watch first and then search

watch first and then search

Monday, January 2, 2017

२०१७ मा घुम्न छुटाउन नहुने नेपालका १० गन्तव्य



काठमाडौं, १८ पुस ।सन् २०१७ मा घुम्नुपर्ने विश्वको पाँचौं उत्कृष्ट गन्तव्यमा नेपाल पनि परेको छ । लोन्ली प्लानेटले हरेक अंग्रेजी वर्षसँगै आउँदो वर्ष घुम्न विश्वका उत्कृष्ट गन्तव्यहरूको सूची सार्वजनिक गर्दै आएको छ । यस वर्ष सार्वजनिक गरेको सूचीमा दक्षिण एसियाबाट नेपालमात्र परेको छ । यो खबर आजको कारोबारमा छ।

प्लानेटले सार्वजनिक गरेको सूचीअनुसार पहिलो स्थानमा क्यानडा, दोस्रोमा कोलम्बिया, तेस्रोमा फिनल्याण्ड तथा चौथोमा डोमिनिका रहेका छन् । त्यस्तै छैटौंमा बर्मुडा, सातौंमा मंगोलिया, आठौंमा ओमान, नवौंमा म्यानमार तथा दशौंमा इथियोपिया छन् ।

लोन्ली प्लानेटले हरेक वर्ष सार्वजनिक गर्ने यो सूची भ्रमण गरेका पर्यटकको प्रतिक्रिया, भ्रमणका लागि पर्यटकले देखाएको चासो तथा विभिन्न तथ्यांकलाई आधार मानेर तयार हुन्छ ।

गएको वर्षको वैशाख १२ मा गएको भूकम्पले क्षति गरेका पदमार्गहरू पुनर्निर्माण भइसकेको समेत जनाएको छ । नेपालमा घुम्न लायक धेरै ठाउँ रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ ।



प्लानेटले तयार पारेको उत्कृष्ट गन्तव्यका सूचीहरूलाई विश्व पर्यटन संगठनले समेत अनुमोदन गरेको छ । प्लानेटले विश्वभरका पर्यटकलाई सन् २०१७ मा छुटाउन नहुने नेपालका १० गन्तव्य समेत सार्वजनिक गरेको छ ।

नेपालका उत्कृष्ट १० गन्तव्यहरू

रारा
मुगु जिल्लामा पर्ने देशकै सबैभन्दा ठूलो ताल तथा स्वच्छ पानी भएको तालको रूपमा रारा ताललाई लिइन्छ । पछिल्लो समय गाडीमार्फत जान सकिने भएकाले पर्यटकहरूलाई जान र आउन हवाई र गाडी जुनसुकै साधन प्रयोग गर्न सक्छन् ।

पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउन हुन थालेको रारामा पर्यटकलाई जान सहज हुन थालेपछि विदेशी पर्यटकहरू पनि ठूलो संख्यामा जाने आशा गरिएको छ । रारा जानको लागि फागुनदेखि जेठ मध्यसम्म र असोजदेखि मंसिरसम्म उपयुक्त हुने समेत प्लानेटले उल्लेख गरेको छ ।

पुनहिल
नेपालको मुख्य र सबैभन्दा आकर्षक पदमार्ग घान्द्रुक–घोरेपानी–पुनहिल रहेको उल्लेख गर्दै प्लानेटले पुनहिलमा पुगेर दर्जनौ हिमश्रृंखला हेर्न सकिने भएकोले उक्त क्षेत्रको भ्रमणमा जान सुझाव दिएको छ ।

म्याग्दी जिल्लामा रहेको पुनहिल ३ हजार २ सय १० मिटर उचाइमा रहेको छ । अन्नपूर्ण पदमार्ग क्षेत्रको एउटा मुख्य भागको रूपमा रहेको पुनहिलमा ३० वटा होटल छन् । सो क्षेत्रमा एक रातमा ७ हजार पर्यटक राख्न सक्ने क्षमता छ ।

जोमसोम–मुक्तिनाथ
हिन्दू र बुद्धमार्गीको समेत तीर्थस्थल रहेको मुक्तिनाथ क्षेत्र पर्यटकको लागि आकर्षक गन्तव्य रहेको लोन्ली प्लानेटले जनाएको छ । ३ हजार ७ सय १० मिटर उचाइमा रहेको उक्त भ्याल्लीले आन्तरिक र बाह्य पर्यटकको मुख्य गन्तव्य स्थलको रूपमा पहिचान कमाएको छ ।

खप्तड
खप्तड राष्ट्रिय निकुञ्ज नेपालको सुदूरपश्चिम क्षेत्रमा पर्ने चार जिल्लाको संगमस्थल हो । बजाङ, बाजुरा, अछाम र डोटी जिल्लामा रहेको उक्त क्षेत्र १ हजार ४ सय मिटर उचाइदेखि ३ हजार ३ सय ३० मिटर क्षेत्रमा फैलिएको छ ।

