watch first and then search

watch first and then search

Friday, December 23, 2016

कहिल्यै स्वतन्त्र हुन् नसकेको भूमि : कुर्दिस्तान


– बाशु मिश्र

२७ जुलाई २०१५ को Independent मा Robert Fisk ले ‘क्षेत्रीय शक्तिहरुद्वारा धोका खाँदै आएको कुर्दिस्तान’ भन्ने लेखको सुरुवातमा नै ‘कुर्दहरु धोका खानकै लागि यो पृथ्वीमा जन्म लिन आएका जाति हुन्’भन्ने बाक्य लेखेका छन् । हुन पनि ३,९२,००० बर्ग किलोमिटर क्षेत्रफल ओगटेको र २०१४ को अनुमानित तथ्यांकअनुसार दुई करोड ८० लाख (टर्की , इरान , इराक र सिरिया सबै मिलाउँदा ) लाई आफ्नो छातीमा बास दिएको विश्व मानचित्रमा पश्चिम एसियामा देखिने तर पश्चिमाहरुले मध्यपूर्व भन्ने गरेको त्यो भूमिले भने बास्तविकतामा कहिल्यै स्वतन्त्रताको श्वास लिन पाएन र ककेससको दक्षिण र जाग्रोसको उत्तरको पर्वतीय इलाकामा बसोबास गर्ने कुर्दहरुको आफ्नै भाषा, संस्कृति, भूगोल र इतिहास हुँदाहुँदै पनि कुर्दहरुको भूमिले एउटा साँस्कृतिक तथा भाषिक समुदायको रुपमा भन्दा बढी राष्ट्रिय राज्यको हैसियत कहिल्यै पाउन सकेन ।



कुर्दहरुको उत्पत्ति कहाँ भयो अथवा कहाँबाट उनीहरुको बसोबास त्यस क्षेत्रमा हुन पुग्यो भन्नेबारेमा सबैको एक मत देखिदैंन र कोही इतिहासकारहरु कुर्दहरुको पहिलो बस्ती अहिलेको इरानको उत्तर पश्चिमी भागमा रहेको महाबाद क्षेत्रमा उर्मिया तालको पूर्व र दक्षिणी किनारामा भएको मान्दछन र कालान्तरमा यो ठाउँ साइरस द ग्रेट र दारियास प्रथमको नेतृत्वमा पर्सियन साम्राज्यअन्तर्गत पर्न आयो र कोही इतिहासकारहरुको मतमा बर्तमान टर्कीको सुदूर पूर्वी Diyarbakır प्रान्तको भान ताल वरिपरिको भूभागमा रोमन साम्राज्यको सम्प्रभुतालाई स्वीकारेको Corduene भन्ने अधिराज्य थियो, त्यो नै वर्तमान कुर्दहरुसँग सम्बन्धित हुनुपर्छ भन्ने छ र आखिर इतिहासकारहरुको भनाइमा भिन्नता पाइए पनि कुर्दहरु अहिले बसोबास गरिरहेको क्षेत्र पूर्वी टर्कीदेखि पश्चिमी इरानसम्मकै आदिवासी हुन् भन्नेमा दुई मत रहेन ।


