
नगर क्षेत्रका प्राय: प्रत्येक पसल तथा व्यापारिक प्रतिष्ठानहरुको अगाडि चारदेखि दसवटासम्म केराको बोट राखिएका छन् । पक्की सडकमा खाल्टो खनी लगाइएका यी बोटहरु पूजाको दोस्रो दिन अर्थात् सोमबार रातिमात्र हटाउनेछ ।
मिल्स एरियाका पसले सन्दीप भगतका अनुसार केराको बोट पवित्र हुने तथा यसमा दीयो बाल्न पनि सजिलो हुने भएकोले सजावटको लागि प्रयोग गरिन्छ । हरिया केराको बोटमुनि रंगी–चंगी कलात्मक रंगोलीहरु निर्माण गरिएकोले नगर क्षेत्र सुन्दर देखिएका छन् । तर पुनर्प्रयोग नहुने यी केराका बोटहरुको व्यवस्थापन भने जनकपुर उपमहानगरपालिकाका लागि टाउको दुखाई बन्ने गरेको छ । डम्पिङ साईटको अभावमा सफाई कर्मचारीहरु यी बोटहरु यत्रतत्र फाल्ने गरेका छन् । जो पछि फोहरको डुंगुर बन्छ ।
व्यवस्थापनसम्बन्धी कठिनाईलाई दृष्टिगत गरी जनकपुर उपमहानगरपालिकाको हालै सम्पन्न बोर्ड बैठकले दिपावलीको अवसरमा केराको बोट प्रयोग गर्न नदिने निर्णय गरेको थियो तर जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत पुन्यप्रसाद लुइँटेलले उक्त विषयमा सार्वजनिक सूचना समेत प्रकाशित गरेनन् ।
जनकपुर उपमहानगरपालिकाका इञ्जिनियर वीरेन्द्र यादवले स्थानीयवासीहरुको धार्मिक तथा सांस्कृतिक भावनामाथि नकारात्मक प्रभाव पर्न सक्ने अनुमान गरेर केरा बोट नियन्त्रण कडाईका साथ नगरिएको बताए ।
साहित्यकार अवधेश पोख्रेल सजावटको नाममा केरा बोटको प्रयोगलाई सकारात्मक मान्नु हुन्न । ‘हामी दीपावलीमा सस्तोमा केराको बोट बिक्री गर्छौ अनि महँगोमा छठमा भारतबाट केरा खरिद गर्छौ’ केराको बोट भन्दा केरा बिक्रि गर्नु किसानहरुको लागि समेत लाभप्रद हुने तर्क पोख्रेलको छ ।
सामान्यतया केराको बोट प्रतिगोटा १ सय ५० देखि २ सय ५० रुपियाासम्ममा बिक्रि भएको थियो जबकि एकघारी केराको मोल न्यूनतम ५ सयदेखि १ हजारसम्म हुन्छ ।
No comments:
Post a Comment