काठमाडौँ, २४ कार्तिक, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सरकार बेरोजगार युवाहरुलाई देशमै रोजगारीको अवसर सिर्जना गर्न लागिपरेको बताएका छन् । बुधबार ने.क.पा. (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । सरकारले गरिबका पक्षमा काम गरिरहेको भन्दै प्रधानमन्त्रीले भने, 'हामी गरिबका लागि सरकार कार्यक्रमलाई रणनीतिक महत्वको कार्यक्रमसहित देशव्यापी बनाउँदैछौँ । युवाहरुलाई रोजगारी र नभए बेरोजगार भत्ताको तयारी गर्दैछौँ, जनता पेन्सन कार्यक्रमको तयारी गर्दैछौँ, लोडसेडिङ अन्त्य गर्ने, राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न उत्प्रेरित गर्ने र विकास खर्च बढाउने गरी काम गरिरहेका छौँ । जनताको पक्षमा गरिएका कामहरुको सकारात्मक रुपमा सन्देश प्रवाह गर्नुहोस् ।'
प्रधानमन्त्री दाहालले आफ्नो आशा युवा विद्यार्थीहरुसँग भएको पनि बताएका छन् । प्रधानमन्त्रीले भने, 'युवा भनेका समाजका उर्जाशील शक्ति हुन् । उनीहरुमा सोच्ने गतिशीलता हुन्छ । मेरो आशा तपाईंहरुसँगै छ । तपाईंहरु जनता, सर्वहारा वर्ग र देशको पक्षमा दृढतापूर्वक अगाडि बढ्नुहोस् ।'
कार्यक्रममा प्रधानमन्त्रीले देशको पक्षमा काम गर्दा विभिन्न कुप्रचारको सिकार हुनुपरेको अनुभव सुनाउँदै भने, 'सरकार देशको पक्षमा काम गर्दैछ, जनताको पक्षमा काम गर्दैछ । हिमाल, पहाड र तराई मिलाएर संविधान कार्यान्वयन गर्ने संकल्प गर्दैछ । आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय एकता हासिल गर्न अगाडि बढ्दैछ । तर, एउटा वर्ग सरकारका कामबाट आत्तिएर कुप्रचारतिर लागेको छ, त्यसको तपाईंहरुले खुलेर प्रतिवाद गर्नुस् । यथार्थ के हो, त्यो जनतालाई भन्नुस् ।'
कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, हितमान शाक्य लगायतले देश र जनताका पक्षमा सरकारले गरेका राम्रा कामहरुको सकारात्मक प्रचारमा कमी भएको भन्दै त्यसलाई गाउँ–गाउँसम्म सन्देश प्रवाह गर्न विद्यार्थीहरुलाई आग्रह गरे ।
No comments:
Post a Comment