– बाशु मिश्र

कुर्दिश समाज धेरै समुदायहरुको मिश्रणबाट बनेको भन्ने बिश्वास गरिन्छ र यिनीहरुमध्येLullubi, Guti, Cyrtians, Carduchi, Hurrian, Mannai र Armenians प्रमुख हुन् भन्ने समाजशास्त्रीहरुको भनाइ छ र त्यसैले सबैको साझा भाषा कुर्दिश नै भएता पनि बोलीमा भने बिबिधता पाइन्छ र कुर्दिश भाषाको जरो भने फारसी भाषासँग जोडिन्छ भन्छन भाषाविदहरु । पशुपालन गरेर बसेका कुर्दहरुमाथि सन् ६४१ मा एक अरब युद्धसरदार Utba ibn Farqad ले आक्रमण गरी उनीहरुको मुख्य केन्द्र Adiabene कब्जा गरेपछि कुर्दहरुका दुर्दसा शुरु भए र पहिलाका प्राकृतिक धर्मका अनुयायी कुर्दहरुमाथि इस्लाम धर्म लादियो र अहिले बहुसंख्यक कुर्दहरु इस्लामको सुन्नी सम्प्रदायसँग जोडिएका छन्, तर उनीहरुमा कट्टरपन्थको गन्ध पाइदैन र करिब २० प्रतिशत कुर्दहरु सिया सम्प्रदायका छन् भने सुफी मतवाला पनि नभएका होइनन् र त्यसैगरी अल्पसंख्यकको रुपमा याजिदी, क्रिश्चियन र यहुदी धर्म मान्ने कुर्दहरु पनि छन् तर धार्मिक खिंचातानीको कुनै प्रभाब देखिन्न कुर्दिश समाजमा । अरब युद्ध सरदारले कुर्दिश भूमि कब्जा गरेपछि कैयौं शताब्दीसम्म उनीहरुले अरबहरुको बिरुद्ध बिद्रोह गर्दै रहे, तर सबै बेकार भयो र उनीहरु बिस्तारै पश्चिमी दिशातर्फ बसाइ सर्दै जान थाले र पहिले पश्चिमी टर्कीमा अनि पछि त्यहाँबाट पनि पश्चिम युरोप र पश्चिमी गोलाद्र्धसम्म उनीहरु पुगे र अहिले उनीहरुको मूल थलो भन्दा बाहिर ठूलो संख्यामा जर्मनीमा बसोबास गरिरहेको अवस्था छ । दशौँ शताब्दीको दोश्रो आधा अबधिमा बैजेण्टाइन साम्राज्यलाई इस्लामिक क्यालिफ़ेटले ओझेलमा पारेको र क्यालिफ़ेट स्वयम् कमजोर हुँदै गएको अवस्थामा कुर्दहरुले पनि साना साना रजौटाहरु खडा गर्न सफल भएको इतिहासमा उल्लेख छ र ११५० को आसपास मध्य एशियाबाट आएका सेल्जुक तुर्क (मंगोल) जातिले इरान र बगदाद क्यालिफ़ेटलाई अधिनमा पार्दै कुर्दहरुका सानासाना रजौटाहरु पनि कब्जा नगरेको भए यिनै रजौटामध्ये कुनै शक्तिशाली रजौटाले कुर्दिस्तानको एकीकरण गर्नसक्थ्यो होला भनी कुर्दिश इतिहासमा उल्लेख गरेको पाइन्छ र मंगोलहरु, जसलाई त्यस क्षेत्रमा सेल्जुक तुर्कहरु भनियो, को पतनपछि फेरि कुर्द रजौटाहरुको उदय भएको Sharaf al-Din Biltisi ले १५९७ मा लेखेको इतिहासले बताउँछ । तर, ती रजौटाहरुले ओट्टोमन साम्राज्यको अर्ध औपनिबेसिकता स्वीकारेको बताइन्छ र ओट्टोमनकालमा कुर्दहरुलाई व्यापक रुपमा बलात् बसाइसराइको लागि बाध्य परियो र कैयौंलाई ओट्टोमनहरुको प्रतिद्वन्दी Safavids को सिमानामा पठाइयो भने धेरैलाई इरानतर्फ धपाइयो र यी दुई साम्राज्यको आपसी प्रतिष्पर्धामा कुर्दहरुले एक हुने मौका गुमाउदै गए र योक्रम प्रथम विश्वयुद्धको अन्त्यसम्म रह्यो ।



