watch first and then search

watch first and then search

Sunday, January 1, 2017

हुन्न लोडसेडिङ : राजधानीमा थपिँदै ४० मेगावाट बिजुली ..खुशी को खबर लाई सक्दो शेयर गरौ



काठमाडौं, पुस १७ – विद्युत प्राधिकरणले राजधानी उपत्यकालाई ‘लोडसेडिङमुक्त राख्ने अभियान’ लाई निरन्तरता दिन शनिबार राति १२ बजे (जनवरी १) देखि नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरबाट थप ४० मेगावाट बिजुली आयात गर्ने भएको छ। यो खबर आजको कान्तिपुरमा बलराम बानियाँले आर्थिक पृष्टमा लेखेका छन्।

सुख्यायामसँगै पानीको लेभल घटै गएकाले नदीको प्रवाहमा आधारित (रन अफ रिभर) प्रकृतिका जलविद्युत आयोजनाको विद्युत उत्पादन कम हुँदै गएकाले राजधानीलाई लोडसेडिङमुक्त राख्न भारतबाट थप बिजुली आयात गरिएको हो।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार भारतबाट आउने थप ४० मेगावाट बिजुली ढल्केबर–हेटौंडाको १३२ केभीको प्रसारण लाइनबाट हेटौंडा र वरपरको क्षेत्रमा पठाइनेछ भने मर्स्याङ्दी कोरिडोरबाट हेटौंडामा पठाइने ४० मेगावाट बिजुली राजधानीमा ल्याइनेछ।

अधिकारीले अंग्रेजी नयाँ वर्षसँगै राजधानीमा ४० मेगावाट बिजुली थपिएपछि काठमाडौं उपत्यका, बनेपा र धुलिखेललगायतका स्थानलाई लोडसेडिङमुक्त राख्न सकिने जानकारी दिए। प्राधिकरणले भारतबाट थप आयात भएको बिजुली प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा (३.६० भारु) मा भारतीय कम्पनी एनभीभीएनसित खरिद गरेको हो।

अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने थप बिजुली ढल्केबर–खिम्ती प्रसारण लाइन हुँदै खिम्ती–काठमाडौं प्रसारण लाइनबाट राजधानी ल्याउने योजना प्राधिकरणको थियो। तर, ढल्केबर–खिम्ती प्रसारण लाइनको निर्माण गर्न बाँकी एउटामात्र टावर बनाउन ढिलाइ भएकाले हेटौंडाको विकल्प रोजिएको हो। उक्त टावर निर्माण भएपछि भारतबाट आयात हुने बिजुली खिम्ती–ढल्केबर प्रसारण लाइन हुँदै राजधानी ल्याइनेछ। प्राधिकरणले आगामी फेब्रुअरी १ देखि थप ४० मेगावाट बिजुली भारतबाट आयात गर्न थाल्नेछ। मुजफ्फरपुर–ढल्केबर अन्तरदेशीय प्रसारण लाइनबाट प्राधिकरणले ८० मेगावाट आयात गरिरहेको थियो।

