएको थियो । अरुको दवावमा काम गर्नुपर्ने पैसाको लागि महिनादिन कुर्नुपर्ने, घरपरिवार छोडेर टाढा जानुपर्ने लगायत झण्झटका कारण सरकारी जागिर छाडेर आफ्नो खुशीको काम अर्थात तरकारी खेती र गाईपालन थालेको उहाँ बताउनुहुन्छ । जसले उहाँलाई समाजमा अग्रणी र अनुकरणीय त बनाएको छ नै आर्थिक रुपमा हेर्दा पनि करोडपति बनाएको छ । शुरुमा घरकै बारीमा तरकारी खेती सुरु गरेका बञ्जाडे अहिले १२ करोड रुपैयाँ भन्दा बढीको मालिक बनेको बताउनुहुन्छ । तरकारीबाट वर्षमा २० देखि २५ लाख रुपैयाँ सजिलै कमाएपछि उहाँले काठमाडौंको कोटेश्वरमा ६ तले घर बनाउनुभएको छ । सन्धिखर्क नगरपालिकाको १, २, ८ र १० वडामा घर, घडेरी र खेत किन्नुभएको छ । झण्डै ४० रोपनी जग्गा किनेका बञ्जाडेले ५ रोपनी जति घडेरी रहेको बताउनुभयो । उहाँका दुई छोराहरु पनि तरकारी खेतीमा लाग्नुभएको छ । दिनको २० हजार रुपैयाँसम्मको तरकारी सन्धिखर्क बजारमा बिक्री गरेको अनुभव उहाँसँग छ । नहुँदा पनि दिनको ४ हजारको तरकारी बेच्ने गरेको उहाँको भनाई छ । उहाँले अहिले २५ रोपनी बारीमा तरकारी खेती गर्नुभएको छ । अन्न बालीको साटो व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा २० देखि २५ लाख रुपैयाँ आम्दानी गर्ने गरेको उहाँ सुनाउनुहुन्छ । उहाँकै अभिप्रेरणाबाट अहिले सिंगो गाउँ नै तरकारी खेतीमा लागेको छ । घोचेखोला, किमडाडा र धरम्पानीमा झण्डै एक सय जनाले तरकारी खेती र गाईपालन गरिरहेका छन । घोचेखोलामा अहिले बाह्रैमास मौसमी तथा बेमौसमी तरकारी उत्पादन भैरहेको छ । गाईभैसीको गोबरमल भन्दा पिसाब उत्तम भएको पत्ता लगाएपछि तरकारी उत्पादन दोब्बर भएको छ । पशुको पिसाब टयांकी बनाएर संकलन गर्ने र तरकारीका बोटमै लगाउने गरेको उहाँले बताउनुभयो । यसो गर्दा रसायनिक र गोबर मल पनि नचाहिने उहाँको अनुभव छ । अहिले अर्घाखाँची जिल्लालाई नै कृषिको नमुना जिल्ला भनेर चिनाउने अभियानमा लाग्नुभएको छ । रोजगारीको लागि विदेश जान चाहने युवालाई तरकारी खेती र जर्सी गाई पाल्न सुझाव दिएपछि केहीले यो काम थालेको उहाँले जानकारी दिनुभयो । हौसला २०७४–७५ को राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका बञ्जाडेले २०६८ सालमा विकास सेवा रत्न पदकका साथै जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यलयबाट पनि पुरस्कृत हुनुभएको छ । आफू जागिरमै अल्झेको भए तलबले घरखर्च टार्न पनि हम्मेहम्मे पर्ने स्मरण गर्दै उहाँले आफ्नो माटोमै खेल्ने र रमाउने त्यसबेलाको शाहसले आफ्नो जीवनलाई परिवर्तन मात्र होइन अरुले पनि उदाहरणका रुपमा लिने पात्र बन्न पाएकोमा सन्तोष लाग्ने बताउनुभयो । उहाँ घोचेखोला, किमडाडा र धरमपानीमा पशु बिरामी भए घरघरमा गएर निःशुल्क उपचार पनि गर्ने गर्नुहुन्छ । पशुको उपचार गरेको कुनै शुल्क नलिने र कसैले तरकारी खेती गर्न इच्छा गरे सिकाइदिने गरेको उहाँ बताउनुहुन्छ । कृषक समूह र सहकारी सञ्चालन कृषक समूह र सहकारी चलाएर आफू मात्र हैन पूरै गाउँलाई नै समृद्ध बनाउन लागिपरेको उहाँले बताउनुभयो । जिल्ला कृषि समितिको सदस्य समेत रहेका बञ्जाडे अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम ब्लकको अध्यक्ष पनि हुनुहुन्छ ।

No comments:

Post a Comment

watch first and then search