प्रथम विश्वयुद्धमा टर्की जर्मनी र अष्ट्रियाको तर्फबाट युद्धमा सामेल भएको थियो र विश्वयुद्धमा जर्मनीको समूह पराजित भएपछि टर्कीको ओट्टोमन साम्राज्यको पनि पतन भयो र ओट्टोमन साम्राज्यको अबधिमा कुर्दहरु एकत्रित त हुदै थिए तर पूर्ण रुपमा घुलमिल भने भइसकेका भने थिएनन् र १८८० मा आएर कुर्दहरुले स्वतन्त्र राज्यको माग राख्दै Sheik Ubeydullah को नेतृत्वमा बिद्रोह गरे र ओट्टोमन सुल्तान Abdul Hamid ले कुर्दहरुका मुख्यमुख्य नेताहरुलाई साम्राज्यको मुख्य पदहरुमा नियुक्त गरेर बिद्रोहलाई थामथुम पारे, त्यत्तिमात्र नभई टर्किस सेनामा कुर्दिश रेजिमेन्ट नै खडा गरी विश्वयुद्धमा सामेल गराए । विश्वयुद्धको समाप्तिपछि १९१९ मा भएको भर्साइल्सको सन्धि समारोहमा कुर्दहरुले पनि आफ्नो स्वतन्त्रता चाहना पूरा भैहाल्छ कि भनेर प्रतिनिधिमंडल पठाएका थिए र भर्साइल्सको सन्धि खासगरी पराजित जर्मनीसँग सम्बन्धित थियो र जर्मनीको सहयोगी ओट्टोमन टर्कीको भबिष्यको बारेमा बिजयी शक्तिहरु ( ब्रिटेन, फ्रान्स र इटाली ) ले सन् १९१५ देखि नै अलग्गै गोप्य योजना तर्जुमा गरिसकेका थिए (हेर्नुहोस Sykes–Picot Agreement ) र यसै अनुसार १० अगष्ट १९२० मा फ्रान्सकै Sèvres भन्ने ठाउँको टायल कारखानामा उनीहरु र पराजित ओट्टोमन टर्कीबीच अर्को सन्धि गरे र यो सन्धिले ओट्टमन साम्राज्यअन्तर्गतको कुर्दिश बहुल क्षेत्रलाई सीमित स्वतन्त्रतासहितको कुर्दिस्तानलाई मान्यता प्रदान गर्यो तर टर्कीका राष्ट्रबादीहरु यो निर्णयबाट आगो भए र उनीहरुले Mustafa Kemal Ataturk को नेतृत्वमा बिद्रोह गरे र १९२२ मा त्यहाँको सल्तनत नै समाप्त भएर गणतन्त्र कायम भयो र गणतन्त्र टर्कीले कुर्दिशहरुको सम्बन्धमा भएको Lausanne निर्णयलाई स्वीकारेन र अनि १९२३ को २४ जुलाईका दिन गणतन्त्र टर्की र विश्वयुद्धका बिजयी शक्तिहरुको बीचमा स्विट्जरयाण्डको Lausanne मा अर्को सन्धि भयो र उक्त सन्धिले इराक र सिरियालाई क्रमशः ब्रिटेन र फ्रान्सको जिम्मा लगायो र इरान र टर्कीको सिमाना अहिले जुन अवस्थामा जे छ, त्यही सन्धिको परिणाम हो र यसरी कुर्दिस्तान फेरि विश्व मानचित्रबाट तीन बर्षकै अल्पकालमा बिलायो र कुर्दहरु कमसे कम चार देश (टर्की, इरान, इराक र सिरिया ) मा विभाजित हुन बाध्य पारिए । त्यसपछिका ८० बर्षसम्ममा कुर्दहरुबाट भएका हरेक स्वतन्त्रता प्राप्तिका संघर्षहरु क्रूरतापूर्वक दबाइदै आएका छन् । चारै देशहरुले लगभग ८० लाख कुर्दिश आवादी रहेको इरानमा पूर्ण स्वतन्त्रताको लागि नभई अधिक स्वायत्तताको लागि संघीय प्रदेशको माग गर्दै ९० को दशकसम्म हतियारबद्ध आन्दोलन नै भइरहेको थियो तर करिब ५० प्रतिशतकै हाराहारीमा विभिन्न अल्पसंख्यक जातिहरु भएको इरानको केन्द्रीय सरकारले अरु जातिहरुले पनि यस्तै माग गर्ने र देश बिखन्डनको दिशातर्फ जानसक्ने त्रासको कारणले इस्लामिक रिपब्लिकन गार्ड लगाई नराम्रोसँग दबाइदियो र कुर्दिश भाषाको जरो फारसी भाषा नै भएको, कुर्दिशहरु पर्सियन समाजमा राम्ररी घुलमिल हुन सकेको, सेना र सरकारी उच्च पदहरुमा पनि कुर्दिश हरु पुग्न सफल भएको, राजनैतिक क्षेत्रमा समेत कुर्दहरुको पहुँच बढ्दै गएको, कुर्दिश भाषामा पत्रपत्रिका व्यापक रुपमा निस्कन थाल्नुको अलावा पाठ्यक्रममा समेत समेटिएको कारणले कुर्दहरु आफ्ना पुराना मागहरु छाडेर सानातिना सुधारमै चित्त बुझाएर जीवनस्तर उकास्दै इरानी समाजको मुलधारसँग सहअस्तित्व कायम गरेर बस्ने अवस्थामा पुगेको खुलासा ३ डिसेम्बर २०१४ को Financial Times ले नै लेखेको छ ।



