watch first and then search

watch first and then search

Wednesday, November 16, 2016

ब्लड क्यान्सर जित्न सर्वस्व सक्दै



डुमरवाना बाराः छिनछिनमै बज्ने मोबाईलको घण्टीले उनको मनमा डर पैदा गर्छ । फोन उठाउने हिम्मत उनि गर्दिनन् । तर उनको आशा अझै जिवित छ । प्रत्येक पटक भारी मन लिएर फोन उठाउने उनि त्यसपछि रुन थाल्छिन् र भन्छिन् ‘जसरी पनि बचाउछु छोरा’ ।

भरतपुरस्थित क्यान्सर अस्पतालबाट ‘मम्मी मलाई बचाईदिनुस’ भन्दै छोराले फोन गर्दा गढीमाई १५ डुमरवानाकी गोमा पौडेल भक्कानिन थाल्छिन् । ब्लड क्यान्सर जित्न अस्पतालको शैयामा नौ महिनादेखी छटपटाईरहेको १८ बर्षिय छोरा युनेशको यस्तो आग्रहले उनलाई भावविह्वल बनाउछ् । हिम्मत जुटाएर छोरालाई सम्झाउछिन् अनि फोन राखेपछि भने उनि आफै कमजोर बन्छिन् ।

युनेशलाई पुरानै स्थितीमा फर्काउन ठुलो रकम खर्च गरिसकेकी गोमा अहिले अन्यौलमा छिन् । उपचारमा लाग्ने आर्थिक रकम जुटाउने चिन्ताले उनलाई सताउन थालेको छ । २० लाख भन्दा बढी रकम नौ महिनामा खर्च भईसकेको छ । अझै तीन बर्षसम्म चिकित्सकको निगरानीमा उपचार गर्न सके छोराको बाच्ने ईच्छा पुरा गर्न सकिने गोमाको भनाई छ ।



‘उसको बाच्ने ईच्छा छ । सधै फोन गर्छ, बचाउनुस भन्छ । म आफुलाई सम्हाल्न सक्दिन अनि रुन थाल्छु’ गोमाले भनिन ‘उपचार महंगो रहेछ, सम्पती बेचेर र ऋण लिएर जसोतसो गर्दै आएका छौ, तर अब सबै बाटो बन्द भईसकेको छ । अब कसरी छोरालाई बचाउने ? ‘

चिकित्सकका अनुसार युनेशको स्वास्थ्यमा निकै सुधार आएको छ । रगत उत्पादन गर्ने क्षमता पनि पहिलेको तुलनामा निकै बढेको छ । बाहिर ईन्फेक्सन हुने सम्भावना रहेकाले अस्पतालभित्रै कोठा लिएर युनेशलाई राखिएको छ । स्वास्थ्यमा खराबी आउनासाथ चिकित्सकले उनको उपचार सुरु गर्ने गरेका छन् । एकपटकको उपचारमा ठुलो रकम खर्च हुने भएपनि चिकित्सकको निगरानीका कारण युनेशको स्वास्थ्यमा आएको सुधारले पौडेल परिवारमा खुशी थपेको छ ।

चिकित्सकको निगरानिमा राख्न र उपचार गराउन अझै १० लाख भन्दा बढी रकम खर्च हुने गोमाको भनाई छ । आर्थिक अवस्था निकै कमजोर रहेको पौडेल परिवारको सम्पतीको नाममा अब १० धुर जमिन र एकतल्ले पक्की घर मात्र बाकी छ ।

खेती गरेर खाने सात कठ्ठा जमिन बेचेर आएको ११ लाख रुपैया उपचारमै सकिएको छ । उपचार गर्न लिएको सात लाख भन्दा बढी ऋण कसरी चुक्ता गर्ने भन्ने चिन्ताले गोमालाई सताउन थालेको छ । मृत्युसंग लडिरहेका छोरालाई बचाउन १० धुर जमिनमा बनेको घर समेत बेच्ने तयारी उनले गरेकी छिन् ।

‘हामीसंग भएको सम्पतीमा यही एउटा घर छ, सर्वश्व बेचेर भएपनि छोरालाई बचाउने प्रयासमा छौ’ गोमाले भनिन् ‘उपचारका लागि कसैले सहयोग गरिदिए छोरा पनि बच्ने थियो र हामी सडकमा पनि जान पर्दैनथ्यो । तर कसले गर्ने सहयोग ?’

