भूकम्पमा ढलेको घर उस्तै
दुई वर्षको जाडो र बर्खा उनले यसैगरी कटाइन् । भूकम्पमा ढलेको घर उस्तै छ । घर बनाऊ भनी सरकारले वितरण गरेको ५० हजार रुपैयाँ उनले दसंैअघि नै पाइन् । तर, घर बनाउन अझै सकेकी छैनन् । ‘घर बनाउन ५० हजार रुपैयाँ त पाइयो । तर, नपुग्ने देखियो । गाउँमा ज्यामी पाइन्न । पाइए पनि एक दिनको ज्याला एक हजार रुपैयाँभन्दा धेरै भन्छन् । ५० हजारले त जग खार्न पनि पुग्दैन । कसरी बनाउने घर ?’ उनी भन्छिन् ।
जग्गाधनी पुर्जा बुझाउँदा पनि ५० हजार अनुदान पाएनन्
गैरीगाउँकै ६० वर्षीय माधव खत्री जस्ताको टहरोछेउबाट फुत्त बाहिर निस्किए । पानीमा रुझ्दै आँगनमा पुगे । दाउरा अँगालोभरि उठाएर टहरोभित्र छिरे । ‘थामी नसक्नु जाडो छ । आगो नबाली रात कटाउनै मुस्किल छ । झन् पानी पर्यो । अब त जाडो झन् बढ्ने भयो,’ उनले भने । भूकम्पमा ढलेको उनको घर अझै ठडिन सकेको छैन । घर बनाउन सरकारले दिएको ५० हजार पनि पाएका छैनन् । राहत रकम पाउन उनले धेरैपटक स्थानीय प्रशासन धाए, तर केही सीप लागेन । प्रशासनले जग्गाधनी पुर्जा माग्यो । त्यो बुझाए । नागरिकता माग्यो । त्यो पनि बुझाए । तर, अनुदानबापतको रकम पाउन सकेनन् ।
यूएसएडको सहयोगमा निर्मित आवास नाम मात्रैका
खन्यूको रुख छेउमा जस्ताले छाएको सानो टहरो टाढैबाट देखियो । टहरोलाई चारैतिर पालले बारिएको छ । पाल थोत्रिसकेको छ । चारैतिर प्वाल नै प्वाल छन् । छाप्रोभित्र छिर्न साँघुरो ढोका छ । ढोकामाथि एउटा स्टिकर टाँसिएको छ । स्टिकरमा ठूल्ठूला अक्षरले लेखिएको छ, ‘भूकम्पपीडितका लागि यूएसएडको सहयोगमा निर्माण गरिएको आवास ।’ टहरोको स्थितिले पुष्टि गर्छ, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले भूकम्पपीडितलाई अवास बनाइदिने भन्दै हल्ला धेरै गरे । तर, काम भने झारा टार्नेबाहेक केही हुन सकेन । यूएसएडको सहयोगमा बनेको छाप्राका धनी ५० वर्षीय शिव पौडेल हुन् । महिना दिनकी सुत्केरी श्रीमतीसँगै उनको परिवार यही छाप्रोमा बस्दै आएको छ । छाप्रो निक्कै साँघुरो छ । अँगेनासम्म अट्ने ठाउँ छैन । त्यसैले पुसको ठिहीबाट सुत्केरी श्रीमतीलाई बचाउन उनलाई निक्कै मुस्किल परेको छ ।
आँगनमै चुलो, छाउने जस्ता छैन
झमझम परेको पानीमा रुझ्दै गैरीगाउँकै ३३ वर्षीय बलराम खत्री आगो बाल्दै गरेको भेटिए । चुलो खुल्ला आकासमुनि छ । ओताउन केही छैन । झमझम परेको पानीले अँगेना भिजाइरहेको थियो । तर, पनि उनी आगो बाल्ने निरन्तर कोसिसमा भेटिए । उनले भने, ‘छाप्रो साँघुरो छ । आगो बाल्ने ठाउँ छैन । आँगनमै चुलो बनाएको । छाउने जस्ता छैन । पानी परे पनि घाम लागे पनि भात यहीँ पकाउनुपर्छ । घाम लाग्दा त केही हुँदैन, पानी पर्दा भने साह्रो बिजोग हुन्छ ।’ सरकारले घर बनाउन दिएको अनुदान रकम उनले पनि लिए, तर भूकम्पमा ढलेको घर अझै ठडिन सकेको छैन । रकमले नपुग्ने भएपछि नयाँ घर बनाउने हो कि छाप्रोमै जीवन बिताउने दोधारमा छन् उनी । उनले भने, ‘अनुदान रकम त पाइयो । तर त्यति पैसाले जग खार्नै पुग्दैन । ज्यामी पनि पाइँदैन । पाइए पनि ज्याला महँगो छ । त्यसैले घर बनाउने कि नबनाउने भनेरे अझै निर्णंय लिन सकिएको छैन ।’अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।
No comments:
Post a Comment