कतिले चाहिं सम्पन्नै भए पनि हैसियतअनुसार दिन पनि कन्जुस्याइँ गर्छन् । देउसी–भैलो खेल्दा कसले कति राम्रो वा मीठो शब्दले भट्याएर वा गाएर घरबेटीलाई प्रभावित पार्न सक्छ त्यसले पनि दक्षिणा कति झर्छ भन्ने निर्धारण गर्छ । अन्तिममा दिइने आशीवार्दले पनि सकारात्मक भाव उत्पन्न गराउँछ ।
केटाकेटी छँदा थोरै पैसा दिए भने वा ढोका खोलेनन् भने आशीर्वादको ठाउँमा भुतभुताउँदै हिंड्नु वा उपद्रो गर्नुको रमाइलो पनि बेग्लै हुन्छ । कति घरबेटीमा चाहिं पैसा दिनुपर्छ भनेर निदाइसकेको बहाना बनाएर बेवास्ता गर्ने बानी हुन्छ । सम्पन्न घरमा जाँदा पैसा धेरै संकलन गर्न दस जनाको समूह छ भने पाँच/पाँच जना भएर बेग्ला–बेग्लै देउसी खेल्ने जुक्ति पनि धेरैले लगाउँछन् ।
तिहारमा जुवा–तासमा रमाउने वयष्कहरू पनि उत्तिकै हुन्छन् । अहिले गैरकानुनी मानिन्छ, तर राणाकालमा त तिहार सुरु भएपछि जुवा फुकुवा गर्ने चलन थियो । रमाइलो गर्न चाडका बेला सीमित स्तरमा खेल्ने चलन एकातिर छ भने घरखेत नै जुवामा हारेर विचल्ली भएका उदाहरण पनि उत्तिकै सुन्न पाइन्छ ।
अझ बूढापाकाहरू त महाभारतमा जस्तै फलानाले श्रीमतीसमेत जुवामा हारेर फलानोले लगेको हो नि भनेर कहानी सुनाउन पछि पर्दैनन्, जुन कदापि राम्रो होइन । जुवातासमा सबैलाई जितौंला भन्ने नै हुन्छ । जुवा खेल्ने क्रममा जित्नेलाई अझ जितौं भन्ने लाग्छ भने हार्नेलाई भुइँको टिपौंला भन्दाभन्दै गोजीको पनि रित्तिइसक्छ ।
सानो खेल खेल्दा होस् वा ठूलो खेल खेल्दा उमंग र तनाव उस्तै हुन्छ । कत्तिको चाहिं अरूले खेलेको हेरेर धीत मार्ने बानी हुन्छ । कतिको जितौरी पाइएला भनेर जित्नेको छेउमा बस्ने उसको पैसा गन्दिने, चिया–चिसोको चाँजो मिलाइदिने बानी हुन्छ । जुवामा च्याँखे थापेर रमाइलो गर्नेहरू पनि उत्तिकै हुन्छन् । दसैं–तिहारमा लङ्गुर–बुर्जा खेल्ने चलन पनि छ ।
केटाकेटी तथा पाका उमेरकाहरू यसमा अलि बढी रमाउँछन् । पहिले त महिलाले जुवातास खेल्न हुँदैन भन्ने थियो, तर समयक्रमसँगै हिजोआज तास खेलेर आनन्द लिन महिलाहरू पनि पछि पर्दैनन् । खेलसँगै मदिरा सेवन गर्ने बानी पनि धेरैमा हुन्छ जसले उत्तेजना बढाएर झगडासमेत निम्त्याउन सक्छ । ख्यालख्यालमै खेलले हिंसात्मक मोड लिएका कैयन् उदाहरण छन् ।
त्यसैगरी बजारमा व्यापारीहरूको दाउ भने कसरी फूलमाला, मरमसाला, फलफूल, झिलीमिली बत्ती, पटाका, कपडा, मदिरा आदिको व्यापार बढाएर पैसा कमाउने भन्ने हुन्छ । चाडवाडमा धेरैले धक फुलाएर खर्च गर्ने भएकाले अनेक खालका छुट दिएर व्यापारीहरूले ग्राहक आकर्षित गर्छन् । सहरबजारका व्यापारिक स्थलमा लाखौं खर्च गरेर सिँगारपटार गर्ने तथा झलमल्ल पार्ने होडबाजी नै चल्छ ।
लक्ष्मीपूजा गरे धन बढ्छ भनेर घर, कार्यस्थलको सरसफाइ गरी साँझ पूजाआजा गर्ने चलनले धेरै मानिसमा धनको लालसा हुन्छ भन्ने देखाउँछ । नेपालमा हिन्दूहरूको बाहुल्य भएकाले दसैंतिहारमा अर्थतन्त्र चलायमान हुन्छ र सबैमा यही मौकामा कमाउनुपर्छ भन्ने ध्याउन्न हुन्छ ।
भाइटीका लगाउँदा दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा दिने चलन छ, तर नचाहिंदो रवाफ देखाउनुचाहिं आडम्बर सिवाय केही होइन । पैसा र उपहारका लागि भन्दा पनि दिदीबहिनी एवं दाजुभाइमा आपसी प्रेम तथा भावनात्मक सम्बन्धलाई बलियो बनाउन तिहारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।
खाए पनि खेले पनि रमाइलोका लागि हो भने हानि गर्दैन तर स्वास्थ्य नै बिग्रने गरी परिवार र आफैंलाई तनाव हुने गरी खानु–खेल्नु तथा परिवार–समाजमा कलह निम्त्याउनु एवं झैझगडा गर्नुचाहिं कसैको हितमा हुँदैन । कमाउने सबैको दाउ हुन्छ तर दाउ हान्दैमा पर्छ नै भन्ने छैन । चाडबाडका मौलिकतालाई संरक्षण गर्दै स्वस्थ तरिकाले कमाउने र चाडबाड मनाउने संस्कारको विकास गरौं— सबैलाई तिहारको शुभकामना ।
No comments:
Post a Comment