शनिबार रातिदेखि उक्त प्रसारण लाइनबाट प्राधिकरणले १२० मेगावाट आयात गर्न थालेको छ। फेब्रुअरी १ देखि भने त्यहाँबाट प्राधिकरणले १६० मेगावाट बिजुली आयात गर्न थाल्नेछ।
अधिकारीका अनुसार फेब्रुअरी १ देखि ढल्केबर–मुजफ्फरपुरबाट आयात हुने १६० मेगावाटमध्ये ९० मेगावाट बिजुली राजधानी ल्याइनेछ। नदीमा पानीको प्रवाह घटेर सबभन्दा कम विद्युत उत्पादन हुने समयमा भारतबाट आयातीत बिजुलीमध्ये ९० मेगावाट राजधानी ल्याएपछि माघको तेस्रो सातादेखि फागुन, चैत, बैसाख र जेठमा समेत काठमाडौं उपत्यका, बनेपा र धुलिखेललाई लोडसेडिङमुक्त राख्न सकिने प्राधिकरणका प्रवक्ता अधिकारी बताउँछन्।
प्राधिकरण र एनभीभीएनबीच दुई साताअघि थप विद्युत खरिदबिक्री सम्झौता भएको हो। सम्झौताअनुसार शनिबार रातिदेखि थप ४० मेगावाट बिजुली आउन थालेको हो। प्राधिकरण र एनभीभीएनबीच २०१७ जनवरी १ देखि मेसम्मका लागि विद्युत् खरिद सम्झौता भएको हो। वर्षायाममा भारतबाट धेरै बिजुली आयात गर्नुनपर्ने भएकाले हिउँद र सुक्खायामका लागिमात्र विद्युत खरिद सम्झौता भएको हो।
ढल्केबरमा निर्माणाधीन सबस्टेसन निर्माणमा ढिलाइ भएकाले नेपालको अनुरोधमा भारतको पावर ग्रिड कर्पोरेसनले मुजफ्फरपुरमा १०० मेगावाटको ट्रान्सफर्मर जडान गरिदिएकाले शनिबार रातिदेखि थप ४० र फेब्रुअरी १ देखि थप ८० मेगावाट ल्याउन सम्भव भएको हो।
प्राधिकरणले राजधानी उपत्यकाबाहेक मुलुकका सबै ठाउँलाई समेत लोडसेडिमुक्त बनाउन तथा घटाउन भारतबाट थप १४० मेगावाट बिजुली आयात गर्नेछ

उपराष्ट्रपति पुन पर्यटकीयस्थल कन्याममा



इलाम, १६ पुस । उपराष्ट्रपति नन्दबहादुर पुनले इलामको पूर्वी भेगका पर्यटकीयस्थलहरूको आज अवलोकन गर्नुभएको छ । इलामको चियाबगानसहित पर्यटकीयस्थलको अवलोकनका लागि शुक्रबार साँझ कन्याम आइपुग्नुभएका उपराष्ट्रपतिले पर्यटकीयस्थल कन्याम, समालबुङ र श्रीअन्तु तथा पशुपतिनगरको अवलोकन गर्नुभएको हो ।

सातौं राष्ट्रिय खेलकुद समापन कार्यक्रमपछि उहाँ पहिलोपटक कन्याम आउनुभएको उहाँका प्रेस सल्लाहकार मनोज घर्तीले जानकारी दिनुभयो । उहाँले फिक्कलस्थित गोर्खा टी स्टेट तथा करफोकमा विद्यामन्दिर उच्च माविको समेत अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ । पूर्वी इलामको अवलोकनपछि आइतबार उपराष्ट्रपति झापा फर्कने कार्यक्रम रहेको प्रेस सल्लाहकार घर्तीले जनाउनुभयो ।

