मौसम परिवर्तन भई जाडोको सुरुवात भएसंगै बालबालिकाहरुमा संक्रमण बढ्न थालेको छ । स्वासप्रस्वास रुघाखोकी र झाडापखाला जस्ता समस्या लिएर अस्पताल पुग्ने बालबालिकाको संख्यामा वृद्धि भएपछि बालबालिकाको स्वास्थ्यप्रति सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन् ।
राजधानी लगायतका स्थानहरुमा जाडोको मौसम सुरु भैसकेको छ । जाडो मौसममा रुघाखोकी, निमोनिया,दम, ब्रोंकाइटिस,चिसोको एलर्जी, छालाको समस्या, कोल्ड डायरिया आदिले बालबालिकालाई एकदम छिटो असर गर्दछ ! अहिले कान्ति बाल अस्पतालमा पुग्ने बिरामी बालबालिकाको संख्यामा वृद्धि भएको छ । दशैं विदाको कारण ओपिडी बन्द भएको समयमा पनि यो हप्ता कान्ति बाल अस्पताल पुग्ने बालबालिकाको संख्या १ हजार ४ सय ९८ रह्यो । विहीवार र शुक्रवार करिब ९ सय बिरामी बालबालिका कान्ति बाल अस्पताल पुगेका छन् । चिकित्सकहरुका अनुसार अस्पताल ल्याइएका बिरामी बालबालिकामध्य अधिकांशमा स्वासप्रस्वास र रुखाखोकीको समस्या बढी देखिएको छ ।
बालबालिकालाई घरमै राम्ररी हेरचाह गरेमा साथै खोपको मात्रा पूरा गरेमा पनि श्वासप्रश्वासमा हुने समस्याबाट जोगाउन सकिने चिकित्सकहरु बताउँछन् । रुघाखोकीबाट जोगाउन ६ महिना पूरा भैसकेका बालबालिकालाई इन्फ्लुएन्जा भ्याक्सिन, निमोनियाबाट जोगाउन निमोकोकल भ्याक्सिन लगाउन सकिनेछ । साथै दादुरा र रुबेला विरुद्धको खोप लगाएमा पनि बालबालिकालाई स्वासप्रश्वाससम्बन्धी रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ । अहिले गर्मी सकिएर जाडोको सुरुवात भएकोले बदलिँदो मौसममा भाइरल इन्भेक्सन हुने सम्भावना बढी हुने हुँदा यो बेला बालबालिकाको स्वास्थ्यप्रति अझ बढी सचेत बन्न चिकित्सकहरुले सल्लाह दिएकाछन्
बाल बालिकामा प्रतिरोधी क्षमता कम हुने र इन्फ्लुएन्जा भाइरसले छिटो आक्रमण गर्ने हुँदा बालबालिकाको स्वास्थ्यप्रति बढी सतर्कता अपनाउन आवश्यक छ । त्यसक्रममा बालबालिकाको पहिरन खानपानमा र सरसफाईमा बिशेष ध्यान दिन आवश्यक छ । कुनै स्वास्थ्य समस्या देखिएमा अबेला नगरि तुरुन्त चिकित्सककोमा लगेर स्वास्थ्य परीक्षण गराइहाल्नुपर्दछ ।
No comments:
Post a Comment