पूर्वाञ्चलका ट्यांकर मजदुरहरुले आफूहरुको माग पुरा नभएको भन्दै पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका छन् । मजदूर आन्दोलनका कारण पूर्वाञ्चलमा पेट्रोलियम पदार्थको आयात र पेट्रोल पम्पसम्मको ढुवानी प्रभावित भएको छ ।

नेपाल यातायात मजदुर संघ,अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा आबद्ध मजदुरहरुले तापक्रमको विषयमा सहमति हुन नसकेको भन्दै ढुवानी ठप्प बनाएका हुन् । विभिन्न मजदुर सघंहरुले आफ्नो सुरक्षा र ट्यांकर संचालन लगायतका १५ बुँदे माग राखी कार्तिक महिनामा तीन दिन ढुवानी बन्द गरेका थिए । माग पूरा गर्न एक हप्ताको समय दिएर ढुवानी सुरु गरेका मजदुरहरुले माग पुरा नभएको भन्दै पुनः ढुवानी बन्द गरेका हुन् ।
नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरले भने मजदुरहरुको माग पुरा गर्दै गएको र बाँकी माग पनि पुरा गर्ने तयारीमा रहेको जनाएको छ । निगमका क्षेत्रीय प्रबन्धक दिनेशकुमार यादवले मजुरहरुको १५ बुँदे मागमा १४ बुँदाको सम्बोधन गरिसकेको दाबी गरेको छ । उहाँले बाँकी रहेको एउटा माग पनि वार्ता र छलफलबाट सम्बोधन गरिने बताउनुभयो । पूर्वाञ्चलमा २ सय ८० वटा पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरहरु संचालनमा रहेका छन् । विराटनगरस्थित निगमको क्षेत्रीय डिपोबाट दैनिक २ लाख लिटर पेट्रोल र ५ लाख लिटर डिजल विक्री हुदै आएको छ । यसैगरी दैनिक ३० वटा ट्यांकर डिजल र १५ वटा ट्यांकर पेट्रोल ढुवानीका लागि बरौनी पठाउने गरिएको छ ।
No comments:
Post a Comment