खप्तड जानको लागि चैत र वैशाख तथा असोज–कात्तिक महिना उपयुक्त हुने लोन्ली प्लानेटले जनाएको छ । पछिल्लो समय नेपाल पर्यटन बोर्ड तथा पर्यटन व्यवसायी संस्थाहरूले खप्तड जानको लागि स्वदेशी तथा विदेशीका लागि प्याकेजसमेत घोषणा गरेका छन् ।

कोशी टप्पु
कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रलाई लोन्ली प्लानेटले चरा अवलोकनको लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गरेको छ । १ सय ७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको कोशीटप्पु सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको छ ।

सन् १९८७ रामसार सूचीमा सुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४८९ प्रजातिका चरा, २१९ को संख्यामा दुर्लभ अर्ना र दुर्लभ डल्फिनसमेत पाइन्छ । सो क्षेत्र भ्रमण गर्नको लागि पनि पर्यटन व्यवसायीहरूले विभिन्न प्याकेज बिक्री गर्दै आएका छन् ।

इलाम
नेपालको पूर्वी क्षेत्रमा रहेको इलामको मुख्य आकर्षण भनेको चिया बगान हो । रमणीय स्थानमा रहेको बगानले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ । इलाममा चिया बगानको साथै पिकनिक स्पट तथा साइट सिनको लागि आकर्षक स्थान छन् । इलाम जा असोज, कात्तिक, मंसिर तथा फागुन, चैत र वैशाख उपयुक्त मानिन्छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज
बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको मध्य तथा सुदूरपश्चिममा क्षेत्रमा रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्वतिरको तराई प्रदेशमा अवस्थित छ ।

सन् १९६८ मा शाही शिकार आरक्षको रूपमा स्थापना गरिए पनि सन् १९६७ मा करिब ३६८ वर्गकिलोमिटर क्षेत्रफलको उक्त आरक्षणलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा घोषणा गरियो । उक्त क्षेत्रमा जानको लागि हवाई तथा सडक दुवै मार्ग प्रयोग गर्न सकिन्छ । हवाई मार्गमार्फत जान काठमाडौंबाट नेपालगन्जको उडानमा जानुपर्ने हुन्छ ।

लाङटाङ
रसुवाको सौन्दर्य हिमाल, ताल, तातोपानी, थरीथरीका वनस्पति, हाब्रे, हिमालयन थार, लाङटाङ हिमाल (७ हजार २ सय ४५ मिटर) र गणेश हिमाल श्रृंखला अनि हिउँमा रमाउने क्षेत्र लाङटाङ हो । नेपालको तेस्रो गन्तव्यस्थलको रूपमा परिचित लाङटाङ भूकम्पपछि केही सुस्ताएको थियो ।

काठमाडौंबाट १ सय ३२ किलोमिटर बस यात्रापछि स्याफ्रुबेंसी पुगिन्छ । लाङटाङ पैदल यात्रा सोही स्थानबाट लाङटाङ पदयात्रा सुरु हुन्छ । लाङटाङ भूकम्पका कारण ध्वस्त भए पनि पछिल्लो समय बाटोहरू निर्माण भएसँगै पर्यटकहरूको चहलपहलसमेत बढ्न थालेको छ ।

नवलपरासी
जंगलसँग रमाउँदै बोट लिएर चराचुरुंगी हेर्नको लागि उत्कृष्ट गन्तव्य पछिल्लो समय नवलपरासीलाई लोन्ली प्लानेटले उल्लेख गरेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने उक्त क्षेत्रमा १ सय १४ प्रजातिका चराचुरुंगीहरूको अवलोकन गर्न पाइन्छ ।

नवलपरासी वरपर पछिल्लो समय सुविधासम्पन्न होटल तथा रिसोर्टसमेत खुलेका छन् । हात्ती सफारीमार्फत जंगली जनावरहरूको अवलोकन गर्न समेत पाइने क्षेत्रलाई प्लानेटले सन् २०१७ मा पर्यटकलाई घुम्न सुझाव दिएको छ ।

बारपाक
गोरखाको उत्तरी क्षेत्रमा पर्ने बारपाक भूकम्पको केन्द्रबिन्दू हो । त्यहाँका अधिकांश घरहरू भत्किएका थिए । विगतमा नमुना होमस्टेसमेत रहेको बारपाक अहिले पुनर्निर्माणको काम भइरहेको छ । प्रकृतिले रमणीय स्थानमा रहेको बारपाक समुद्र सतहदेखि १ हजार ९ सय मिटर उचाइमा छ ।

No comments:

Post a Comment

watch first and then search