एउटा रोमाञ्चक यात्रा पाथीभराकाे :: पूरा पढ्नुहोस्…



ताप्लेजुङ पाथीभरा यात्राबारे थरीथरीका सन्दर्भ सुनेको थिएँ । तीनचार घन्टाको नाक ठोक्किने ठाडो उकालो हिँड्दाहिँड्दै आधा बाटोबाटै तीर्थयात्री फर्किएको । डोकोमा बोकिएर पाथीभरा माईको दर्शन गएको र पूजा सकिएपछि हिँडेर फर्किएको । बोल्न नसक्नेहरू बोल्नसक्ने भएको । सन्तानविहीन आमाबुवा पनि पाथीभराको प्रसाद अर्थात् ‘सन्तान’ पाएर खुसी भएको । यस्तैयस्तै ।
हामी तीन यात्री पाथीभरा दर्शन खातिर काठमाडौंबाट ताप्लेजुङतर्फ लम्किरहेका थियौं । ताप्लेजुङका कुनाकन्दरा र वरिपरि फैलिएका हरियालीले हामीलाई लोभ्याइरहेथे । हामी पाथीभरा मातालाई भेट्न लोभिएका थियौं । आकाशको गड्याङगुडुङ, पहाडको पहिरो र वर्षाले हाम्रो मन भड्काइरहेको थियो, हामी उनै पाथीभराप्रति भक्तिभाव राखेर यात्रामा लम्किरहेका थियौं ।
पाथीभरा माईको अपत्यारिलो तर सत्य ‘महिमा’ सुनेपछि म माताको दर्शननिम्ति आतुर थिएँ, डेढ दशकदेखि । तर, समय र साइत जुरेको थिएन । २०७३ को बडादसैंमा पाथीभरा दर्शन गर्ने लामो समयदेखिको अभिलाषा पूरा गरेँ । अरू बेला दसैंमा पुख्र्यौली थलो पुग्थेँ, यसपालि पाथीभरा माईथानमा पुगेँ । एक दिन श्रीमतीले भनेकी थिइन्, ‘तपाईं र छोरोलाई एकपटक पाथीभरा पुर्याउने मन छ । तर पुगेर फर्किन त्यति सजिलो छैन ।’ अन्ततः यात्रा एक्लैको भएन, तीनैजनाको भयो । श्रीमती भन्थिन्, ‘असोज लाग्दा पनि पानी थामिएको छैन, पहिरो गइरहेकै छ । पहाडी हिलो बाटोमा हत्केलामा ज्यान राखेर हिँड्नु छ । आसपास घरहरू नभएको र अनकन्टार जंगलमा घन्टौं ठाडो उकालो यात्रा गर्न सानोतिनो आँटले पुग्दैन ।’ मैले पाथीभरा मातालाई सम्झेँ र साहस बटुलेर भनेँ, ‘जे त होला ।’


अचानक आकाशमा गड्याङगुडुङ सुरु भयो, चट्याङ पर्यो । पाथीभरा माईस्थानको आसपासमा बज्र कुद्यो । पाथीजस्तै फराकिलो मन्दिर आसपासमा छरिएका भक्तजनहरूले सुन्ने गरी पुजारी कराए, ‘बरखी (आशौच) बारेका कोही भए तुरुन्त मन्दिरपरिसरबाट बाहिर जानोस् ।’ माफी माग्दै एकजना दौडँदै बाहिरिए । बाहिर के पुगेका थिए, उनकै छेउमा बज्र पर्यो ।

तिनलाई केही भएन, तर ती सीडीओको बज्रले ज्यान लियो । बज्र पर्छ तर सबैलाई असर पर्दैन । मान्छे हेरीहेरी पर्छ । यसैगरी मन्दिरपरिसरमा जताततै पैसा छरिएको हुन्छ । कसैले ती पैसा टिपेर लगे तिनलाई अफापमात्रै होइन, ज्यानै जाने बताउँछन् पुजारी ।


एकपटक एक हजार भक्तजन भेला भएको बेला पाथीभरा माईथानको आसपासमा बज्र परेछ । त्यो बज्र एक भक्तका बाबुछोरीमा परेछ । सुनियो, केही दिनपछि दुवैको निधन भयो । भनिन्छ, ‘पाथीभरा माईथानमा रजवती, गर्भवती, आशौच, पापभक्त र लोभभक्तलाई ठूलो क्षति हुन्छ तर कुनै धर्म, लिंग, जात वा सम्प्रदायका मानिसलाई रोक छैन, भेदभाव छैन । माईथान जाँदा भक्तिभाव हुनुपर्छ, मन शुद्ध हुनुपर्छ र शरीर सफा हुनुपर्छ । माईको आशीर्वाद भएन भने बलियो मान्छे पनि माईथानको फेदीमा पुगेर फर्किनु परेको छ ।

