watch first and then search

watch first and then search

Sunday, October 23, 2016

भारतमा चम्केका नेपाली नृत्यनिर्देशक



काठमाडौँ, ७ कात्तिक । कोलकातामा जन्मेका नेपाली मूलका दिलीप थापा अहिले त्यस क्षेत्रको नृत्यनिर्देशक बनी त्यस क्षेत्रमा ख्याति कमाउँदै छन् ।

आजभन्दा करिब ५५वर्षअघि नोकरीका सिलसिलामा नेपालको ललितपुर, कोपुन्डोलबाट त्यहाँ पुगेका श्यामबहादुर थापा उतैकी लीलामतीसँग विवाहबन्धनमा गाँसिएपछि सन् १९७४ मे १०९विसं २०३१ वैशाख २७गते० मा हाउडा मैदान, उल्टा डाँगामा दिलीप जन्मिएका थिए । एक्काइस वर्षका उमेरमा स्थानीय ज्ञानमञ्च सभाकक्षमा एक ‘स्टेज सो’हेरेपछि दिलीप यस क्षेत्रमा गाँसिन पुगेका हुन् । स्थानीयवासी गुरु प्रदीप राणाबाट चार पाँच वर्ष आधुनिक नृत्य सिक्नुभएका दिलीपले पछि रवीन्द्रनाथ विश्वविद्यालयका गुरु भिआर बंैकिटबाट शास्त्रीय नृत्य भरत नाट्यम, कत्थक कली, रवीन्द्र नृत्य, डाँगियाको ज्ञान लिनुभएको थियो । उहाँ पञ्जाबको भाँगडा, गुजरातको गर्वा डाँडिया, आसामको बिहु, मणिपुरको मणिपुरी, बङ्गालको बङ्गाली नृत्यका साथै पश्चिमी, साल्सा, डिस्को र ब्रेक डान्समा पनि पारङ्गत हुनुहुन्छ ।

उहाँले हालसम्म दशौँँ हजार विद्यार्थी, गृहिणी तथा विभिन्न सङ्घसंस्थाका मानिसलाई बीसौँ हजार कक्षा लिइसक्नुभएको छ । कोलकाता लेन, हाउडामा उहाँको आफ्नै ‘दिलीप थापा नृत्य विद्यालय’ पनि छ । उहाँले श्री जैन विद्यालय, सेन्ट थोमस चर्च स्कुल, डन बस्को स्कुल, ल म्याटिनियर फर ब्वाइज लगायत बैंकहरुमा पनि प्रशिक्षण दिनुभएको छ । गृहिणीहरुलाई वजन घटाउन मद्दत गर्ने एरोबिक्समा पनि उनी निपुण छन् । धेरैजसो भारतीय र कम नेपाली उनीकहाँ प्रशिक्षण लिन जान्छन् । दसैँ, तिहार, भानुजयन्ती आदि कार्यक्रममा प्रस्तुत गरिने नृत्यमा उहाँले नेपाली मूलका बालबालिका तथा किशोरकिशोरीलाई प्रशिक्षण दिनुहुन्छ ।
“नृत्य मानिसका भावना व्यक्त गर्ने कला हो जसले शारीरिक–मानसिक दुवै व्यायाम हुन्छ, नृत्य र सङ्गीतलाई उपचारका रुपमा पनि लिन सकिन्छ”, बडादसैँका बेला नेपाल आउनुभएका बेला रासससँग कुरा गर्दै कोरियोग्राफर थापाले भन्नुभयो ।
नृत्य निर्देशकका हैसियतले उहाँले अल बङ्गाल ट्यालेन्ट सर्च कन्टेस्ट सम्मान, जेसिस डान्स कन्टेस्ट, श्यामल मित्र अवार्ड,मिथुन फ्रेन्डस् एसोसिएसन अवार्ड, मोडर्न फिल्म अकादमी सम्मान, छवि विश्वास स्मृति पुरस्कार, बङ्गला चलचित्र प्रचार सांसद, लियो क्लब अफ बेलुर मठ, बङ्गो सङ्गीत रत्न सम्मान पाइसक्नुभएको छ । नेपालको इनरुवामा विसं २०५९मा मिलन युथ ग्रुपद्वारा आयोजित इन्डो नेपाल कल्चरल प्रोग्राममा पनि उहाँ सहभागी हुनुभएको थियो ।
थापा माइकल ज्याक्सन, मिथुन चक्रवर्ती, प्रभु देवा, सरोज खान, माधुरी दीक्षित, हेमा मालिनी र श्रीदेवीको नृत्य मन पराउनुहुन्छ । उहाँ महादेवको ताण्डव नृत्यलाई विश्वकै पहिलो नृत्य मान्नुहुन्छ ।

उहाँको कोरियोग्राफीका विषयमा कोलकाताका द टेलिग्राफ, हेलो कोलकाता, गणशक्ति, सन्ध्या आजकल, लिपि आदि पत्रिकाले समाचार–आलेख लेखिसकेका छन् । “नाच सिक्न धैर्य र अभ्यास चाहिन्छ, हातखुट्टा र जिउको चालमा सन्तुलन ल्याउनुपर्छ, गीतसङ्गीतसँगै अघि बढ्नुपर्छ, ओठ मिलाउनुपर्छ ।”
हाल आफ्ना आमा, बहिनी, श्रीमती र दुई छोराछोरीका साथ कोलकातामा रहने दिलीप आफ्ना प्रशिक्षार्थीलाई सही शिक्षा दिन र उनीहरु अगाडि बढेको देख्न चाहन्छन् । पछि नेपालमै आई नृत्यविधामा संलग्न हुने पनि उनको योजना छ ।

No comments:

Post a Comment

watch first and then search