watch first and then search
watch first and then search
Tuesday, November 1, 2016
भाइको चिठ्ठी दिदीलाई
कार्तिक ८, २०७१-प्यारी दिदी,
अर्थोक केही गर्न नपाए पनि, सुदूर देशमा बसेर, यसपालिको तिहारमा पनि तिमीलाई खुब सम्झिरहेको छु। भौगोलिक दूरी जतिसुकै टाढा किन नहोस् ? माया त आफ्नै शरीरमा भएको छातीभित्रै रहिरहने रै'छ। चार वर्ष भएछ, तिमीसँग भेट हुन नपाएको। हिजोआज तिहार केवल सम्झनामा मात्र सीमित हुन थालेको छ। फेसबुक, स्काइप र आक्कलझुक्कल सपनामा मात्र छ्यौ तिमी।
सुदूर देशमा आएर पाएको के छु ? हिसाबकिताब गर्न मन लाग्दैन। गुमाएको के छु ? गनेर साध्य छैन। बाल्यकालमा तिमीसँग बितेका हरेक तिहारलाई सम्झँदै धित मार्नु र टीकाको दिन फेसबुकमा दुनियाँले हालेका तस्बिर हेरेर एकपल्ट तुरुक्क आँसु चुहाउनु मेरा विगतका चारवर्षे तिहारका बाध्यता हुन्।
साँच्ची ! कत्ति रमाइलो हुन्थ्यो हगि हाम्रो गाउँको तिहार ? हामी दुवैलाई दसैंभन्दा पनि तिहार मन पथ्र्यो। तिमी महिनौ अघिदेखि तिहारलाई भन्दै सयपत्री र मखमलीको बीउ छथ्र्यौं। करेसाबारीभरि फुलेको सयपत्री मेरो भाइलाई भन्दै साँच्थ्यौ। सयपत्री त्यतिबेला करेसाबारीमा भन्दा तिम्रो मुहारमा बढी फुलेको देख्थें म। भैली खेल्न जाने बेलामा म तिम्रो पछिपछि लाग्थेँ। मेरो केटाकेटीपन—एकपटक तिमीहरू भैली खेल्न जाँदा, तिम्रो जामा चोरेर लगाइ पछिपछि लागेको थिएँ। तिमी र तिम्रा साथीहरू मिलेर कम्ती जिस्काएका थिएनौ मलाई ! रातभरि भैलो खेलेर कमाएको पैसा भाइका लागि भनेर छुट्याउँथ्यौ, मलाई मन पर्ने मिठाईहरू, अनि मेरै रोजाइका लुगा किनिदिन्थ्यौ। बरु म नालायक ! तिमीलाई आमाले दिनुभएको दक्षिणामाथि पनि भ्रष्टाचार गर्थें म। तिमीले कहिल्यै गुनासो गरिनौं।
दिदी, तिमी मेरी दिदी मात्र थिइनौं। आमा थियौ, गुरु थियौ, साथी थियौ। कसरी सहन सकौं त प्रत्येक तिहारमा यति धेरै व्यक्तित्वकी धनी तिमीसँगै हुन नपाउँदा। कसैसँग झगडा परे सबैभन्दा पहिले आएर तिमीलाई सुनाउँथें। म स्कुल जाने बेलामा केशमा चिपिक्क तेल लगाएर कोरिदिने तिमी थियौ। मेरो स्कुलमा गएर फिस तिरिदिने पनि तिमी थियौ। म म्याथमा फेल हुन्थें। मलाई म्याथ सिकाएर पास गराउने पनि तिमी नै थियौ। मलाई कसैले केही भने झगडा गर्ने पनि तिमी। तिमीले आफूलाई कहिल्यै सानी बनाएनौ। सधैं परिपक्वझैं, प्रौढझैं आफूलाई प्रस्तुत गर्यौ। मलाई पनि केही कुराको डर लाग्दैनथ्यो, जब म तिमीसँग हुन्थें।
त्यहाँ सयपत्री फुलेका होलान्, म यहाँ ओइलाइएको छु। सबैतिर झिलिमिली होला, म पूरै निभेको छु। मनमा चर्को लोडसेडिङ छ। सबैले निधारमा इन्द्रेणी टाँसेर हिँडेका होलान्, म फिक्का-फिक्का छु। गलामा सयपत्री र मखमली झुण्ड्याएर हिँडेका होलान्, म फगत परिचयपत्र झुण्ड्याएर ड्युटी जाँदैछु। चोक-चोकमा मादल घन्किएको हुँदो हो। तन्नेरीहरू देउसी र भैलो खेल्न जाने तयारी गर्दै होलान्, म भने ड्युटी जाने तयारी गर्दैछु।
रहरहरू ओखरजस्तै फुटे। छिनमै उज्यालिन्छन् आशाहरू झिरझिरेजस्तै अनि छिनमै निभ्छन्। किन बलिरहन सक्दैनन् दियोजस्तै ती आशाहरू ? किन मखमलीजस्तै नओइलाई बस्न सक्दैनन् खुसीहरू ?
मिस गरिरहेछु दिदी तिमीले पकाएको सेलरोटीको गन्ध। मिस गरिरहेछु तिम्रो कोमल हातले स्पर्श गरेको मेरो खाली निधार। खुब मिस हुन्छन्, देउसी खेल्न जाने साथीहरू। मोबाइलको रिंङ्गटोन सुनेर चित्त बुझाउनुपरेको छ देउसी रे को धुन। तिहारका पुराना तस्बिर हेरेर हाँस्छु, क्षणभरलाई भए पनि। चार वर्ष अघि खिचिएको तिमीसँगको तस्बिरलाई हरेक वर्ष यसैपालिको हो झैं पारेर फेसबुकमा पोस्ट गरेर आत्मरतीमा रमाउने गरेको छु। मेरी दिदी, तिमी मलाई पूजा गर्दा, यमराजलाई त मरिगए लान दिन्न भन्थ्यौ। तर खै, यमराजले नलगे पनि त्यस्तै अर्थोक के ले हो, तानेर, अझ चुँडाएरै लगेछ तिमीबाट। चाहेर पनि र्फकन नसक्ने गरी। सायद, देशै छाडेर जानुको सजाय भोग्नु परेको हुँदो हो। मलाई माफ गर मेरो देश। माफ गर मेरी दिदी। यसपालिको तिहारमा पनि आउन सकिनँ है !
तिम्रो प्यारो भाइ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment