watch first and then search

watch first and then search

Sunday, April 1, 2018

‘कामी भन् तर भेदभाव नगर: दलितहरु सामाजिक संजालमा आफ्नो जात नलुकाउ’ : रुपा सुना

कसैले नाम के हो भनेर सोध्यो भने गर्वका साथ भन्न सक्दैनौँ कि म फलाना बि.क हो भनेर । साथै सामाजिक सञ्जालहरुमा पनि आफ्नो नाम खुलाएर राख्दैनौँ । हामीले यसरी खुलेर आफ्नो परिचय नदिन अरुले हैन्, हामी आफैले आफैलाई सानो सम्झिएको र आफ्नो जातप्रति गर्व नभएको जस्तो देखिन्छ । तसर्थ, कसैले नाम सोध्दा ढुक्क भएर म फलानो (वि.क, नेपाली , परियार) भन्न सक्नुपर्छ । ढुक्क भएर भन्न सकौँ कि मलाई दलित भन् तर दलितको नाउँमा विभेद नगर । केहि समय अगाडिको कुरा । जुन मनमा काँडाझैँ बिझेर बसेको थियो । आज फेरि याद आयो । म एउटा कार्यक्रममा गजल भनेर मञ्चबाट तल आउँदै थिए, छेउमा मेरै कुरा गरिरहेको आभाष भयो । थोरै कान टाठो बनाएँ, साँच्चै मेरै कुरा गरिएको रैछ । त्यतै अल्मलिएर आफ्नै सुरमा बसेझैँ गरी एकछिन उहाँहरुको कुराकानी सुनेँ । ‘यै केटी हो नि अघि गजल भनेकी, मान्छे पनि राम्री कति टाँठी, अनि कति मिठो गजल भनेकी’ एउटी आन्टीले भन्दै हुनुहुन्थ्यो । अर्को आन्टीले त्यसमै थपिहाल्नु भयो ‘त्यै त कस्की छोरी रैछे, टाठी रैछे !’ जवाफमा अर्को आन्टीले भन्नुभयो ‘फलना कामीको छोरी हो नि ! आश्चर्य माने जस्तो अनुहार बनाउँदै अर्को आन्टीले भन्नुभयो– हो र ? ‘यति टाठी अनि राम्री पनि कामीकी छोरी पो रैछे है ! ‘विचरी जति टाठी भएपनि क्यारोस कामीको छोरी न परिछ ।’ तीस-पैँतिस वर्षको जस्तो देखिने ४/५ जना महिलाहरुको समूहबाट यस्तो सुनेँ । एकछिन मन खिन्न भयो । मनमनै धेरै कुरा सोच्न पुगेँ । मलाई लाग्थ्यो, समय बदलिएसँगै हाम्रो समाज पनि बदलिँदै गएको छ । मानिसहरुको नकरात्मक सोच पनि बदलिँदै गएको छ । समाजले तल्लो जातिको दर्जा दिएका हामी दलितहरुप्रति हेर्ने नजर बदलिएको छ तर होइन रहेछ । सोच बदलिएको त कानुनमा अनि भाषणहरुमा मात्र रहेछ । साँच्चै हामी दलितहरुप्रति ठूला जात भनाउँदाहरुले हेप्नुमा या भनौँ हामी पछाडि पर्नुमा र हामीलाई एकदमै तल्लो दर्जाको सोच्नुमा समाजको सोचको दोष हो या हाम्रो आफ्नै पनि कमजोरी ? यो विषयमा मैले धेरैपटक नसोचेको पनि हैन् । जातिय छुवाछुतविरुद्ध आन्दोलनहरु नभएका पनि हैनन्, थुप्रै आन्दोलनहरु भइसके प्रतिफल स्वरुप केही मात्रामा घटेको पनि छ । तर, म यो पाउँदिन कि मानिसहरुले सोचमा परिवर्तन ल्याएका छैनन्, सबै मानिस उस्तै हो भनेका छैनन् । दलितलाई छुवाछुत गर्न देखावटी रुपमा मात्र बन्द गरेका छन् । जुन सबैलाई समान सोचेर नभई कानुनको डरले । मैले खोजेको परिर्वतन यो होइन् कि मानिसहरु कानुनको डरले दलितप्रतिको भेदभाव कम गरुन कामी, दमाइ, सार्की भन्न छाडुन् । मैले खोजेको परिवर्तन त यो हो मलाई (दलितलाई) कामी भनियोस् तर कामीको नाउँमा बिभेद नगरियोस । सबै मानिस उस्तै हो, सबैले सबैको सम्मान गर्नुपर्छ, धर्तीमा दुई जात छन् ती हुन् महिला र पुरुष । अरु सबै समान हौँ भन्ने सोच मानिसहरुमा चाँडै आओस यो नै हो मैले चोहेको परिवर्तन । त्यो पनि कानुनको डरले हैन् । दलित भन्ने बित्तिकै नराम्रो, फोहोरी, नपढेको मात्र हुन्छन् भन्ने सोच हटोस्, सुकिलामुकिला देख्नै बित्तिकै तिमी साँच्चै दलित हो र ? सानो जात जस्तो त कत्ति पनि नदेखिने, कति राम्रो भन्न छोडियोस् । यो प्रसङ्ग मैले किन जोड्दै छु भने म आफैले पनि पटकपटक नाम रुपा सुनार हो भन्दा नपात्याएर उल्टै बाबा आमा दुबै जना सुनार हैन् होला न्,ि मिक्स होला भनेकोसम्म भोग्दै आएकी छु । अझ कतिले त यस्तोसम्म पनि भनेका छन्– ‘तिमी सुनार हैन्, सुनारहरुले यति खुलेर कहाँ भन्छन र तल्लो जातिहरु त आफ्नो जात भन्नै डराउँछन् ।’ आफ्नो परिचय दिँदा यस किसिमको समस्याहरु मैले धेरै पटक भोगिसकेकी छु । हो, मलाई लाग्छ हामी दलितहरुको कमजोरी यहीँनिर हामी खुलेर अगाडि आउन सक्दैनौँ । हामी आफ्नो जातप्रति गर्व गर्दैनौँ, जसरी अन्य तथा जनजातिले गर्छन । जातिय विभेदको घेरालाई नागेर खुलेर आफ्नो पहिचान हामी दिदैँनौ । त्यसकाराण पनि हामी पछाडि परेका छौँ । कसैले नाम के हो भनेर सोध्यो भने गर्वका साथ भन्न सक्दैनौँ कि म फलाना बि.क हो भनेर । साथै सामाजिक सञ्जालहरुमा पनि आफ्नो नाम खुलाएर राख्दैनौँ । हामीले यसरी खुलेर आफ्नो परिचय नदिन अरुले हैन्, हामी आफैले आफैलाई सानो सम्झिएको र आफ्नो जातप्रति गर्व नभएको जस्तो देखिन्छ । तसर्थ, कसैले नाम सोध्दा ढुक्क भएर म फलानो (वि.क, नेपाली , परियार) भन्न सक्नुपर्छ । ढुक्क भएर भन्न सकौँ कि मलाई दलित भन् तर दलितको नाउँमा विभेद नगर ।
मेरो यो लेख पढिरहँदा समाजले ठूला जातको दर्जामा राखिदिएपनि सबैलाई समान सम्झेर जातिय विभेदको घेरा तोड्न सहयोग गर्ने केही साथीहरुको मन दुख्न सक्छ । तर अझै पनि ८० प्रतिशत मानिसहरुको सोचमा परिवर्तन आएको छैन् । जसले गर्दा दलितहरुले विविध समस्याहरु खेप्दै आएका छन् । हामी सबैले आफनो ठाँउबाट यसका लागि सकारात्मक कदम चाल्ने हो भने छिट्टै यो दिन पनि आउने छ कि हाम्रो देशमा पनि जातिय छुवाछुत हुन्थ्यो रे नि कुनै बेला । साँच्चै म यही दिनको पर्खाइमा छु । – यो पनि पढ्नुहोस : ‘जातमा सानो ठुलो कोहि हुन्न: काटे एउटै रगत आउँछ, मरेर सबै खरानी हुने हो ’ : सिमा बस्नेत – सिमा बस्नेत आज दलितको बारेमा लेख्न मन लाग्यो । कसले कस्ले बनायो मान्छेलाई दलित ? को हो दलित ? किन हेपिन्छ दलितलाई ? सानो जाती, दलित जातीको अस्तित्व ,पहिचान त प्राचीन शास्त्रीहरुले राखेर गए । यसमा कसको के दोष छ र ? कामको आधारमा मान्छेको पहिचान सानो जातीले गर्नुपर्ने भनेर बाड्फाड गरिदिए । के यसमा न्याय भयो र ? ठूला जाती कस्तो हुन्छ ? ठुला जातीको अस्तित्व र पहिचान कस्तो हुन्छ ? बुज्न बाँकी रहेछ अझै । अझै ठूला जातीको रंग कस्तो हुन्छ ? उनीहरुको भेष कस्तो हुन्छ ? परिवेश कस्तो हुन्छ ? बुझ्न सकेकी छैन । यो २१ औं शताब्दी हो । कुनै प्राचीन समय होइन । हाम्रो समाजमा अझैपनि जनचेतनाको अभाव छ । काटे रगत आउँछ । निचारे आँसु आउँछ । मेरो बुझाइ मैले देखेकी सत्य- तथ्य घटनामा मेरो आँखा सामु हेपिन्थियो दलितलाई । सानो छँदा गाउँ-घरमा जस्तो सुन्थें मेरो अँखासामु त्यस्तै नमीठो व्यवहार गर्दा गर्दा म एक कुनामा बसेर रुने गर्थे । म ८-९ बर्षको हुँदा हुदा मेरा दलित भनिएका साथीहरु धेरै थिए । एउटै स्कुल पढ्ने साथीहरु । मेरा लागि सबै जातिका साथी बराबरी हुन्थे । मेरो स्कुल घरबाट टाढा भएकोले म खाजा खान मगर र बिक साथीको घरमा जान्थे । मलाई त्यो हरेक पलको सम्झना