काठमाडौँ, ८ मङ्सिर, निर्माणाधीन चलचित्र बाहुबली–२ को ९ मिनेटको फुटेज लिक भएको छ । सन् २०१७ मा रिलिज हुने यो चलचित्रको सिन लिक भएपछि पुलिस केश समेत गरिएको छ । फुटेज चोरी गरेको आरोपमा आन्ध्र प्रदेशको विजयवाडाका एक ग्राफिक डिजाइनरलाई प्रहरीले पक्राउ पनि गरिसकेको जनाइएको छ ।
फिल्म सुटिङकै क्रममा रहेका बेला ‘बाहुबली: द कन्क्लुजन’ को फुटेज चोरी गरेको आरोपमा हैदराबादको अन्नपूर्ण स्टुडियोमा काम गर्ने ती डिजाइनर पक्राउ परेका हुन् । उनको नाम भने खुलाइएको छैन । समाचारमा बताइए अनुसार फिल्मको क्लाइमेक्स सिनको फुटेज लिक भएको हो जुन युद्धको सिन थियो ।
फुटेज युट्युवमा भाइरल बनेपछि फिल्मका निर्देशक एसएस राजामौलीले हैदराबादको जुबिली हिल्स पुलिस स्टेशनमा उजुरी दिएका थिए । निर्माण पक्षले यो फिल्मको फुटेज, फोटो, भिडियो, समाचार आदि केही पनि अग्रीम सार्वजनिक नगर्ने प्रतिबद्धता जनाएकै बेला यति ठूलो फुटेज सार्वजनिक भएको थियो ।
सन् २०१५ को सुपरहिट चलचित्र ‘बाहुबलीः द बिगिनिङ’ को सिक्वेलको रुपमा अहिले ‘बाहुबलीः द कन्क्लुजन’ निर्माण भइरहेको छ । यो फिल्ममा साउथका सुपर स्टार प्रभाष र तमन्ना भाटियाको मुख्य भूमिका रहेको बताइएको छ ।
No comments:
Post a Comment