सिरियाको कुल जनसंख्याको करिब १० प्रतिशत ( करिब २२ लाख ) हिस्सा ओगटेका कुर्दहरुमाथिको अत्याचार इरानको तुलनामा ठूलो थियो र प्रथम विश्वयुद्धपछि फ्रेन्चहरुको अधिनमा गएको सिरियामा फ्रेन्च सरकार ले “फुटाउ र राज गर “ नीति अन्तर्गत अल्पसंख्यकहरुलाई राम्रै अधिकार उपभोग गर्न दिएको थियो र उनीहरुलाई सेनामा, प्रशासनमा, राजनीतिमा समेत सरिक गराएको थियो तर सन् १९४६ मा स्वतन्त्रता मिलेपछि भने लगातारको सैनिक बिद्रोहको कारणले गर्दा नागरिक अधिकार खुम्चिदै गयो र यस्तो अवस्थामा अल्पसंख्यकहरुले झन् स्वतन्त्रता पाउने कुरै भएन र यस्तैमा २३ अगष्ट १९६२ मा सिरिया सरकारले कुर्द बहुल जजिरा प्रान्तमा बिशेष जनगणना लिने बहानामा एक लाख २० हजारभन्दा बढी कुर्दहरुलाई सिरियन परिचयपत्रको रजिष्टर गर्न वा नवीकरण गर्न भनेर परिचयपत्र छिनेर लियो तर बदलामा उनीहरुले सरकारबाट केही पाएनन् , बरु तिनीहरुलाई सुचिकृत नभएका गैह्र सिरियालीको दर्जामा झारिदियो र राज्यको आँखामा अब तिनीहरुको अस्तित्व मेटियो र उनीहरुले काम गर्न, शिक्षा लिन, सम्पत्ति राख्न, राजनीतिमा सामेल हुन, यहाँसम्म कि बिबाहसमेत गर्न नपाउने र चाडपर्बहरुमा आफ्नो सामाजिक परम्पराअनुसारको कपडा लगाउन समेत बन्देज गरियो र मार्च १९८६ को नौरोज प्रदर्शनमा भएको गोलाबारी यसको उदाहरण हो र उनीहरुको सम्पत्ति सबै अरबहरुलाई वितरण गरेर अरबीकरण गरियो र १९७३ मा उनीहरुको पुर्ख्र्याैली थलोबाट उठाएर दक्षिणको मरुभूमिमा जान उनीहरुलाई भनियो, तर सबै गुमाएका उनीहरु जान मानेनन् ।



‘अरब वसन्त’ शुरु भएपछि चार फेब्रुअरी २०११ मा देशको उत्तर पूर्वी भागमा भएको एक दिने सांकेतिक समर्थनको भेलामा कुर्दहरुको राम्रो उपस्थिति रहेको थियो र त्यसको लगत्तै ७ फेब्रुअरीको दिन एकजना नकाबधारीले सिरियाली कुर्दिश नेता Mashaal Tammo को गोली हानी हत्या गरिदियो र उनको शबयात्राको जुलुसमा समेत सरकारले गोलीबारी गरी कमसेकम पाँच जनाको ज्यान लियो र यसले झन् कुर्दिशहरुलाई सँगठित रुपले प्रतिकार गर्ने ऊर्जा प्रदान गर्यो र कुर्दिशहरुले लगातार प्रदर्शन गर्दै रहे र उनीहरुले १२ जुन २०१२ मा सिरियन कुर्दिश नेसनल काउन्सिल गठन गरेर आफ्नो आन्दोलनलाई अगाडि बढाए र त्यसपछिका आन्दोलन हिंसात्मक हुन् पुगेपछि १२ जुलाईमा नेसनल काउन्सिलले कुर्दिश डेमोक्रेटिक युनियन (जो एक सशस्त्र सँगठन थियो) सँग परस्पर सहयोग गर्ने सहमति कायम गरी kurdish Protection