भक्तपुर, २६ कात्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भ्रष्टाचार उन्मूलन नगरेसम्म देश विकासमा अगाडि नबढ्ने बताउनुभएको छ । वागीश्वरी माविको ५८ औँ र वागीश्वरी कलेजको नवौँ वार्षिक उत्सव कार्यक्रममा उहाँले भ्रष्टाचारलाई जरैदेखि उन्मूलन गर्न अब जनता नै सक्रिय हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् पूर्व सांसद सुनिल प्रजापतिले देशको कुल बजेटको २४ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्न सके शिक्षा क्षेत्रलाई पूर्ण रुपमा निःशुल्क बनाउन सकिने बताउनुभयो । नेमकिपाका केन्द्रीय सदस्य एवम् सांसद अनुराधा थापा मगरले शिक्षा नियमावलीमा निजी विद्यालय र शैक्षिक माफियाले चलखेल गरेको टिप्प्णी गर्नुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीले जिशिका भक्तपुरबाट प्राप्त गरिब तथा जेहेन्दार र दलित छात्रवृत्ति प्रदान गर्दै २२ बुँदे कार्यक्रम लागू गर्न विद्यालयहरुसँग आग्रह गर्नुभयो । कार्यक्रममा कलेज प्राचार्य धनकुमार श्रेष्ठ र विद्यालयका प्रअ कृष्णप्रसाद धन्छाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै विद्यार्थीलाई सिद्धिबहादुर स्मृति अक्षय कोष छात्रवृत्ति, नारायणी छात्रवृत्ति र शिक्षक कर्मचारी छात्रवृत्ति कोषबाट छात्रवृत्ति वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले जानकारी दिनुभयो । त्यसैगरी प्रवेशिका, दश जोड दुई र स्नातक तहका स्वर्णपदक विजेतालाई पदक तथा पुरस्कार वितरण गरिनाका साथै कक्षा ११ र १२ का विद्यार्थीलाई कक्षागत पुरस्कार प्रदान गरिएको थियो ।
सो अवसरमा विद्यालयमा २५ वर्षभन्दा बढी सेवा गरेबापत प्रअ कृष्णप्रसाद धन्छा, सहायक प्रअ ज्ञानसागर प्रजापति, शिक्षक दामोदर सुवाल र विश्वराम प्रजापतिलाई दीर्घसेवा पदकबाट सम्मान गरिनाका साथै शिक्षक र कर्मचारीबीच भएको आन्तरिक ब्याडमिन्टन प्रतियोगिताका विजयी विद्यार्थीलाई पदक तथा पुरस्कार वितरण गरिएको थियो ।
No comments:
Post a Comment