watch first and then search

watch first and then search

Tuesday, November 29, 2016

लिबियामा पहिलो शान्ति सैनिकका रुपमा नेपाली सेना तैनाथ हुने

काठमाडौँ, १४ मङ्सिर । संयुक्त राष्ट्रसङ्घको पहिलो प्रतिनिधिका रुपमा अफ्रिकी मुलुक लिबियामा शान्ति स्थापनाका लागि नेपाली सेना तैनाथ हुने भएको छ ।




संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपाली सेनाले शान्ति सैनिकका रुपमा पहिलो डफ्फाअन्तर्गत स्पेसल गार्ड युनिटलाई यसै महिना त्यहाँ खटाउन लागेको हो । प्रमुख सेनानी सुवास थापाको नेतृत्वमा जान लागेको दुई सय ३४ जनाको उक्त डफ्फाले प्रारम्भमा संयुक्त राष्ट्रसङ्घबाट त्यहाँ खटिएका प्रतिनिधि र सामग्रीको सुरक्षा प्रदान गर्नेछ ।

संयुक्त राष्ट्रसङ्घबाट नेपाली सेनाको व्यावसायिक कौशल, अनुशासन, कर्तव्यपरायण र सहासको कदर गर्दै पहिलो शान्ति सेनाका रुपमा लिबिया पठाउन अनुरोध भई आएबमोजिम नेपाली सेनाले त्यहाँ सुविधासम्पन्न घुम्ती अस्पतालको व्यवस्थासहित विशिष्टीकृत सैनिकलाई पठाउन लागेको छ ।

काभ्रेका पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सुडान र लिबियामा शान्ति स्थापनार्थ खटिजाने सैनिकका लागि सञ्चालन गरिएको तालिम समापन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले लिबियामा तैनाथ हुन जाने शान्ति सेना पहिलो डफ्फालाई अरू मिसनको जस्तै नेपाल र नेपाली सेनाको छवि उच्च पार्ने काम गर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो–“सरकारको परराष्ट्र नीतिलाई व्यवहारमा प्रभावकारी रुपमा कार्यान्वयन गरी नेपाल र नेपालीको मान, सम्मान र छविलाई विश्व समुदायमा उच्च राख्न नेपाली सेनाबाट भएको योगदानको हामी गौरव गर्दछौँ ।”

राष्ट्रपति भण्डारीले “शान्तिका प्रतिनिधिका रुपमा नेपाली सेना परिचालन हुनु हाम्रो लागि ठूलो सन्तोषको विषय हो” भन्दै “शान्ति स्थापनाजस्तो पवित्र र महान् कार्यमा संलग्न भई विगतमा हाम्रा वीर सैनिकले आर्जेको नेपाल र नेपालीको छविलाई उच्च राख्ने प्रण गर्दै नेपाली सेनाबाट शान्ति स्थापना कार्यमा निष्ठा र इमान्दारीमा प्रदर्शन हुने विश्वास व्यक्त गर्नुभयो ।” राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ ।

सो अवसरमा रक्षामन्त्री बालकृष्ण खाणले संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वरत मुलुकमा खटिजाने नेपाली सेनाले व्यावसायिक, अनुशासन, मानवअधिकारको सम्मान र मानवीय भावना प्रदर्शन गरेर मुलुकको छवि उच्च राख्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली सेनाका एक लाख १४ हजार सात सय ३२ जनाले हालसम्म विभिन्न द्वन्द्वरत मुलुकमा खटिएर विश्व शान्तिमा योगदान पु¥याइसकेका छन । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति सेना खटाउने मुलुकको सूचीमा नेपाल हाल छैटौँ स्थानमा रहेको छ । विभिन्न मुलुकका १५ वटा मिसनमा सहभागी हुँदै आएकोमा अब लिबियामा तैनाथ भएसँगै राष्ट्रसङ्घले शान्ति स्थापनाका लागि खटाएको सबै अर्थात् १६ वटै मिसनमा नेपाली शान्ति सैनिक परिचालित हुनेछन् ।

शान्तिदूतका रुपमा हाल करिब चार हजार चार सय ६८ नेपाली सैनिक विश्वका विभिन्न द्वन्द्वरत देशमा खटिरहेका छन् । विश्व शान्ति स्थापनाका लागि खटिएको अवस्थामा हालसम्म ६३ जना सैनिकले वीरगति प्राप्त गरेका छन् भने त्यतिकै सङ्ख्यामा सैनिक घाइते भएका छन् ।

तालिम समापनका अवसरमा तालिम केन्द्रका प्रमुख महासेनानी प्रयोग राणाले केन्द्रमा चैत ७ देखि २२ गतेसम्म हुने शान्ति प्रयास तालिममा भाग लिने ३५ देशलाई आमन्त्रण पठाइसकेको जानकारी दिनुभयो ।

सो अवसरमा अफ्रिकी मुलुक सुडानमा सातौँ शान्ति सेनाका रुपमा रिपुमर्दन गण परिचालन हुन निकट भविष्यमै त्यसतर्फ जान लागेको जानकारी दिइयो । उक्त गणका गणपति अन्जन केसी खत्री हुनुहुन्छ ।

No comments:

Post a Comment

watch first and then search