Committee गठन गरी कुर्दिश क्षेत्रको प्रशासन आफ्नो हातमा लियो र तत्पश्चातदेखि kurdish Protection Committee को सैनिक शाखा YPG ले कुर्दिश जनताको सुरक्षाको जिम्मा लिएको छ र सिरियन गृहयुद्धको सुरुको दुई बर्ष सरकारको साथै ISIS लगायत सबै प्रकारका दुश्मनहरुसँग भिडे र सरकारले कुर्दहरुको मागप्रति सहानुभूति देखाएपछि भने सिरियन कुर्दहरुको लडाईं ISIS, Jabat Al Nusra र अन्य यिनीहरुका सहयोगीहरुसँग केन्द्रित हुन पुग्यो र २०१५ को जनवरीमा YPG का छापामारहरुले Kobane भन्ने टर्कीसँग जोडिएको शहरलाई ISIS को घेराबन्दीबाट छुटाएका थिए र बास्तवमा सिरियन कुर्दहरु सिरियाभित्रै स्वायत्तता खोजिरहेको देखिन्छ । इराकी कुर्दहरुले पाएको दुःख झनै ठूलो छ र इराकको कुल जनसंख्याको लगभग २० प्रतिशत (करिब ६० लाख ) कुर्दहरु देशको तीन प्रान्तहरुमा अधिक संख्यामा बसोबास गर्दै आइरहेका छन् र त्यसभन्दा बाहिर किर्कुक, मोसुल, खानाकिन र बग्दादजस्ता ठूला शहरमा पनि कुर्दहरुको उपस्थिति उल्लेख्य मात्रामा छ र १९६० देखि मुस्ताफा बर्जानीको नेतृत्वमा इराकी कुर्दहरुले बग्दादबिरुद्ध भीषण लडाईं लडे र मार्च १९७० मा चार बर्षभित्रमा कुर्दहरुलाई स्वायत्तता दिने गरी इराक सरकारले एउटा योजना प्रस्तुत गर्यो तर त्यसै समयमा किर्कुक तथा खानाकिनजस्ता तेलका धनी क्षेत्रहरुमा अरबीकरण गर्न शुरु गर्यो, जसको कुर्दहरुबाट घोर बिरोध भयो र त्यसैले शान्ति बार्ता अगाडि बढ्न सकेन र इराकी सेनाले कुर्दहरुमाथि पुनः आक्रमण शुरु गर्यो र मार्च १९७५ मा इरान र इराकबीच अल्जियर्समा एउटा सम्झौता भयो, जसअन्तर्गत इरानले इराकी कुर्दहरुलाई सबैखाले आपूर्ति बन्द गर्ने भयो र यही मौका छोपेर इराकले अरबीकरणलाई अझै तीब्र पारी कुर्दिश क्षेत्रसम्म पुर्यायो र १९७५ देखि ७८ सम्ममा दुई लाखभन्दा बढी कुर्दहरुलाई देशको अन्य क्षेत्रतर्फ बलजफ्ती धपायो र असीको दशकमा भएको इरानसँगको युद्धमा इराकी कुर्दहरुको सहानुभूति इरानतर्फ भएको कारण देखाई बगदाद सरकारले इराकी कुर्दहरुको व्यापक कत्लेआम गर्यो र करिब दुई हजार कुर्दिश गाउँहरु पूरै जलाईदियो भने ५० हजारदेखि एक लाखको संख्यामा कुर्दहरुलाई मरेको अनुमान गरिन्छ र हजारौंलाई मध्य इराकतर्फ स्थानान्तर हुन् बाध्य समेत पार्यो र यत्तिकैमा यो कार्य थामिएन र १९९१ मा पुनः कुर्दिश बिद्रोह भयो, तर बगदादले निर्दयतापूर्वक पुनः दबाइदियो र कुर्दहरुलाई अझै उत्तरतर्फ धकेलिन बाध्य पार्यो ।

