जङ्गली हात्तीको आक्रमणबाट झापाको बाहुनडाँगीमा सोमबार बिहान एक वृद्धको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।
प्रहरीका अनुसार बाहुनडाँगी—२ स्थित मेची नदी नजिक चियाबगानमा घाँस काट्दै गरेका स्थानीय ६० वर्षीय मनोहरी ढुंगेलको हात्तीको आक्रमणबाट घटनास्थमै मृत्यु भएको हो । स्थानीय अर्का एक वृद्ध ६२ बर्षीय लम्बबहादुर प्रधान पनि हात्तीको आक्रमणबाट घाइते भएका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी दुर्गाराज रेग्मीका अनुसार बिहान प्रहरी र स्थानीयले लखेट्दा भाग्दै गरेको हात्तीले घाँस काट्दै गरेका वृद्धलाई आक्रमण गरेको हो । उहाँका अनुसार आइतबार साँझ नै भारत तर्फबाट हात्ती नेपाल प्रवेश गरेको थियो । यसअघि पनि धान र मकै पाक्ने समयमा हात्ती एकैपटक बाहुनडाँगी प्रवेश गर्थे । गत कात्तिक १२ गते वनमन्त्री शङ्कर भण्डारीले सोलार फेन्सिङ उद्घाटन भई सञ्चालनमा आएपनि फाट्टफुट्ट मात्र हात्ती आउने गरेको छ । हुलै आउन नसकेपनि केही हात्ती नेपाल प्रवेश गर्ने गरेका छन् । त्यस्ता एक्लिएका हात्ती अझ आक्रमक हुने गरेको बताइएको छ । हात्ती रोक्नका लागि विश्व बैङ्कको सहयोगमा निर्मित विद्युतीय तारबार उद्घाटन भएयता झापामा दुईजनाको ज्यान गइसकेको छ ।
No comments:
Post a Comment