पाथीभरा माईथानमा पुर्याएका नबोल्ने बालबालिकाको बोली फुटेको, आँखा नदेख्नेले आँखा देखेको, कान नसुन्नेले सुनेको चामत्कारिक एवं अपूर्व घटना भुक्तभोगीबाट सुन्न पाइयो । भक्तजनले भाकल बुझाउन लगेका पाठी, बोका बीच बाटोबाटै हराएका र मरेका छन् । २०५५ सालसम्म माईका नाममा भक्तजनले चढाएको भेटी कसैले नचलाउने हुनाले चाङ लागेको छ । छरपस्ट भएकाले हिँड्ने ठाउँसम्म छन् । बलिपूजा गर्दा बग्ने रगत कतै भेटिँदैन । बालुवामा पानी हालेजस्तो कता बिलाउँछ कता ?
बूढापाकाको भनाइ छ- माईदेवताको मन्दिरमा जान्छु नभन्नु । भनेपछि पुगेरै छोड्नू । लामो जीवन र दुःखसुख भोगेका बूढापाकाको भनाइमा सत्यता हुन्छ ।


ताप्लेजुङसँग सीमा जोडिएको पाँचथरको सदरमुकाम फिदिमकी कमला गौतमले पहिलोपटक सात दिन र दोस्रोपटक काबेलीबाट हिँडेर चार दिनको पाथीभरा यात्रा तय गरिसकेकी रहिछन् । हामीले पाथीभरा माईको दर्शन गर्ने निर्णय लिएको तेस्रो दिन काठमाडौंबाट झापा बिर्तामोड पुग्यौं । चौथो दिन बिहानै घर गौरादहबाट बुवाआमा त्यहीँ आइपुग्नुभयो । बिर्तामोडस्थित भाइ बालकृष्णको परिवारसहित पाथीभरा माताकै पाउको दर्शन र पूजाआजा गर्न चारआली जाने आमाको प्रस्तावले यात्रामा रौनक थपेको थियो । त्यसअघि मलाई थाहा थिएन, झापामै पाथीभराको पाउ स्थापना गरिएको छ भन्ने कुरा । सुनेको छु, इलाममा पनि पाथीभराको मन्दिर छ ।

अनेक व्यवधान हुँदाहुँदै पनि काठमाडौं-ताप्लेजुङको यात्रा तय भयो । षष्ठीका दिन बिहानै झापाको बिर्तामोडबाट इलाम, फिदिम हुँदै काबेली तरेर ताप्लेजुङको फुङ्लिङटार बजार पुग्यौं । बजार पुग्ने बेलामा पहिराले सातो लियो । केही साताअघि त्यही पहिरोले तीनजनाको ज्यान लिएथ्यो । विविध कारणले तीनपटक जिप परिवर्तन गर्नुपर्यो, सन्काहा ड्राइभर र कवाडी जिपको फन्दामा पर्दा । पानी नरोकिनु र बडेमाका पहिरो छिचोल्दै जानुपर्दा हाम्रो मनमा बेलाबेलामा डरले ढ्यांग्रो ठोक्थ्यो ।

महासप्तमीमा घरघरमा बडादसैंको रौनक थियो, हामी भने त्यो दिन पाथीभरातिर लम्किरहेका थियौं । फुङ्लिङटार बजार भन्नुमात्रको थियो । हिँडिनसक्नु हिलाम्मे बाटो पनि । ब्रह्ममुहूर्तकै समयमा हामी ट्याक्सीपार्क पुग्यौं । चालकले पार्कस्थल र बजारको सडकमा बडो सकसका साथ जिप सुकेटार विमानस्थल हुइँक्याए । ती चालकको मीठो बोलीवचनले अघिल्लो दिनको चालकको छुद्र व्यवहार मेटाइदियो ।