१९९१ को बिद्रोह असफल भई कुर्दहरु अझै सानो इलाकाभित्र खुम्चिनु परेको भएता पनि पश्चिमी गठबन्धनले इराकी कुर्दिस्तान लाई “ उडान निषेध क्षेत्र “ घोषणा गरिदिएकाले सद्धाम हुसेनको सरकारले अरु दमन गर्न पाएन र कुर्दहरुले सो क्षेत्रमा स्वशासनको स्वाद चाख्न पाए भन्छ, बिबिसी २१ अक्टोबर २०१४ को समाचारमा । २००३ मा सद्धाम हुसेनलाई अपदस्थ गर्ने गरी भएको दोश्रो अमेरिकी आक्रमण पश्चात उत्तरी इराकका दोहुक, इर्बिल र सुलेमनिया प्रान्तमा कुर्दहरुको पूर्ण स्वशासन कायम हुन् गएको छ भने केन्द्रमा समेत राजनीति तथा प्रशासनमा महत्वपूर्ण साझेदारी पाएका छन् र इराकी कुर्दहरु पूर्ण स्वतन्त्रताको पक्षमा भए पनि अल्लि हतार पो हुने हो कि भन्ने भयको कारणले स्वतन्त्रताको घोषणा गर्न इराकी कुर्दहरु गहिरो सोंचमा परेको बताउँछन American University of Cairo का प्रोफेसर तथा मध्यपूर्व सम्बन्धी विश्लेषक Firas Al-Atraqchi, ९ जुलाई २०१४ को अल जजिरामा । कुर्दिशहरुमाथि भएको अत्याचार अरु तीन देशको तुलनामा टर्कीमा बढी देखिन्छ । CIA Factbook का अनुसार सम्पूर्ण कुर्दिश जनसंख्याको आधा र टर्कीको कुल जनसंख्याको करिब २० % ( करिब १ करोड ५० लाख ) कुर्दहरु टर्किश कुर्दिस्तानमा बसोबास गर्दछन र मुख्यतया पूर्वी तथा दक्षिण पूर्वी टर्की यिनीहरुको मूल थलो हो । सन् १९१५ देखि १९१८ सम्म उनीहरुले आफ्नो क्षेत्रबाट ओट्टोमन शासनको अन्त्य हुनुपर्ने माग राख्दै बिद्रोह गरेका थिए । प्रथम विश्वयुद्धको समाप्तिपछिको पेरिस शान्ति सम्मेलनमा तत्कालीन अमेरिकी राष्ट्रपति Woodrow Wilson को सहयोगले कुर्दहरुले गैह्र टर्किश जातिहरुको लागि स्वतन्त्र भूमिको माग गरेका थिए । तर ब्रिटेन र फ्रान्सको हस्तक्षेपको कारणले गर्दा त्यो माग त पूरा भएन तर त्योभन्दा अल्लि तल्लो स्तरको स्वायत्त प्रदेशको व्यवस्था भने १९२० को Sèvres को सन्धिले स्वीकार्यो । तर त्यो हैसियत पनि १९२३ को Lausanne मा भएको अर्को सन्धिले खारेज गरिदियो र टर्किश कुर्दिस्तान टर्कीको केन्द्रीय शासनअन्तर्गत नै आयो । कुर्दहरुले सोही कारण ले १९२५ देखि ३० सम्म गरेको बिद्रोहलाई टर्किस सेनाले निर्ममतापूर्वक दबाइ दियो । यी घटनाहरुको फलस्वरूप टर्कीमा कुर्दिश परिचय नै संकटमा पर्न गयो । सरकारी तवरमै कुर्दहरुलाई कुर्द नभनेर ” पर्वतीय तुर्क ” भनिन थालियो । उनीहरुको भाषालाई अबैध घोषित गरियो । घरमा बाहेक बाटोमा कुर्दिश भाषा बोलेको भेटिएमा सजाय हुने प्रबन्ध समेत गरियो । टर्कीमा १९२३ मा गणतन्त्र स्थापना भए यता समयसमयमा कुर्दिश जनताहरु को आमनरसंहार हुदै आएको मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संगठनहरुको दावी छ । उदाहरणको लागि १९२३ को नरसंहार ( १३,००० भन्दा बढी कुर्दहरु मारिएको र ११,००० भन्दा बढीलाई देश निकाला गरिएको ) १९२७ को माउन्ट अरारत नरसंहार ( ४७,००० कुर्द हरु मारिएको ) १९३० को ज़िलन नरसंहार ( ४०,००० जना कुर्दहरु मारिएको ) लाई उनीहरुले प्रतिनिधि घटनाको रुपमा