काठमाडौं, २१ कार्तिक, इलामकी २६ वर्षीया सरस्वती राईको गत फेब्रुअरी ११ मा सिरियाको लताकिया क्षेत्रमा निधन भयो । त्यसबारे इजिप्टको कायरोमा रहेको दूतावासले पत्तो पाउँदा र शवलाई घरफिर्ती गर्ने तथा क्षतिपूर्ति प्रक्रिया पहिल्याउने उपाय खोज्नै झन्डै तीन महिना लाग्यो ।
‘सरस्वतीको शव फिर्ता लैजान र क्षतिपूर्ति माग्न तत्कालका लागि मलाई अधिकार दिइएको थियो,’ सिरिया बोर्डरसम्म आएका दमास्कसवासी उद्यमी मोहम्मद मजेद अल–जायदले भने, ‘तर, कागजी रूपमा मेरो त्यस्तो कानुनी हैसियत नरहेकाले सरस्वतीका घर मालिकले शव लैजान वा क्षतिपूर्ति दिनै मानेनन् ।
उद्धार वा शवफिर्तीको कुनै उपाय नरहेपछि गत अप्रिल अन्तिममा उनको शव यहीं पुरियो, पाउनुपर्ने ४ हजार अमेरिकी डलरको क्षतिपूर्ति पनि त्यत्तिकै गुम्यो ।’
सरस्वतीको राहदानीमा उनका बाबुको नाम कुमार राई र स्थायी ठेगाना महारानीझोडा–९ झापा लेखिएको छ ।
दमास्कसमै अर्का एक ८५ वर्षीय सिरियन नागरिकले झापा घर भएकी २६ वर्षीया एक नेपाली युवतीलाई श्रीमती बनाएको केही वर्ष भएको छ ।
कागज र कानुनमा श्रीमती भनेपछि घरेलु कामदार रहेकी ती युवतीको वर्क–परमिट नवीकरण अथवा अरू कर सेवा शुल्क बुझाउनै नपर्ने स्थिति छ ।
‘केटीको राजीखुसीले यो बिहे गरिएको हो भन्ने आधार कसले खोजिरहने ?’ दमास्कसस्थित एक सरकारी निकायमा कार्यरत अधिकारी भन्छन्, ‘अब यो सिरियाली बयोवृद्ध नमरुन्जेल नेपाली युवतीबारे सोधपुछ गर्ने वा उद्धार गर्न सक्ने स्थिति केही पनि छैन ।’
ती अधिकारीका अनुसार यस्ता युवतीले सामान्यतया ‘कागजी बयोवृद्ध श्रीमान्’का लागि बिना तलब केयर गिभरको काम गरिरहेका छन् ।
अल–जायदका अनुसार पछिल्ला दुई वर्षमा मात्रै ४ सय नेपाली युवती सिरिया पुगेका छन् । ‘अहिले पनि दिनहुँ २–४ जना दुबई, दिल्ली वा लेबनानको बाटोबाट आइरहेका हुन्छन्,’ उनी भन्छन्, ‘सिरिया भित्रिन गाह्रो होला, तर यता आइसकेपछि स्पोन्सर र एजेन्सीले अध्यागमनबाटै कामदारको जिम्मा लिइहाल्छन् ।
तर कुन केटीलाई कहाँ राखिएको छ अथवा कसरी राखिएको छ, कसैले खोजीनीति गर्नै मुस्किल छ ।’ यसका लागि पनि काठमाडौंबाटै सुरु भएको युवती ओसारपसार एजेन्टको सञ्जाल भारत हुँदै केही श्रीलंका, दुबई, जोर्डन र मस्कोसम्म फैलिएको छ ।
यो सञ्जालबारे काठमाडौंमा परराष्ट्र मन्त्रालयलाई पनि लिखित जानकारी आइसकेको भए पनि सिरिया मामिला हेर्ने कूटनीतिक संयन्त्र नरहेका कारण सबै समस्या अल्झेर बसेका छन् ।
सिरिया मामिलासमेत हेर्ने कायरो दूतावासमा उजुरी दर्ता भएअनुसार दमास्कसमा रहेका नेपाली मामिलाका अनौपचारिक समन्वयी मोहम्मद मजेद अल–जायदले नेपाली युवती विनिता चौधरीको घरमालिकसम्म सम्पर्क राखेका थिए ।
चौधरी काम गर्ने घरसम्मै गएर उनलाई घरफिर्तीको पहल गरेका थिए । तर, मालिकले अल–जायदको कुनै ‘कानुनी र कूटनीतिक हैसियत’ नरहेको भन्दै यी युवती फर्काउन अनुमति दिएनन् । अहिले पनि विनिता सिरियामै छिन्, उनको पुरानो फोन सम्पर्क पनि विच्छेद छ ।
No comments:
Post a Comment