.jpeg)
लक्ष्मण ढुंगाना, बर्दिया, २८ कार्तिक, नगरपालिका कायम गर्न माग गर्दै बिहिबारदेखि आन्दोलनमा उत्रिएका बर्दिया भुरीगाउँका स्थानीय नगरबासी र प्रहरीबीच झडप भएको छ । नगरपालिका कायम गर्नु पर्ने माग गर्दै भुरीगाउँ बजार बन्द गरी पूर्वपश्चिम राजमार्गमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीको लठ्ठी प्रहारबाट १२ जना भन्दा बढी घाईते भएका छन् ।
प्रहरीको लठ्ठी प्रहारबाट विपी भण्डारी, जीवन शाही, तिलक लम्साल, लक्ष्मण गौली, महेन्द्र पंगेनी, कालिकादेवी विष्ट, मेनका पोख्रेल, खगेन्द्र नेपाल, बद्री कठायत, दिलिप लम्साल, भरत बहादुर थापा घाईते भएको जीवन शाहीले जानकारी दिए ।
यसअघि बबई नगरपालिका रहेकोमा अरु दुई छिमेकी ठाकुरद्वारा र शिवपुर गाउँ विकास समितिलाई समावेश गर्दा पनि स्थानीय तह पुनःसंरचना प्राविधिक समितिले नगरपालिका कायम नगरेको भन्दै स्थानीयबासी आन्दोलनमा उत्रिएका हुन् ।
.jpg)
गाउँपालिका चाहिएन, नगरपालिका कायम गर, भन्दै नाराबाजीमा उत्रिएका स्थानीय प्रदर्शनकारी र प्रहरीबीच राजमार्ग अवरुद्ध पार्ने क्रममा झडप भएको हो । नगरपालिका कायम गर्न माग गर्दै शान्तिपूर्ण विरोधमा उत्रेकाहरु माथि प्रहरीले अनावश्यक रुपमा बल प्रयोग गरी लाठीचार्ज गरेको भन्दै आन्दोलनकारीले प्रहरी विरुद्ध नाराबाजी समेत गरेका थिए । शान्तिपूर्ण विरोधमा उत्रेका नगरबासी महिलामाथि पनि प्रहरीले लठ्ठी प्रहार गरी ज्यादती गरेको स्थानीयले आरोप लगाएका छन् ।
नगरपालिका हुनुपर्ने माग राख्दै स्थानीयबासीले बिहिबारदेखि दैनिक १ देखि २ घण्टा राजमार्ग अबरुद्ध पारिरहेका छन् । राजमार्ग अबरुद्ध हुँदा पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्व तर्फ जाने सवारी साधनहरु राजमार्गमै रोकिए । जसबाट अत्यावश्यक काम र औषधी उपचारका लागि हिँडेका यात्रुहरु मर्कामा परेका थिए । नगरपालिका कायम नभएसम्म आन्दोलन जारी रहने स्थानीयबासीले चेतावनी दिएका छन् ।
.jpg)
आजपनि आन्दोलनकारीले राजमार्ग बन्द गर्न सक्ने भन्दै बिहानैदेखि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीको नेतृत्वमा झण्डै डेढ सय प्रहरी परिचालन गरिएको थियो ।
यसअघि कार्तिक २२ गते अन्य सबै मापदण्ड पुरा भए तापनि जनसंख्या मात्र अपुग भएका ठाकुरबाबा, मधुवन र बढैयाताललाई नगरपालिका कायम गर्ने वा गाउ“पालिका कायम गर्ने भन्ने टुङ्गो केन्द्रले लगाउने गरी जिल्ला स्तरिय प्रविधिक समितिले सिफारिस गरेको थियो ।
यसैबीच बर्दियाका स्थानीय विकास अधिकारी एवम् प्राविधिक समिति संयोजक तेजराज शर्माले स्थानीय सहमति गरी प्रस्तावित ठाकुरबाबा नगरपालिकाका लागि प्रस्ताव गरिएका ८ वटा वडालाई थप गरी ९ वडा सिफारिस गरी पठाईए नगरपालिका कायम हुन सक्ने बताएका छन् ।
No comments:
Post a Comment