watch first and then search

watch first and then search

Friday, December 2, 2016

सुन्तलाबाट मनग्य आम्दानी



गाउँको जग्गा छाडेर सहरतिर बसाइँ सराइ गर्ने तयारीमा रहनुभएका गल्धा गाविस– ६, बहपुरका ६० वर्षीय मानबहादुर ढेँगा मनग्य आम्दानी हुन थालेपछि गाउँमै बसेर सुन्तलाखेती गर्न थाल्नुभएको छ । रामपुर नगरपालिका बेझाङ बजारमा घर बनाइसक्नुभएका ढेँगाको गाउँमै सुन्तलाखेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि सहरतिर बसाइँ सर्ने मनसाय एकाएक बदलिएको छ । विगत सात वर्षदेखि बाँझो जग्गामा सुन्तलाखेती गर्नुभएका ढेँगाले अहिले सुन्तलाबाट नसोचेको आम्दानी हुनथालेपछि बसाइँ सर्ने सोच त्याग्नु भएको हो ।


चार सय बोटमध्ये करिब एक सय बोटमा फलेको सुन्तला बिक्री गरी उहाँले वार्षिक रु एक लाख ५० हजारसम्म आम्दानी गरिरहनुभएको छ । “पहिला मकै, भटमास लगाइन्थ्यो, खासै उत्पादन हुँदैनथ्यो, सुन्तलाबाट राम्रै आम्दानी भइरहेको छ,” उहाँले भन्नुभयो ।

सोही गाउँकै किसान तेजन सुनारीलाई यतिबेला सुन्तला बिक्री गर्न भ्याई नभ्याई छ । पाखोबारी नबाँझियोस् भन्ने मनसायले उहाँले एक हेक्टर क्षेत्रफलमा ३०० बोट सुन्तला लगाउनुभयो । दुई मुरी कोदो, मकै, तरकारी नफल्ने जग्गामा अहिले सुन्तलाबाट लाखाँैको आम्दानी हुन थालेको छ । उहाँले वार्षिक रु दुई लाखदेखि रु तीन लाखसम्म आम्दानी गर्नुहुन्छ ।

गत वर्ष उहाँले २५ क्विन्टल सुन्तला बिक्री गरेर रु दुई लाख ५० हजारभन्दा बढी आम्दानी गर्नुभयो । “अन्नबाली लगाएर तीन महिनालाई पनि खान पुग्दैनथ्यो, सुन्तला लगाएपछि घरखर्च राम्ररी चलेको छ,” सुनारीले भन्नुभयो ।

गत वर्षको तुलनामा यस वर्ष उत्पादन बढेको उहाँको भनाइ छ । “यस वर्ष १५० बोटबाट करिब ४० क्विन्टल सुन्तला उत्पादन हुने अनुमान छ,” उहाँले भन्नुभयो । ढेँगा र सुनारी जस्तै गाउँका १५ जना किसानले व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आएका छन् । सिंगो गाउँ नै सुन्तलामय बनेको छ । यहाँ एक घरपरिवारले न्यूनतम ५० बोटदेखि ४०० बोटसम्म सुन्तलाखेती गर्दै आएका छन् । यहाँ उत्पादित सुन्तला रामपुर बजारमा बिक्री हुने गर्छ ।

No comments:

Post a Comment

watch first and then search