ईश्वर थापा, धनकुटा, २५ कार्तिक, विदेशमा छोराको मृत्यु भएपछि पिडामा परेका धनकुटाका एक दम्पती मृत्यु भएको एक महिना बित्दासम्म छोराको लास नेपाल नआउँदा थप पिडामा परेका छन् । धनकुटा नगरपालिका वडा नं. १४ बेलहराका २१ वर्षीय सुशील भण्डारीको गत असोज १५ गते मध्यरातमा साउदीमा गाडीले किचेर मृत्यु भएपछि उनका बुबा ६४ वर्षका कमल भण्डारी र आमा ५५ वर्षकी तिला भण्डारीलाई एक महिनाभन्दा बढी समयसम्म पनि लास नेपाल नआउँदा पिडा माथि पिडा थपिएको हो ।
सुशिल गत जेठमा रोजगारीका लागि साउदी गएका थिए । मृतकका पिता कमलले छोराको शव नेपाल ल्याउन पहल गरिदिन सरकार समक्ष माग गरेका छन् । स्थानीय प्रशासनमा कुरा राखे पनि चासो नदिएको र आफूले शव ल्याउन खर्च नभएको कमलले बताएका छन् । 'छोराको शव ल्याउन आफूसँग खर्चको कुनै उपाय छैन ।' कमलले भक्कानिदैँ भने 'ऋण काढेर खरिद गरेका हल गोरु बेचेर भए पनि सदरमुकाम तथा अन्य निकायमा बुझ्न जान खोजेको एक महिना भयो तर अझै बिकेको छैन ।'
कमलको माइला छोरा सुशीलको मृत्यु भएको १७ दिन अघिमात्र जेठो छोराको धनकुटाकै डाँडागाउँ गाविसमा भरुवा बन्दुकले हानी हत्या गरिएको थियो ।
वर्षको एक बाली मात्र लाग्ने दुई रोपनी खेत मात्र जग्गाको नाममा भएका कमलको परिवारले जीवन गुजार्ने मुख्य पेशा कृषि भएकाले आफ्नो जमिनले मात्र धान्न समस्या हुने हुँदा अरुको जग्गा अधिँयामा कमाउने र अरुकोमा ज्यालामा काम गर्नुपर्ने बाध्यता पनि रहेको छ ।
यस्तो कमजोर आर्थिक अवस्थाबाट चलिरहेको अवस्थामा वैदेशिक रोजगारमा छोरालाई पठाएर परिवारमा केही राहत मिल्ला कि भन्ने आशाले जसोतसो ऋण खोजेर एक लाख ६० हजार रुपैयाँ खर्चेर छोरालाई विदेश पठाएका थिए कमलले । तर, छोरो विदेश पुगेको पाँच महिना पुग्न नपाउँदै मरेको खबरले सहिनसक्नुको बज्रपात परेको छ । छोरो कुन मेनपावरबाट गएको हो त्यो पनि पत्ता लगाउनसम्म आर्थिक अभावका कारणले नसकेको र गोरु बिकेपछि सबै खोज्ने कमलले बताए । कमलले निरास हुँदै भने, 'छोराले मृत्यु हुने अघिल्लो दिनमात्रै फोन गरेर ऋण कति छ म पैसा पठाइदिन्छु अनि तिर्नु भनेको झलझली याद आइरहेको छ नि तर के गर्नु अहिले यस्तो खबर सुन्न परेको छ ।'
आर्थिक अवस्था कमजोर रहेका कमलको परिवारमा जेठा छोरा मारिएको शोक त छँदै थियो यसका अतिरिक्त माइला छोराको मृत्युको कारण बुझ्नलाई सदरमुकाम तथा राजधानीसम्म जान समेत आर्थिक अवस्था कमजोर भएपछि टाढाको कुरा भएको छ । दुई छोराको मृत्युपछि कमलको परिवारमा बुहारी, नाति तथा १४ वर्षीय छोरा मात्रै छन् ।
No comments:
Post a Comment