विमानस्थल कटेपछि फेरि सुरु भयो खाल्डाखुल्डी र हिलाम्मे यात्रा । ठाउँठाउँमा जिप पनि चिप्लिन्थ्यो र हामी आत्तिन्थ्यौं । चालक इन्च, इन्च नापेर जिपको गियर फेर्थे अनि एक्सिलेटर दबाउँथे । क्लज पनि सेकेन्ड मापन गरीगरी तलमाथि गर्थे । पाथीभरा पुग्न विमानस्थलबाट दुई दिनको पैदलयात्रा रहेछ । विश्वास र आस्थाकी प्रतिमूर्ति पाथीभरा मन्दिर सदरमुकाम फुङलिङबाट पूर्वउत्तरतर्फ तीन हजार सात सय ९४ मिटर (करिब १२ हजार फिट) को उचाइमा रहेछ ।

बिहान ७ बजेतिर हामीले जिपलाई बिदा गरी पैदल यात्रा सुरु गर्यौं । संयोग भन्नुपर्छ, मौसम पनि खुल्यो । मनभरि डर थियो, लेक लाग्ने ‘साइको’को । दुईपटक पाथीभरा माईथान पुगेकी सहयात्रीसँग चिन्ता थिएन । तीन महिनाअघि झन्डै चार हजार मिटर उचाइमा रहेको डोल्पाको से-फोक्सुन्डो तीनदिने यात्राको ‘ब्याकअप’ले मेरो पनि धेरथोर चिन्ता भगाएको थियो । चिन्ता ११ वर्षीय छोरो अञ्चितको थियो । सरदर तीन÷चार घन्टा उकालो हिँड्नु छ । त्यसमाथि गह्रौं ब्याग पनि थियो । यात्रा सोचेभन्दा कठिन होलाजस्तो लाग्यो । ती सामान त्यहीँ होटेलमा छोडेर हामी उकालियौं ।

आधा घन्टाको बाटो हिँड्न एक घन्टा लागिहाल्यो तल्लो फेदी पुग्दा । ठाडो उकालो र ढुंगे बाटो त बाँकी थियो । मन त गलेको थिएन, तर ज्यान गल्दै गएको थियो । दुई घन्टा लगाएर माथ्लो फेदी पुग्यौं । माथि पुग्दा हामी थकित भइसकेका थियौं । यसअघि त न केही किन्न पाइने थियो । लेक लागे न थन्किने घर नै थियो । माथ्लो फेदी पुगेपछि लेकाली अंगेरी, गोब्रेसल्लो, धुपी र गुँरासका रूख, हाँगा र पातमा छेकिँदै, छलिँदै र भलाकुसारी गर्दै उकालियौं ।

अलि माथिको मालिंगोघारी पुग्दादेखि नै अनुहारमा सातु दल्ने र खाने काम सुरु गर्यौं लेक भगाउन । पानी घुट्याउँदै र भुटेका मकैको सातु मुक्र्याउँदै पाइला गन्न थाल्यौं । बाटोमै भेटिएकाहरू नसकुन्जेल साथ दिएझैं गर्थे तर सक्नेहरू छोडिहाल्थे । वारिपारि हरियाली हामीलाई उकालिन होस्टेमा हैंसे गर्थे ।

आधा बाटो हिँडेर पाथीभरा पुग्न सकिएन भन्दै फर्किएको पनि भेटिए । फुङ्लिङ बजार आइपुग्दा कक्र्याककुक्रुक हुनेहरू पनि भेटिए । तल्लो फेदीबाटै भरिया खोजेर डोकोमा यात्रा गर्नेहरू पनि भेटिए । पाथीभरा पुग्न करिब एक घन्टा बाँकी नै थियो, छोराकै उमेरकी मोटी नानी अपत्यारिलो शैलीमा पेट फुलेर फत्रक-फत्रक पर्दै हिँड्दै थिइन् । उनलाई देखेर मैले सानो यात्रीलाई मोटो छ हिँड्दैन भन्न सकिनँ । सानो भए पनि उसको फूर्ति छुट्टै थियो ।

