watch first and then search

watch first and then search

Friday, November 4, 2016

पर्यटक लोभ्याउँदै चम्पादेवी डाँडा

काठमाडौँ, १९ कात्तिक । पर्यटकीय क्षेत्र चम्पादेवी डाँडामा पर्यटकको चहलपहल बाक्लिएको छ । चम्पादेवी मन्दिरको पुनःनिर्माण भई पार्क निर्माणको काम सुरु भएसँगै त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् ।
हिमाल र महाभारत पर्वतको रमणीय दृश्यावलोकनका लागि उपयुक्त मौसम भएकाले पनि अहिले चम्पादेवीमा पर्यटक बढेका हुन् ।
डाँडाबाट सर्वोच्च शिखर सगरमाथासहित १२ भन्दा बढी हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । उपत्यकाको महत्वपूर्ण पदमार्ग चम्पादेवीमा खासगरी बिदाको दिन धेरै आन्तरिक पर्यटक पुग्ने गर्दछन् ।
दृश्यावलोकनका लागि कात्तिक र मङ्सिर उपयुक्त समय भएकाले स्वदेशी तथा विदेशी पर्यटक बढेको चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन समितिका अध्यक्ष जनक तामाङले जानकारी दिनुभयो ।
पदयात्रा, पारिवारिक वनभोज आदिका लागि चम्पादेवी उपयुक्त गन्तव्य भएकाले यो मौसममा बढी चहलपहल बाक्लिएको उहाँले बताउनुभयो ।
यता भूकम्पले क्षति पुगेको चम्पादेवी मन्दिर पुनःनिर्माण भएपछि चम्पादेवीको आकर्षण बढेको छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको चम्पादेवी मन्दिर पुरातत्व विभागको रु आठ लाख सहयोगमा पुनःनिर्माण गरिएको हो ।
मञ्जुश्रीले तपस्या गरेको चम्पादेवीमा हरेक वर्षको नयाँ वर्षमा मेला लाग्ने गर्दछ ।
यसैबीच धार्मिक र ऐतिहासिक महत्व बोकेको चम्पादेवी क्षेत्रमा पर्ने चम्पादेवी ऐतिहासिक पार्कको निर्माणको पहिलो चरणको काम सम्पन्न गरिएको छ ।
सहरी विकास मन्त्रालय जल तथा वातावरण संरक्षण कोषको करिब ६० लाख रुपैयाँको सहयोगमा उक्त पार्क सिमेन्टको पक्की पर्खालले घेरिएको अध्यक्ष जनक तामाङले बताउनुभयो । ५० रोपनी क्षेत्रफलमा निर्माणाधीन पार्कको दोस्रो चरणको काम छठलगत्तै सुरु हुने उहाँले बताउनुभयो ।
सहरी विकास मन्त्रालय भवन निर्माणको रु ३० करोड लागतमा सात वर्षभित्र निर्माण सकिने र त्यसका लागि अहिले गुरुयोजना बनाइँदै गरेको समितिले जनाएको छ ।
उक्त पार्कभित्र स्वीमिङ पुल, हनुमानको मूर्ति, शिव पार्वती, बुद्धको मूर्ति, वनभोज स्थल, सानो चिडियाघर र पानीका धारा निर्माण हुनेछन् ।
पुरातात्विक मन्दिरको पुनःनिर्माण, चम्पादेवी पार्क तथा रमणीय दृश्यावलोकनको आकर्षण आन्तरिक पर्यटक बढेको कीर्तिपुर पर्यटन विकास समाजका सचिव वीरेन्द्र शाक्यले बताउनुभयो ।
समुद्री सतहदेखि दुई हजार ३०० मिटर उचाइमा अवस्थित चम्पादेवी धार्मिक, सांस्कृतिक पर्यटनको उपयुक्त गन्तव्य मानिन्छ ।

No comments:

Post a Comment

watch first and then search