राज्यको ढुकुटीबाट देशका नेताले उपचारका लागि ठुलो रकम लिएको समाचार सुन्ने गरेकी गोमा सरकारले सहयोग गरिदिएपनि आफूहरुलाई ठुलो राहत पुग्ने बताउछिन् । ‘नेतालाई उपचारका लागि रकम दिएको सुनिन्छ, सानै सहयोग भएपनि पाउन सके हामी बिस्थापित हुनबाट जोगिने थियौ । ‘

नौ महिना अघि युनेशमा ब्लड क्यान्सर देखिदा सबैले आशा मारिसकेका थिए । तर हिम्मत जुटाएर उपचार सुरु गरेकी गोमा यतिबेला भने अत्तालिन पुगेकी छिन् । उपचारका रकम जुटाउन पौडेल परिवारलाई निकै हम्मेहम्मे परेको छ ।

गोमाकी पति नारायण पौडेल बैदेशिक रोजगारीका लागि दुबई गएका थिए । छोराको स्वास्थ्यमा खराबी देखिएपछि २३ दिनमै उनि फर्किन बाध्य भए । यसअघि दुई बर्ष दुबईमा बसेर कमाएको रकमले बनाएको घर यतिबेला छोराको उपचारका लागि बेच्न पौडेल तयार भएका छन् । ‘अब हामीसंग अरु कुनै बिकल्प छैन, बिदेशमा दुःख गरेर जोडेको घर बेचेर भएपनि छोरालाई बचाउने प्रयासमा छौ’ पौडेलले भने ।

छोरा युनेश र छोरी युनिशाको शिक्षाका लागि खेतीकिसानी छोडेर उनि बिदेश गएका थिए । युनेशले काठमाण्डौको बाफलमा रहेको ग्रिनफिल्ड कलेजमा प्रविणता तह उतिर्ण गरेका थिए । थप शिक्षाका लागि क्षेत्रपाटिस्थित पब्लीक युथ कलेजमा भर्ना भएका युनेश पढ्न भने जान पाएनन् । भर्ना भएकै दिन स्वास्थ्यमा समस्या आएपछि उनि घर फर्किएका थिए ।

शरिर शिथिल भएका कारण उपचारका लागि सिमरास्थित तराई सिमरा अस्पतालमा उपचार गराउदा अस्पतालले फोक्सोमा पानी जमेको भन्दै भरतपुर मेडिकल कलेज पठाएको थियो । मेडिकल कलेजमा एक लाख खर्च गरेर फोक्सोको पानी निकालेपछि चिकित्सकले रगतमा खराबी देखिएको भन्दै क्यान्सर अस्पताल जान सुझाए ।

पति बिदेशमा रहेकाले गोमा आफैले युनेशलाई क्यान्सर अस्पताल भर्ना गरिन् । अस्पताल भर्ना गरेलगत्तै सुरु गरिएको उपचारमा हालसम्म २० लाख भन्दा बढी रकम खर्च भईसकेको छ ।

युनेशको उपचारका लागि भरतपुरमा रहेको क्यान्सर समाजले दुई लाख सहयोग गरेको छ भने जिल्ला प्रशासन कार्यलयको सिफारिसमा अस्पतालले एक लाख छुट दिएको छ । त्यसबाहेक अन्य सबै रकम पौडेल परिवारले जुटाउदै आएका छन् । डुमरवानाका स्थानियले सहयोग संकलन गरेर ६० हजार रुपैया सहयोग गरेका छन् ।

युनेश बचाऔ अभियानमा लागेका स्थानिय बिदुर खड्काले राज्यले सहयोग गरिदिए पौडेल परिवारलाई ठुलो राहत पुग्ने बताएका छन् । खड्काले युनेशको उपचारका लागि भरतपुरस्थित नेपाल कम्युनिटि डेभलपमेन्ट बैंकको खाता नम्बर ००७००००२८३०५ मा सहयोग रकम जम्मा गरिदिन आग्रह समेत गरेका छन् ।

No comments:

Post a Comment

watch first and then search