आधा बाटो कटेपछि श्रीमती कमलाको यात्रा पाइलैपिच्छे कष्टकर बन्दै गए । लेकको ‘साइको’ले उनलाई गाँजेछ । पाँच÷दस मिनेटको उकालोमा घोडेटो त्यो बाटोको दायाँबायाँ कतै काठको त कतै पक्काको बस्ने फलैंचा हरिया टिन लगाएर बनाएकाले यात्रीलाई राहत मिल्यो । एकैछिनको उकालोले असिनपसिन बनाउँथ्यो भने ज्याकेट वा टोपी निकाल्नेबित्तिकै चिसोले कक्रक्क बनाउँथ्यो ।

अञ्चित टाउको दुखेर ‘हिँड्न सक्दिनँ’ भन्न थाल्यो । सबैभन्दा आपत्मा म परेँ, ‘दुई सहयात्रीलाई कसरी पुर्याउने मातासामू ? ‘ बिहान ७ बजे जिप छोडेर उकालो लागेका हामी तीन सहयात्रीलाई २ बज्दा पनि गन्तव्यमा पुग्न हम्मेहम्मे पर्यो ।

पाथीभरा माईको दर्शन गरेर ओरालो लाग्नेहरूलाई सोध्दा भन्थे, ‘अब पुग्नुभयो ।’ ती यात्रीका भनाइबाट हामी सान्त्वना पाउँथ्यौं, उकालिन्थ्यौं । तर हामीलाई त्यहाँ पुग्न आधा घन्टा लाग्यो । फेदीदेखि मन्दिरसम्म डोरो टाँग्दै हिँड्ने सपना कल्पनामा सीमित भयो । हेरेरै चित्त बुझायौं । नाक ठोक्किने उकालोमा सुस्केरा हाल्दै पाइला गन्नु परेथ्यो । २ बज्दा पो पाथीभराको फेरोमा पाइला राखेछौं । बाटो केही तेर्सियो । डाँडोलाई दाहिने पारेर अघि बढ्दा फराकिलो छाती भएको पहाड पुग्यौं ।

पाथीजस्तै फराकिलो र मनमोहक डाँडोमा पुगेर पश्चिम हेर्दा हिमालयहरू सामुन्ने आएझैं लाग्यो । कुम्भकर्ण र आसपासका हिमशृंखला हाम्रो स्वागतका लागि जर्याकजुरुक उठेझैं देखिए । कुम्भकर्ण हिमालसँग कुम ठोक्किन खोज्दा सात घन्टाको उकालो हिँड्दाको थकान कता हराएछ कता ? फुत्त उफ्रिएर कुम्भकर्णको कुममा चढौंचढौं लाग्यो । कञ्चनजंघाका भिराला फाँटहरूमा चिप्लेटी खेल्ने रहर पलायो ।


पाथीभराको बारेमा पुजारी डिल्ली आचार्यको भनाइ यस्तो छ- परापूर्वकालमा उभौली-उधौली मनाएर फर्कने क्रममा पाँचजना गोठालाले करिब पाँच सय भेडा त्यही डाँडामा राखेछन् । ती गोठालाले भेडा र मान्छे बस्ने गरी गोठ बनाएछन् । एक दिन बिहान उठ्दा एउटै भेडो पनि थिएन । त्यो अनकन्टार जंगलमा पाँच दिन पाँच रात खोज्दा पनि भेडा नभेटिएपछि उनीहरूले ‘हे परमात्मा, हे माई, करुणाकी सागर, कोही माई या देवता हुनुहुन्छ भने हामीलाई क्षमा देऊ, हाम्रा भेडाहरू हराए, खाने र बस्ने सबै चीज हराए, भेटाइदेऊ ।’

