watch first and then search

watch first and then search

Sunday, November 20, 2016

विदेशिन लागेका आफ्ना श्रीमानलाई रोक्न सक्ने बिनाको कहानी !!! बिनाले यसरी रोकिन् विदेशिने आफ्ना श्रीमानलाई



डोटी, ५ मंसिर । डोटीमा एक महिलाले एग्रोभेट सञ्चालन गरी राम्रै आम्दानी हुन थालेपछि आफ्ना श्रीमानलाई विवदेशिनबाट रोकेकी छिन् ।


एग्रोभेट व्यापारमा रहेकी बिना र उनको पसल ।

जिल्लाको लाटामाण्डौ गाविस वडा नं. ८ गोपघाटकी बिना बलायरले बर्षाैंसम्म कतारमा बस्दै आएका श्रीमान सुरेन्द्र बलायरलाई विदेशिनबाट रोकेकी हुन् ।

बिनाले झण्डै ६/७ वर्षदेखी के.आई.सिंह राजमार्गमा पर्ने गोपघाटमा आफ्नै घरमा ब्यापार शुरु गरेकी हुन् । शुरुमा सानो श्रृङ्गार पसल व्यवसाय सञ्चालन गरेकी बिनाले अहिले राम्रै आम्दानी भईरहेको बताईन् । उनले भनिन्–‘मेरो श्रीमान जति विदेशिएको समय भयो त्यति नै मैले व्यापार व्यवसाय शुरु गरेको समय पनि भयो ।’

झण्डै अढाई वर्षदेखि युरोपियन युनियन र प्राक्टिकल एक्शनको सहयोगमा सेवक नेपालले सञ्चालन गरेको पोषण–खाद्य सुरक्षा परियोजना अन्तरगत करिब २५ हजारको बिउँबिजन तथा विषादी सहयोग गरि एग्रोभेट सञ्चालन गरेपछि दैनिक सरदर ५ हजारदेखि १० हजारको बिचमा कारोबार हुने गरेको बिनाले बताईन् ।

उनले एग्रोभेट सँगै श्रृङ्गार तथा जुत्ता पसल पनि सञ्चालन गरेकी छिन् । सिजनको बेलामा एकै दिन ३३ हजारको कारोबार भएको उनको अनुभव छ ।

सामान्य लेखपढ गरेकी बिनाका श्रीमानले शुरुमा विभिन्न गैरसरकारी संघसँस्थामा वर्षाैंसम्म काम गरे । तर त्यसबाट घर गुजारा चलाउन धौ–धौ परेपछि आफु विदेशिन वाध्य भएको बिनाका श्रीमान सुरेन्द्र बलायरले बताए । उनले भने–‘शुरुमा नेपाल रेडक्रस सोसाईटी, विजय विकास श्रोत केन्द्रको कार्यक्रम लगाएत विभिन्न संघसँस्थामा काम गरे, त्यसबाट घरगुजारा नै गर्न गाह्रो भएपछि केहि छिमेकीहरु पनि कतारमै भएकाले म पनि त्यहिं गएँ, फोल्डिङ् सम्बन्धी काम गर्थें । शुरुमा ५ सय २५ रुपैंयामा काम गरें । विस्तारै १ हजार ४ सयसम्म (नेपाली रुपैंया करिब २५ हजार) तलब पुग्यो । दैनिक ५ सयसम्म खर्च भैहाल्थ्यो ।’

बिनाका श्रीमानको विदेशमा पनि खासै कमाई नभएपछि र एग्रोभेट व्यवसायमा राम्रै कारोबार भएपछि अब त्यसै व्यवसायलाई थप बढाउने सुरेन्द्रको योजना छ ।

वि.सं. २०५५/५६ मा भेटेरीनरी जे.टि.ए. मा टि.एस.एल.सी. गरेका सुरेन्द्र एग्रोभेट आफ्नो पढाईसँग मेल खाने व्यवसाय भएकाले पनि बढि ईच्छुक देखिएका छन् । आफुले व्यापारबाट कमाएको पैंसा र श्रीमानको विदेशको कमाईले व्यापार बढाउँदै गएको बिना बताउँछिन् ।

उनका २ छोरा पनि छन् । दुवै छोरालाई निजि विद्यालयमा पढाइरहेकी छिन् । उनले भनिन्–‘जेठो छोरा सुजङ्ग बोर्डिङ्गमा कक्षा १० मा पढदैछ, उसलाई उतै होस्टेल भर्ना गरेकाले मासिक ७ हजार तिछौं, कान्छो छोरा कक्षा ८ मा घर नजिकैको क्रिष्टल बोर्डिङ्गमा पढ्छ, उसको मासिक २ हजार ५ सय फि तिर्छौं ।’

बिनाको अनुभवमा काम गर्न सकेमा विदेशको भन्दा कमाई आफ्नै गाउँ–ठाउँमा हुने र आफ्नो घर परिवार समुदायमा सङ्गै रहेर जीवन बिताउन सकिन्छ ।

उनले अहिले स्थानीय तहमा रहेका विभिन्न किसान समूहहरुका लागि जानकारी दिने उद्धेश्यले ज्ञान केन्द्र समेत सञ्चालन गरेकी छिन् ।

किसानका समस्याहरु समाधानका लागि ज्ञान केन्द्र स्थापना गरिएको र बिनाको मेहनतले आफु निकै खुशी रहेको सेवक नेपालका कार्यक्रम संयोजक गजेन्द्रप्रसाद खत्रिले बताए ।

No comments:

Post a Comment

watch first and then search