प्रदीपराज दाहाल
नेपाली साहित्य आकाशमा महाकवि बनेर चम्किरहन सफल छन् लक्ष्मीप्रसाद देवकोटा । यी नक्षत्र जन्मेको १ सय ८ वर्ष पूरा हुँदासम्म पनि उत्तिकै चम्किरहेका छन् । मृत्युको लामो कालखण्ड पार हुँदा पनि समयले यिनको सम्झनालाई धुमिल गर्न सकेको छैन । सम्झनाका तरेलीमा यिनका स्मृति अनेकौं तहमा सुरक्षित छन् । देवकोटाका कृतिले उनी सधैँ जीवित झै छन् । झनै मुनामदनले उनलाई कहिल्यै विर्सन नसक्ने पात्रकोरुपमा उभ्याएको छ ।
वि. सं. १९६६ साल कात्तिक महिनाको औंशीको रातमा जन्मिएको एक शिशु अन्ततः नेपाली साहित्यका माध्यमबाट संसारभर उज्यालो छर्न सफल भयो । लक्ष्मीपूजाका दिन जन्मिएको ति शिशु सरस्वतीको वरद पुत्र ठहरिए । औंशीमा चन्द्रमा अस्ताइरहँदा त्यही शिशु आफ्ना विलक्षण प्रतिभाका कारण चन्द्रमा जस्तै दिनदिनै उज्यालो हुँदै अन्ततः पूर्णचन्द्र बन्न सफल भए । जीवनको दश वर्षे बालापनबाट कविता कोर्न थालेका सरस्वतीका प्रियपात्र लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका हरेक विधामा सशक्त ठहरिएका छन् । त्यसैले त कविता, कथा, निवन्ध मात्र नभई महाकाव्यमा समेत उनको उपस्थिति र उनले प्राप्त गरेको उचाईलाई कसैले आँक्न सक्दैन । आफ्ना सिर्जनामा सशक्त ठहरिएका साहित्यिक छवि राष्ट्रकवि माधवप्रसाद घिमिरे, स्वर्गीय बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ लगायतका समकालिन साहित्यकारभन्दा यिनको छाँया पृथक बनेर छाउन सफल भएको छ ।
यिनले साहित्यका माध्यमबाट मात्र नभई शैक्षिक क्षेत्रबाट समेत नेपाली समाजलाई तिरिनसक्नु गुन लगाएका छन् । संस्कृत, हिन्दी, अंग्रेजी लगायतका १० भाषाका ज्ञाता यिनी एक शिक्षक पनि थिए र वि. सं. २०१६ सालमा शिक्षा तथा स्वायत्त शासनमन्त्रीको बागडोर समेत सम्हालेका थिए । शाकुन्तल, वनकुसुम, प्रमिथस लगायतका ६ महाकाव्य;, भिखारी, कृञ्जिनी लगायतका कविता संग्रह; निबन्ध संग्रह चम्पा आदि कीर्तिका श्रष्टा यिनी सिर्जनासँगै अमर रहनेछन् । पागल भनेर आफैंलाई चिनाउने यिनी मुनामदनका झ्याउरे भाकाबाट नेपाली जनका मनमा बसिरहनेछन् । नेपाली साहित्यका पुस्तकहरुमा मुनामदन सदावहाररुपमा सबैभन्दा बढी विक्रि हुने पुस्तक बनिरहेको छ । देवकोटाको जीवन र साहित्यले उनी सधै नेपालीहरुको मन र मस्तिष्कमा अमर रहनेछन् ।
No comments:
Post a Comment