यसरी अलापविलाप गरेर गोठमा सुतेको राति सपनामा पाँच बालिका आएर गोठालालाई भनेछन्, ‘हे गोठाला हो, यहाँ नजिकै भगवती प्रकट हुनुभएको छ । त्यहाँ पाँचवटा शिला छन् । ती शिलालाई दाहिनेबाट देब्रेतिर अबिर, फूल, चन्दन र अक्षताले पूजा गर्नुपर्छ, भेडा भेटिन्छ ।’ गोठालाहरूले सपनामा बालिकाहरूले भनेझैं पूजाआजा गरेछन् भनेछन्, ‘हाम्रा भेडा भेटिए भने हामी रोज्जा भेडा बलि चढाऊँला ।’ पूजा गरेको भोलिपल्ट बिहान भेडाहरू गोठमै भेटिए । यसरी गोठालाहरूले पाँच दिन भेडा खोज्ने क्रममा अनकन्टार पाथीभरा पत्ता लागेको रहेछ ।

अर्का पुजारी टीकाराम पौडेलको भनाइ यस्तो छ- सत्ययुगमा पार्वतीले त्यस स्थानमा बालुवाको लिंग बनाएर भगवान् शिवको उपासना गर्ने क्रममा उनको शरीर त्याक्त भएको थियो । पार्थिव शरीर त्याक्त गरेको ठाउँ हुनाले पछि अपभ्रंश भएर पाथीभरा नाम रहन गएको हो । पृथ्वीमा पहिलो पाइला नै पाथीभरामै राखेको किंवदन्ती सुनाउँदै उनले फेरि भने, ‘पहाडको चुचुरोमा पाथी भरेजस्तो वस्तुस्थितिले पनि पाथीभरा भनिएको पाइन्छ । पाथीभरा माई सात÷पन्ध्र दिनको अन्तरमा सिंहमा सवार भएको नदेखे पनि पाइलाबाट थाहा हुन्छ । उहाँको शक्ति अपरम्पार छ ।’

फर्कंदाको ओरालो धेरैलाई समस्या होइन रहेछ । हिँड्नेलाई उकालो सरदर तीन घन्टाको बाटो रहेछ तर नहिँड्नेलाई आकाशै समान । केहीलाई उकालोले सातो लिने हुनाले गोडा कक्रक्क पार्दो रहेछ ओरालोमा पनि । लेकमा रहेको पाथीभरा मातामा जोकोही पुग्न सक्दैन रहेछ । त्यहाँ पुग्ने त उनै पाथीभरा माईकै भक्तजनमात्रै हुन् । पाथीभरा जान्छु भनेर सोचे वा योजना बनाउने को कति समयमै पुगे त्यो उनीहरू नै जानून्, हामी तीन यात्रीलाई त डेढ दशक लाग्यो । पुग्नै नसकिने तर पुगेपछि बिर्सनै नसकिने पाथीभरासम्मको दुर्लभ धार्मिक यात्रा ‘यात्राहरूमा विशेष’ बन्न पुग्यो ।

राशिफल / २०७३ पौष १७ गते आइतबार



आजको पञ्चाङ्ग

वि.सं. २०७३ पौष १७ गते आइतबार तदनुसार ई. सं. २०१७ जनवरी ०१ तारिख,सौम्य नामक संवत्सर, शाके :– १९३८, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३७, (पोहेलाथ्व)

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५६ बजे र सूर्यास्त : साँझ ०५:१८ बजे

इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४६ बजे र सूर्यास्त : साँझ ०५:१३ बजे

पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०७:०२ बजे र सूर्यास्त : साँझ ०५:२३ बजे

पौष शुक्लपक्षको तृतीया तिथि, दिउँसो ०२:३८ बजेसम्म, त्यसपछि चतुर्थी तिथि,

श्रवण नक्षत्र, दिउँसो ०३:३८ बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र, चन्द्रमा मकर राशिमा, मध्यरात्रीपछि ०३:४९ बजेसम्म, त्यसपछि कुम्भ राशिमा,

