विश्व चर्चित ट्राभल गाइडबुक लोन्ली प्लानेटले सन् २०१७ मा घुम्नै पर्ने विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल पनि समेटिएको छ । उत्कृष्ट दश देशको सूचीको पाँचौ स्थानमा नेपाल रहेको छ । दक्षिण एसियाबाट सूचीमा पर्ने एक मात्र देश नेपाल हो ।
लोन्ली प्लानेटले हरेक अंग्रेजी वर्षको अन्त्यतिर आउँदो वर्ष घुम्न योग्य विश्वका उत्कृष्ट देश तथा स्थानको सूची सार्वजनिक गर्छ । यो सूचीको पहिलो स्थानमा क्यानडा, दोस्रामा कोलम्बिया, तेस्रोमा फिनल्याण्ड तथा चौथोमा डोमिनिका छन् । यस्तै बर्मुडा छैटौं स्थानमा, मंगोलिया सातौं, ओमान आठौं, म्यानमार नवौं र इथियोपिया १० औं स्थानमा छन् ।
लोन्ली प्लानेटले हरेक वर्ष सार्वजनिक गर्ने यो सूची विशेष प्रक्रिया मार्फत गर्ने गरेको छ । यसका लागि भ्रमण गरेका पर्यटकको प्रतिक्रिया, भ्रमणका लागि पर्यटकले देखाएको चासो तथा विभिन्न तथ्यांकलाई आधार मानिने गरेको छ ।
गएको वर्षको वैशाख १२ मा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले क्षति गरेपनि नेपालमा घुम्न लायक धेरै ठाउँ रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ । यात्रुका लागि भूकम्पपछि नेपालले के गुमायो र अझै बाँकी के के छन् ? भन्ने कुरा निकै महत्वपूर्ण हुने उल्लेख गरिएको छ । यस्तै साँस्कृतिक महत्वका केही सम्पदा भत्किए पनि तिनका बारेमा बुझ्न र त्यहाँ हेर्न लायक धेरै कुरा रहेको लोन्ली प्लानेटले जनाएको छ । यस्तै विश्वकै उत्कृष्ट पदमार्गहरु नेपालमा रहेकाले यो घुम्नै पर्ने देश रहेको उल्लेख गरिएको छ ।
No comments:
Post a Comment