watch first and then search

watch first and then search

Thursday, November 3, 2016

भिभिआइपी उडानले डेढ घन्टा प्रत्यक्ष असर






कार्तिक १८, २०७३- नौं वटा मात्रै जेट विमान पार्किङ क्षमता भएको ‘सानो’ अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भारतीय राष्ट्रपति प्रणव मुखर्जीको राजकीय भम्रणका लागि एक घण्टा विमानस्थल बन्द गरियो । यसको प्रत्यक्ष असर कम्तीमा डेढ घन्टा पर्‍यो । उडानहरू एकदेखि डेढ घण्टासम्म डिले भए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बिहान १२ बजेर १० मिनेटदेखि १२ बजेर ५५ मिनेट (४५ मिनेटका) लागि नोटाम (नोटिस फर एयरमेन) जारी गरेको थियो । विमानस्थलका निर्देशक सुधीर चौधरीका अनुसार यो समयभित्र भारतीय राष्ट्रपति प्रणव मुखर्जीको विशेष विमान काठमाडौं अवतरण गर्ने भएकाले अन्य विमानलाई यो समयमा नउड्न सूचना जारी गरिएको थियो । तर, अघिल्लो दिन जारी गरिएको नोटामको समय बुधबार लागू हुन सकेन । विमानस्थलले १० मिनेटअगाडि अर्थात १२ बजेदेखि नै विमानस्थल बन्द गरेर १ बजे मात्रै अन्य कमर्सियल उडान खुला गरेको थियो ।







राष्ट्रपति मुखर्जी इन्डियन एयरफोर्सको बोइङ ७३७ विमानबाट काठमाडौं ओर्लिएका थिए । राष्ट्रपति सवार राजदूत नामको विमानले १२ बजेर २० मिनेटमा अवतरण गर्नुअघि भारतीय सञ्चारकर्मीसहित भीभीआईपी डेलिगेसन बोकेर एयर इन्डियाको चार्टर विमानले बिहान ११ बजेर ३५ मिनेटमा अवतरण गरेको थियो । राष्ट्रपति बोकेर आउने विमान शुक्रबारसम्म काठमाडौंमै रहनेछ भने चार्टर विमान बुधबारै दिल्ली फर्किसकेको छ । राष्ट्रपति चढेर आएको विमानलाई दिउँसो पहिलो पार्किङ–वेबाट आन्तरिक विमानस्थल सँगैको नौ नम्बर पार्किङ वेमा सारिएको छ ।

भीभीआईपी उडानका कारण बुधबार विमानस्थल व्यवस्थापनमा नागरिक उड्डयन प्राधिकरण र ग्राउन्ड ह्यान्डलिङ गर्ने नेपाल वायु सेवा निगमलाई हम्मे परेको देखिन्थ्यो । राष्ट्रपतिको सवारीका क्रममा काठमाडौंको सडक सवारीमा समेत असर पर्ने कारणले बेलुकीको उडान भएका यात्रुहरू बुधबार बिहानै विमानस्थलमा पुग्न बाध्य भएका थिए । पार्किङ वेको अभावले बिहान दिल्लीबाट आएको जेट एयरवेजले ३ जना यात्रु छाडेर उड्नुपर्‍यो ।

‘भीडभाडमा तीन जना यात्रु नै नलिईकन जेट एयरवेज दिल्लीतर्फ उड्यो,’ विमानस्थलका एक अधिकारीले भने । उता, थाइल्यान्डको राजधानी बैंककबाट आएको थाई एयरवेजको विमान ४५ मिनेट आकाशमै होल्डमा बस्नुपर्‍यो । नोटाम जारी भएका बेला आन्तरिक विमान भने उडेनन् ।

राष्ट्रपतिको विमानलाई १ नम्बर पार्किङ–वेमा राखिएको थियो । सुरक्षाका कारण उक्त पार्किङ वेको अघिल्तिरका दुइटा बोर्डिङगेट भएका एक र दुई नम्बर यात्रु वेटिङ रुममा यात्रुलाई बस्न दिइएको थिएन ।

ती दुइटा कोठाको यात्रुको चाप ३ र चार नम्बर वेटिङ रुममा परेको थियो । विमानस्थल खुलेपछि सवा एक बजे इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सले यात्रु र चालक दललाई हिंडाएर जहाज चढाएको थियो ।

‘नेपाल वायु सेवा निगमले ग्राउन्ड ह्यान्डलिङ राम्ररी गर्न सकिरहेको थिएन, उनीहरूको र्‍यामबस नपाइएपछि हामीले यात्रु/चालकदललाई वेटिङ रुमबाट हिंडाएर जहाज चढाउनुपर्‍यो,’ टर्किसका एक कर्मचारीले भने । भीभीआईपीको सवारीको सुरक्षालाई कारण देखाउँदै विमानस्थलले मंगलबारदेखि नै पास पनि रोक्का गरेको थियो ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार, राजकीय भम्रणमा आएका दुइटा विमानमा गरी ६५ हाराहारी यात्रु थिए । राष्ट्रपति सवार विमानमा एक मन्त्रीसहित २० जना थिए भने बाँकी एयर इन्डियाको चार्टर विमानमा थिए । विमानस्थलका एक निर्देशकका अनुसार राष्ट्रपतिको विमानले ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्क तिर्नु पर्दैन । तर यसले यात्रु सर्भिस शुल्क भने तिर्नुपर्छ ।

No comments:

Post a Comment

watch first and then search