watch first and then search

watch first and then search

Sunday, October 16, 2016

लोपोन्मुख सखिया नाच संरक्षण गर्न बौं नौवस्ताका थारु युवाहरु सक्रिय



नेपालको तराई क्षेत्रमा बसोबास गर्ने आदिबासी थारु समुदायमा दशैंका बेला नाचिने सखिया नाच पछिल्ला पुस्ताले अनुसरण गर्न नसक्दा लोप हुने अबस्थामा पुगेको छ । कुनैबेला सखिया नाँचले गुञ्जयमान हुने बाँके,बर्दिया,कैलाली कञ्चनपुर र दाङ्ग लगायतका थारुगाउँहरु यतिबेला सुनसान छन् । तर अघिल्लो पुस्तामा गाउँघरमा अनिवार्य रुपमा नाचिँदै आएको सखिया नाच पछिल्ला पुस्ताले बिर्सदै गए पनि बाँकेको नौवस्ताका थारु युवा युवतीहरु भने आफ्नो संस्कृति संरक्षणमा लागि परेका छन् ।


सखिया नाच (Sakhiya Dance)

नेपालको दाङबाट उत्पत्ति भएको दंगाली डगोरा थारु समुदायको प्रमुख नाच सखीया नाच पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेको छ । बाँके, बर्दिया, दाङ लगायत पश्चिम तराईमा थारु समुदायको बाहुल्यता भएका गाउँहरुमा नाचिने थारु सखीया नाच पछिल्लो समय भित्रिएको आधुनिक गीतसंगीतको प्रभावले लोप हुने खतरा बढेको छ । तर बाँकेको नौवस्ता ७ सुतैया गाउँका थारु किशोर किशोरीहरु भने दशैंमा मात्र नाचिने सखिया नाँचलाइ संरक्षण गर्न स्वस्फूर्त रुपमा जुटेका छन् ।थारु समुदायभित्र पनि डंगोरा थारुको प्रमुख नाच मानिने सखिया नाच पहिले कृष्ण अष्टमी देखि सुरु भई विजया दशमीको दिनमा सकिने परम्परा थियो । तर हाल आएर परिमार्जित गर्दै घटस्थापनको दिनदेखि सुरु भएर गीतको कथा नसकिदासम्म नाच्ने गरिन्छ । परापूर्व कालदेखि नाचिदै आएको सखिया नाँचको शब्दको अर्थ साथीहरुसंग लाइनमा मिलेर मादलको तालअनुसार नाँच्नु भन्ने बुझिन्छ । गीतमा कृष्णको जन्मदेखि लिएर कृष्णको प्रेमकथा, कृष्णलिला ,महाभारतमा कृष्णले खेलेको भूमिकाको बखान गर्ने गरिएको नौवस्ताकी विनु चौधरीले बताइन् ।

सखिया नाँचमा विस्तारै आधुनिकतासंगै लाइने भेषभूषा र पहिरन देखि लिएर बाजाहरुमा पनि परिवर्तन हुदै आएको छ । पहिले बाह्र हातको सेतो फरिया, चोली, चाँदीका नथीया, बाला, कल्ली,सिक्काको माला, मादल, झ्याली प्रयोग हुने गरे पनि अहिले ब्लाउज,सेतो लुङगी लगाएर यो नृत्य गरिने गरेको थारु अगुवाहरु बताउँछन् । मादल बजाउने एक जना देखि लिएर ४÷ ५ जना सम्म हुन्छन् भने नृत्य गर्ने किशोरीहरुको दुई लाइन हुने गर्दछ । एक लाइनमा कम्तीमा ५ जना देखि जति जना सम्म पनि हुने गरेका छन् । नाँचमा गीत गाउदा गोडाको चाललाई ध्यानमा राखी गीत गाउने गरिन्छ भने नाँच लाई पैंया लाग्ने भनिन्छ । झ्याली बजाएर हाउभाउका साथ मादलेको पछि पछि युवतीहरु नाच्ने गर्दछन् । सखिया नाच प्राय अविवाहित युवतीहरुले नाच्ने गरेका छन् ।

यसरी अहिलेसम्म मौलिक थारु कला संस्कृति हस्तान्तरण गर्दै जोगाउदै आएकोमा भावी सन्ततीका लागि समेत जोगाउनुपर्नेमा थारु अगुवा भागीराम थारुको जोड छ ।

आफ्नो भाषा,संस्कृति र परम्पराको संरक्षण र प्रवद्र्धन सम्बन्धित समुदायकै अगुवामै भयो भने त्यो निकै प्रभावकारी मानिन्छ । यस अर्थमा मौलिक सखिया नाचको संरक्षणका लागि थारु युवाहरु नै सक्रिय हुनुले सकरात्मक सन्देश प्रवाह गरेको छ ।

No comments:

Post a Comment

watch first and then search