छ अझै । उनीहरुले मेरो हात समातेर तानातान गर्थे । म दुबैको घरमा जान्थें । ८-९ बर्षअघिको कुरा हो यो । म जब बिक साथीको घरमा जान्थें तब मेरि साथीकी ममि कति खुसी देखिनुहुन्थ्यो । मलाई खाजा पानी दिदा नछोइकन दिने गर्नुहुन्थ्यो । तर मलाई यो पटकै मन पर्दैनथ्यो । म साथीसँगै एउटै थालमा खाजा खान्थे । साथीकि ममिले मैले खाजा खाएको कसैले देखेको छ कि भनेर दायाँ- बायाँ हेर्नुहुन्थ्यो । म उहाँको मुखमा टुलुटुलु हेर्थें । मलाई कति नरमाइलो लाग्थ्यो । म सधै खाजा खान मेरी बिक साथीको गर जान्थें । हामीले बयर चोरेर खान्थ्यौं । गाउँमा मसंगै पढ्ने साथी, बिक साथीको घरमा जाँदैथें । बयर खानचाहिं गइन्थ्यो । तर घरमा जान अलि मान्दैनथे । तर मचाहिँ हासीहासी जान्थे । मेरा अरु तामाङ र मगर्नी साथी, बिक साथथीको घरमा जान डराउँथे । किनकि उनीहरुलाई आमा-बाबाले गाली गर्नुहुन्छ भन्थे । मलाइ अझै पनि सम्झना छ । एक दिन म बिक साथीको घरमा गएको कुरा घरमा मेरो हजुरबुवाको आमा, अर्थात मेरो जिजुमुमाले थाहा पाउनुभयो । उहाँले मलाई बिहानको एक छाक खानै दिनुभएन । म त्यतिकै स्कुल गएँ । म सानो छँदा बिक साथीको घरमा जाँदा मलाई तिर्खा नलागे पनि म पानी मागेर पिउने गर्थे । किनकि मैले पिएको पानीमा बिक साथीको परिवार खुसी देख्थें । मेरा अरु जातीका साथीहरु बिक साथीको घरमा जान मान्दैनथे । तर म हाँसीहाँसी साथीलाई एकपलपनि तिमी सानो सातिको छैनौ भनी महसुस गराउंथें । उनले मलाई भन्थिन्, ‘तिमी ठूलो जातको भएपनि मलाई कति माया गर्छौ है सिमा । म ठूलो कसरी भएँ ? मलाइ नै थाहा थिएन । उनी त मेरी दिदि थिइन् । भय तिमी म भन्दा दिदी छेउ , मेरो लागि तिमी नै ठूलो हौ भन्थे। तेस्तै गरि म रुयको दिन अर्को मेरि एउटि सरिता बिक साथी सिन्धुलीबाट म र मेरो दुईवटी तामाङ साथीलाई भेटन आइन् । उनीहरु त डरले काम्न थाले । साथीचाहिं भन्ने तर घरमा हुल्न भने नमान्ने । त्यति टाढाबाट आएकी साथीलाई फर्केर जाउ भन्नपनि कसरी भनूँ । मैले केही उपाय नपाएपछि साथीलाई जात ढाट्न लगाएं । त्यतिखेर आमाबाबा काठमाडौ आउनुभएको थियो । म, जेठो मामा अनि कान्छी सानीमा घरमा थियौं । म अलपत्र परें । घरमा लैजाउ मलाई नै निकल्ने डर मैले साथीलाई तिम्रो जात ढाँट भनें । साथीले बिकलाई राइ बनाइन् । मैले मेरो घरमामा लगेर खाना खुवाएँ । संगै सुताएं पनि । त्यो पल रमाइलो नै भयो । तर गाउँमा हाम्री साथी तल्लो जाती भन्ने कुरा कहाँबाट थाहा पाएछन् कुन्नी, त्यसको २-३ दिनपछी त मेरै बेइज्जत गराइयो । गाउँका बुडापाका भनाउदाहरुको गाली सबै मैले खाएँ । मलाई यो सब कुरा देख्दा धेरै रुन मन लाग्यो र रोएँ पनि सानैदेखि जीवनमा दु:ख पाएको भएर होला, मान्छे सानी भएनि म अरुको दु:ख सुखमा साथ दिन्थे । मलाई सानैदेखि हरेक कुराको सहि-गलत थाहा हुने गर्थ्यो । मरि लानु केही छैन । मान्छे जातमा सानो ठुलो कोहि हुन्न । विचारमा सानो ठुलो हुने हो । यो दुनियाँ आज होकि भोलि टुंगो हुदैन । काटे एउटै रगत आउँछ । मरेर सबै खरानी हुने हो । यो समाजमा जनचेतना जगाउनु अति आवश्यक छ । सबैको सोचमा परिवर्तन लयाउनु आवश्यक छ । जय नेपाल, जय नेपाली । (अर्थ सरोकार डटकमका लागि सिमा बस्नेतको ब्लग)

No comments:

Post a Comment

watch first and then search