हर्षण योग, बिहान ०९:४३ बजेसम्म, त्यसपछि वज्र योग,

गर करण, दिउँसो ०२:३८ बजेसम्म त्यसपछि वणिज करण,

आनन्दादि योग : गद, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : आग्नेय, वारशूल : पश्चिम,

आजको चाडपर्व र उत्सव : अन्तर्राष्ट्रिय नयाँवर्ष सन् २०१७ प्रारम्भ,

आजको मूहुर्त : द्रव्यप्रयोग वा लगानी, दैलो राख्ने,
आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :

भोलिको मूहुर्त : अग्निवास(होमादि),

१९ गते : रुद्राभिषेक(रुद्रीपूजा),

२० गते : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –



समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइसित भेटघाट हुने योग छ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन । आजका लागि शुभअङ्क २ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ भूमिदेव्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –



अर्काको भर पर्नुभन्दा पनि आफ्नै प्रयासमा गरिएका कामले फाइदा हुनेछ । धार्मिक, सामाजिक र पारमार्थिक काममा खट्नु पर्नेछ । साँझपख शुभ समाचार आउन सक्छ । घरपरिवारबाट टाढा बस्नेहरूमा आज अचानक वैराग्यको भावना पलाउन सक्छ । लगानीका क्रममा जान्नेबुझ्ने र अनुभवीको राय लिनु राम्रो हुन्छ । दार्शनिक विषयवस्तुमा मन केन्द्रित हुनसक्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –



बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीर भारि र मन अस्थिर रहने संकेत छ । आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यात्रा नगरेको जाति हुन्छ, चोटपटकको भय हुनेछ वा यात्राका क्रममा झर्कोलाग्दो र धनमाल हराउने सम्भावना पनि देखिंदैछ । परिवारका सदस्य वा नजिकैको साथीले पनि तपाईंका मनका भावना बुझी दिंदैनन् । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सङ्कटाभगवत्यैै नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –



प्रेममा सफलता प्राप्त हुनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –



सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । आजका लागि शुभअङ्क २ र छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –



सन्ततिका क्रियाकलापमा सामान्य समस्या देखिन सक्छन । जानकार व्यक्ति वा गुरुजनले सहयोग गर्नाले आत्मबल बढ्ने छ । बन्दव्यापारबाट लाभ नै हुनेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ । पारिवारिक सहयोग र सद्भावमा कमी आए पनि आफैंले गरेको निर्णय फलदायी हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –



एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । छरछिमेकमा भएका असमझदारीको सुलह हुनेछ । धार्मिक र सामाजिक क्षेत्र एवं मित्रवर्गको सहयोग प्राप्त हुनेछ । बन्दव्यापारमा सोचेजस्तै लाभ लिन सकिने छ । घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –



राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । आम्दानीमा कमी आउने छैन । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । यात्राको सम्भावना छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –



राम्रो÷नराम्रो दुबै खालका परिणाम प्राप्त हुनेछ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका सानातिना फुटकर कामका लागि राम्रो समय छ, तर दूरगामी प्रभावको आर्थिक प्रयोजनका लागि अहिलेको समय सकारात्मक देखिंदैन । दैनिक आम्दानीका मार्गमा बृद्धि हुनेछ, तर मानप्रतिष्ठा र ख्यातिमा आँच आउने सम्भावना छ । घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धनप्रदाय कुबेराय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –



व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –



दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । पतिपत्नीबीचको सम्बन्धमा तितोपन देखिने छ । आर्थिक सङ्कटले सताउन सक्छ । बन्दव्यापारमा मन्दी छाउने छ । समय र नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । रातीअबेर केही अधुरा काम बन्न सक्छन् । स्वास्थ्यमा सुधार आउने छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा पहेंलो बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –



मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक÷सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

watch first and then search