प्रस्तुत गरेका छन् । टर्किस सेनाको PKK ( Partiya Karkerên Kurdistan ) सँगको संघर्षमा कुर्दिश इलाकामा खाद्यान्नको नाकाबन्दी लगाएको , जबर्ज स्ती कुर्दिश गाउँलेहरुलाई आफ्नो थलो छाड्न बाध्य पारेको , ३,००० भन्दा बढी कुर्दिश गाउँहरुलाई आगो लगाई नष्ट पारिदिएको , लगभग ४ लाख कुर्दहरुलाई बेपत्ता पारेको समेत मानवाधिकारबादीहरुको रिपोर्टमा पाइन्छ । १९९१ मा कुर्दिश भाषामाथि लागेको बन्देज त हट्यो, तर कागजमा मात्रै । यसको प्रमाणको रुपमा सोही साल Layla Zana नाम गरेकी कुर्दिश मूल की एक संसद सदस्यले आफ्नो सपथ ग्रहणमा अन्तिम बाक्य कुर्दिश भाषामा बोल्दा ” पृथकताबादी, आतंककारी, यसलाई गिरफ्तार गर ” भन्ने नारा अन्य संसद सदस्यहरुले लगाएकालाई लिन सकिन्छ । यद्यपि उनको सांसद पदले उनलाई तत्कालको लागि जोगाएता पनि सन् १९९४ मा उनले आफ्नो पुरानो पार्टी परित्याग गरी नयाँ पार्टीमा प्रवेश गर्दा उनको पद गएकोले तत्काल उनलाई पक्राउ गरी देशद्रोहको अभियोगमा १५ बर्ष जेल सजाय सुनाइएको थियो । कुर्दहरुमाथि भएको दमनको कारण देखाएर सन् १९९२ मा नेल्सन मन्डेलाले टर्कीको सबै भन्दा ठूलो अवार्ड अतातुर्क शान्ति अवार्ड नै ग्रहण गरेनन । टर्कीको कुर्दिस्तानी भूभागलाई स्वतन्त्र देश बनाउन शुरुदेखि नै कुर्दिशहरु लागि परिरहेको तथ्यहरुमाथि नै पस्किसकिएको छ । अहिले यसको नेतृत्व कुर्दिश वर्कर्स पार्टी ( PKK,Partiya Karkerên Kurdistan ) ले गरिरहेको छ । उनीहरुको लडाईं आत्मनिर्णयको अधिकारको लागि राजनैतिक तथा सांकृतिक स्वतन्त्रता लिनको लागि थियो । बास्तवमा यो माग ठ्याक्कै पृथक देश निर्माणको लागि भन्ने अर्थमा लिन सकिदैन । तापनि टर्किस सरकारको भारि दमन र र उसका सहयोगी इयु, नाटो तथा अमेरिका ले PKK लाई आतंककारी संगठन घोषणा गर्दै उसका गतिबिधिमाथि प्रतिबन्ध लगाउनुका साथै सम्पत्तिसमेत रोक्का गरिराखेको अवस्था छ । तर युएनओ, रुस, चीन र भारत जस्ता शक्तिशाली देशहरुले त्यो स्वीकारेका छैनन् । PKK का नेता Abdullah Ocalan को सन् १९९९ मा केनियाबाट गिरफ्तारी ( अमेरिका र इजरायलको सहयोगमा ) भएता पनि कुर्दिशहरुले आफ्नो संघर्ष त्यागेका थिएनन् । २०१३ को संसदीय चुनावलाई ध्यानमा राखी हालका टर्किश राष्ट्रपति रिसेप तैयाप इर्दोगानले एउटा चाल चले । उनले केही छुटसहित PKK सँग युद्धबिराम गरे । तर ISIS सँग युद्ध शुरु भएकै भोलिपल्ट २५ जुलाई २०१५ का दिन टर्किश सेनाले कुर्दिश इलाकामा हवाई आक्रमण गरी युद्धबिराम भंग गर्यो ( हेर्नुहोस २६ जुलाई २०१५ को The Economist ) । बास्तवमा ISIS एउटा निहुमात्र थियो र कुर्दहरुलाई सखाप पार्ने दाउमा टर्किस सरकार समय कुरेर बसेको मात्र थियो भन्न सकिन्छ, हिजो आज का उसका गतिबिधि नियाल्दा । टर्किश सरकारको दमनकारी नीतिको कारणले सायद PKK अबको ब्यबस्थापनमा पूर्ण स्वायत्ततामै मात्र सीमित नरहन सक्तछ । किनभने यसपटकको संघर्षमा सिरियन कुर्द तथा इराकी कुर्दहरु पनि पूर्ण स्वतंत्रताको पक्षमा रहेको पाएको छ ।



