एजेन्सी : सामान्य व्यक्तिको आयु कति वर्षको होला ? धेरै भए ९० वा १०० ? तर इन्डोनेसियामा एक जना वृद्धा भेटिएका छन् । जसको उमेर १४६ वर्ष हो । बयोवृद्ध सपरमान सोदीमेजोसँग इन्डोनेसियन परिचयपत्र छ जसमा उनको जन्ममिति उल्लेख गरिएको छ, ३१ डिसेम्बर १८७० । उनको परिचयपत्रलाई आधार मान्ने हो भने विश्वमा अहिलेसम्मकै सबैभन्दा वृद्ध दावी गरिएकी फ्रेन्च महिला जेयन्ने काल्मेन्ट, जसको १२२ वर्षको उमेरमा निधन भएको थियो, भन्दा उनी निकै अगाडि बढिसकेका छन् ।नाति सुर्यन्तोका अनुसार १२२ वर्षको उमेर पार गरेपछि सोदीमेजो आफ्नो मृत्यूको लागि तयारी गरेर बसेका छन्, तर मृत्यूले उनलाई अहिलेसम्म चियाएको छैन । सुर्यन्तोले भने, ‘उहाँले २४ वर्षअगाडि नै आफ्नो लागि ग्रेभस्टोन (चिहानको स्तम्भ) बनाएर राख्नुभएको छ । हामीले उहाँको लागि चिहानस्थल पनि तयार पारिसकेका छौं जुन उहाँका छोराछोरीको नजिकै हुनेछ ।’

अपत्यारिलो उमेरका बाबजुद यी वृद्ध व्यक्ति अझै पनि आफैं हिँडडुल गर्न सक्छन् । ‘उहाँ जे पनि खानुहुन्छ र अहिलेसम्म बिरामी भएर सुत्नुभएको पनि छैन,’ परिवारका एक सदस्य भन्छन् ।
इन्डोनेसियाली अभिलेख कार्यालयका कर्मचारीले परिचयपत्रका आधारमा उनको उमेर १४६ वर्ष भएको बताएका छन् तर यसको स्वतन्त्र पुष्टी हुन बाँकी छ । उनी इतिहासकै सबैभन्दा वृद्ध मानिस भएको प्रमाणित गर्न उनका कागजातहरुको स्वतन्त्र परिक्षण गर्नुपर्ने हुन्छ ।

उनीभन्दा अगाडि नाइजेरियाका जेम्स ओलोफिन्टुइ १७१ वर्षको र इथियोपियाका धाकाबो एब्बा १६३ वर्षको भएको दावी गरिएको छ । तर उनीहरु दुवैको उमेर प्रमाणित गर्ने कागजात उपलब्ध छैनन् ।
No comments:
Post a Comment