राष्ट्रिय संवत् नेपाल संवत् न्हूदँ समारोह समितिका प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी नेपाल संवत्लाई उचित सम्मान गर्नुपर्ने लगायत आठबुँदे माग गरेको छ ।
न्हूदँ समारोह समितिका अध्यक्ष एवम् सांसद भीमसेनदास प्रधानको नेतृत्वमा समारोह समितिका पदाधिकारी, सल्लाहकार तथा नेपाल भाषा आन्दोलनका अगुवाको टोलीले प्रधानमन्त्री दाहाललाई उहाँकै कार्यालय सिंहदरबारमा भेटी नेपाल संवत्लाई नेपाली मुद्रा तथा नोटमा प्रयोग गरी व्यवहारमा ल्याउन, राष्ट्रप्रमुख र सरकारी निकायले प्रयोगमा ल्याउने लिखित दस्तावेज, आर्थिक कारोबार गरिने वित्तीय संस्थाको चेकमा नेपाल संवत्को मिति लेखिएमा मान्यता दिन तथा नेपाल संवत्का प्रवत्र्तक शङ्खधर र नेपाल संवत्को अध्ययन अनुसन्धान गर्न सरकारी तवरबाट प्रतिष्ठान गठन गर्न ध्यानाकर्षण गर्न आग्रह गरेको छ ।
यसैगरी साख्वाः र नेपाल संवत्सम्बन्धी पाठ्यसामग्री पाठ्यक्रममा समावेश गर्नुपर्ने, नेपाल संवत् राष्ट्रिय रुपमा मनाउनका लागि राज्यबाटै आर्थिक कोषको व्यवस्था गर्नुपर्ने, काठमाडौँ उपत्यकाका तीनकुने, थानकोट वा शङ्खपार्कमा साख्वाःको पूर्णकदको सालिक स्थापना गर्नुपर्ने माग गरिएको छ ।
सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाल संवत् नेपाल मौलिक संवत् भएकाले यसको विकासका लागि सरकार गम्भीर रहेको बताउनुभयो । सो अवसरमा समारोह समितिका अध्यक्ष प्रधानले नेपाल संवत् नयाँ वर्षका दिन वसन्तपुरमा हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागिता जनाउन प्रधानमन्त्रीलाई निमन्त्रणा गर्नुभयो ।
No comments:
Post a Comment