इराकी कुर्दहरुसँगको PKK को वैमनस्यता साङ्घुरिएको बताउँछ फेब्रुअरी २१ २०१५ को The Economist भने सिरियन कुर्दहरु सशस्त्र शाखा YPG लाई त PKK कै सिरियन साखा नै मान्ने गरिन्छ । अन्तर्राष्ट्रिय समुदायबाट पनि राम्रै सहानुभूति पाइरहेको महशुस गरेको छ । अहिलेको मध्यपूर्वको संघर्षमा कुर्दहरु मुख्य खेलाडीको रुपमा देखापरिसकेका छन् । तर यस पंक्तिकार को विश्लेषणमा ISIS लाई पराजित गरिसकेपछि पनि तुरुन्तै संयुक्त कुर्दिस्तानको पूर्ण स्वतन्त्रता सम्भब देखिदैन । किनभने पहिलो त इरानी कुर्दहरुको राय यस किसिमको ब्यबस्थापनमा कस्तो छ, अहिलेसम्म स्पष्ट भएको छैन । इरानी कुर्दिस्तानलाई बाहिर राखेर संयुक्त कुर्दिस्तानको निर्माण हुन् सक्तैन । दोश्रो, कुर्दिस्तान एउटै देशको हिस्सा भएको भए सम्भब पनि हुन्थ्यो होला, जसरी सर्बियाबाट कोसोभो र सुडानबाट साउथ सुडानलाई स्वतन्त्र देशको रुपमा अलग पार्न सम्भब भयो । कुर्दहरु ४ देशमा सदियौंदेखि बसोबास गरेका हुँदा उनीहरुको आन्दोलन पनि सम्बन्धित देशमा भिन्नभिन्न परिवेश र समयमा भिन्नभिन्न तरिकाले उठ्यो, उनीहरुको बीचमा अन्तरसम्बन्ध हुन् सकेन । ISIS को विध्वंश उठेपछि मात्रै इराक, सिरिया र टर्कीका कुर्दहरुबीच अलिअलि सहकार्य हुन् थालेको मात्रै हो । इरानी कुर्दहरु अझै समेटिएका छैनन् । एकीकृत कुर्दिस्तानको निर्माण गर्दा सम्पूर्ण मध्यपूर्वको पुन: रेखांकन गर्नुपर्ने हुन्छ, जसले त्यस क्षेत्रमा बिशाल हलचल ल्याउनेछ । तेश्रो, सबै देशमा आन्दोलनको उचाइ समान छैन । यो सम्बन्धित सरकारहरुको तत्कालीन अवस्थाको कारणले सिर्जना भएको हो । इराकको केन्द्रीय सरकार निकै कमजोर भएको र सिरिया को सरकार लगभग कोल्याप्स हुने अवस्थामा पुगेकोले इराकी कुर्दहरु करिबकरिब स्वतन्त्र देशकै हैसियतमा पुगेका छन्, सिरियनहरु अझै पुग्न बाँकी छ । तर टर्किश कुर्दहरुको दुःखका दिन सकिन अझै धेरै बाँकी छ । उता इरानी कुर्दहरुको कुनै गतिविधि सतहमा छैन । चौथो, महत्वपूर्ण तथ्य इराकी कुर्दहरुलाई पश्चिमी शक्तिहरुको पूर्ण समर्थन छ भने PKK लाई उनीहरुले आतंकबादीको सुचीमै राखेका छन् । पाँचौ, आर्थिक श्रोतले सम्पन्न इराकी कुर्दहरु आफूभन्दा मजबुत PKK ले भबिष्यमा बन्ने स्वतन्त्र संयुक्त कुर्दिस्तानको नेतृत्व लिने सम्भावनाबाट पक्कै त्रसित भएको हुनुपर्छ । छैटौं, इराक र सिरियालाई तोड्न अमेरिकीहरु मन्जुर हुन् सक्छन, तर आफ्नो प्रतिद्वन्दी रुसलाई भूमध्य सागर र अरब जगतमा निर्बाध रुपले आवतजावत गर्नमा बाधा पुर्याउने हेतुले सेन्ट्रीको काम गरिरहेको नाटो राष्ट्र टर्कीलाई टुक्र्याउन पक्कै रुचाउने छैनन् । सातौँ, PKK ले लिएको मार्क्सवादी विचारधारा पनि एकीकृत कुर्दिस्तानको बाधाको रुपमा आउनसक्छ । Ceylan Ozbudak नामकी टर्किश राजनैतिक बिश्लेषक , टिभी प्रस्तोता तथा एनजीओ कर्मी १८ अक्टोबर २०१४ को अंग्रेजी भाषा को Al Arabiya Middle East विचारप्रधान ब्लगमा PKK जस्तो मार्क्सवादी लेनिनबादी संगठनको अगुवाईमा कुर्दिस्तान बन्यो भने टर्कीको लागि मात्र होइन पूरै पश्चिमी जगतलाई थ्रेट हुने कुरा लेख्छिन । यी र यस्ता कारणहरुको सुची अझै लामो हुनसक्छ, जो स्वतन्त्र संयुक्त कुर्दिस्तानको निर्माणमा तगारो बनेर बसेका छन् । स्वतन्त्र र संयुक्त कुर्दिस्तान प्रथम विश्वयुद्धको समाप्तिपछि एकदम सम्भब थियो । चेकोस्लोभाकिया , युगोस्लाभिया जस्ता देशहरु युरोपमा बन्दा मध्यपूर्वमा कुर्दिस्तान पनि बन्नसक्थ्यो । किनभने त्यो समयमा कुर्दिस्तानको इरानी भाग बाहेक बाँकी सबै ओट्टोमन साम्राज्य अन्तर्गत थियो, जो युद्धमा पराजित भएको थियो । तर साम्राज्यबादीहरुको षडयन्त्रकारी भूमिकाको कारणले त्यो मौका खेर गयो । तसर्थ अहिले पनि कुर्दहरुको आशा पूरा हुने देखिदैन । बढीमा सम्बन्धित देशहरुकै सार्बभौमसत्ताअन्तर्गत रहने गरी अर्ध स्वतन्त्र ( Quasi – Independent / Suzerain Entities ) वा आत्म निर्णयको अधिकारसहितका संघीय प्रदेश बन्ने सम्भावना मात्र देखिन्छ

No comments:

Post a Comment

watch first and then search